अधिवेशनका लागि सही समय

हिमालय टाइम्स   POSTED ON : भदौ १, २०७८ (७:३५ AM)

अधिवेशनका लागि सही समय

नेपाली कांग्रेसले केन्द्रीय महाधिवेशनका लागि भदौ १६ गतेदेखि १९ गतेको मिति तोकेको थियो र यसका तल्लो तहका विभिन्न अधिवेशनको मिति साउनदेखि नै सुरु हुनेगरी समय निर्धारण गरेको थियो । वैधानिकताका लागि औपचारिकता पुर्‍याउनेमात्र हो भने फरक कुरो हो नत्र यसबेला महाधिवेशन गर्न सम्भव छैन भन्ने सबैको तर्क थियो । भनेको बेला वडा तथा जिल्लास्तरका अधिवेशन पनि भएनन् । त्यस कारण भदौमा हुने भनिएको महाधिवेशन निश्चित रूपमै हुन सत्तैन भन्ने अनुमान पुष्टि भइरहेको थियो । ठीक यही बेलामा नेपाली कांग्रेसले भदौमा हुने भनेको महाधिवेशन मंसिरमा गर्नेगरी कार्यतालिका निर्धारण गरेको छ । 

महाधिवेशन सार्नुपर्ने कारणहरूमा पहिलो कुरा कोरोनाको महामारी कम नहुनु हो । कोरोनाको प्रभाव कम भएको भनिए तापनि हालका दिनमा कोरोनाको प्रभाव व्यापक रूपमै रहिरहेको छ भने धेरैले खोप लाएका कारण भयमुक्त छु भन्ने मनोविज्ञान विकास भएकाले चहलपहल भने बढेको छ । जानीजानी मानिसहरूको जमघट गराएर कोरोना फैलाउने माध्यम खडा गर्नु उपयुक्त होइन । जनस्वास्थ्यभन्दा महाधिवेशन ठूलो कुरा होइन भन्ने नेपाली कांग्रेसले बुझेको हुनुपर्छ । नेपाली कांग्रेसले जिम्मेवारीबोध गरेको रूपमा यसलाई हेर्नुपर्ने हुन्छ । अर्कातिर साउन-भदौ मध्य बर्खाको समय हो । नेपालमा यो बेला खेतीपाती व्यस्तताको समय हो । 

एक त व्यस्तताले पनि कार्यकर्ता फुर्सदिला नहुने भए भने अर्कातिर बर्खा भल, बाढी, पहिरो र बाटोघाटोको सहजता नहुने ठाउँ-ठाउँमा खोला बढेर तर्न नसकिने जस्ता जोखिमपूर्ण अवस्थाका कारण मेची-महाकालीका कार्यकर्ताहरू राजधानीसम्म आउजाउ गर्न कठिन हुने भएकाले महाधिवेशनका लागि भदौको समय उपयुक्त थिएन । संवैधानिक र कानुनी रूपमा पार्टीलाई अवैधानिक हुनबाट बचाउने बाटो पाएका खण्डमा पार्टीको केन्द्रीय महाधिवेशन हिउँद महिनामै गर्नु उपयुक्त हुन्थ्यो । पार्टीका गुटउपगुटबीच राय बाझिएको जस्तो देखिँदै आएको थियो तर आखिरमा वातावरणको सहजता र विकटताको ख्याल त सबैले गर्नैपर्ने हुन्छ । 

यही अप्ठ्यारो अवस्थालाई विचार गरेर नै सर्वसम्मत निर्णयबाट नेपाली कांग्रेसले आगामी मंसिर ९ गतेदेखि १३ गतेसम्म काठमाडौंमा पार्टीको केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ । अब निर्धारण गरिएको यस समयलाई भने अनुपयुक्त भन्न मिल्दैन । यो हिउँद महिना भएका कारण मौसमको प्रतिकूलता हुँदैन । खेतीबाली भित्र्याउने समय भए तापनि निर्दिष्ट कार्यकर्ताले हप्तादिनको फुर्सद निकालेर महाधिवेशनमा भाग लिन सक्छन् । यसवर्ष नयाँ थपिएका चार लाख क्रियाशील सदस्यहरूमध्ये केहीको वैधानिकतामाथि प्रश्न उठेको छ । यसलाई आधार बनाएर केही नेताहरू पार्टी कार्यालयमा अनशन बस्नुभयो । मंसिरमा अधिवेशन हुने भएकाले त्यसबेलासम्म यसको निर्णय भइसक्नेछ । जसले गर्दा तयारीका लागि अबको तीन महिनाभन्दा अलिक बढी समयावधि पाइने हुँदा यसका लागि समय कम भयो भन्नुपर्ने अवस्था रहँदैन । 

तल्ला तहका निकायहरूका अधिवेशनका लागि भने बर्खाका कारण केही कठिनाइ हुनसक्छ । तर, आफ्नै वडा, गाउँ/नगर र जिल्लाको परिधिमा रहेर गरिने यस्ता अधिवेशनका लागि त्यति ठूलो कठिनाइ नपर्न सक्छ । हुन त अरू पार्टीहरूले पनि समयमै महाधिवेशन गर्न सकिरहेका छैनन् तर नेपाली कांग्रेस नेपालको सबैभन्दा ठूलो प्रजातान्त्रिक पार्टी भएका कारण अरूले के गरे भन्नेतिर भन्दा आपूmले प्रजातान्त्रिक कार्यशैली अपनाएर अरूका लागि उदाहारण बन्नु आवश्यक हुन्छ । जसका लागि नेपाली कांग्रेसको महाविवेशन हुनुपर्ने थियो र अब निर्धारण भएको मिति नै सबैभन्दा उपयुक्त समय हो । मंसिरमा तोकिएको यो समयमा भने महाधिवेशन जसरी पनि हुनु उपयुक्त हुन्छ । अब कुनै कारण देखाएर महाधिवेशन सार्नु उचित हुँदैन । 


Top