नेपाली नागरिकहरूको शीघ्र उद्धार होस्

हिमालय टाइम्स   POSTED ON : भदौ ३, २०७८ (८:४७ AM)

नेपाली नागरिकहरूको शीघ्र उद्धार होस्

अफगानिस्तान पुनः तालिवानहरूको नियन्त्रणमा आएको छ । राजधानी काबुलमा समेत विद्रोही तालिवानले नियन्त्रण गरेपछि सम्पूर्ण अफगानिस्तान विद्रोहीहरूकै नियन्त्रणमा आएको हो । हिंसाको बाटोबाट आएका तालिवानीले अब आफ्नो विचारको विरोध गर्ने र हिजोका दिनमा आफ्नो भावनाविपरीत काम गरेको वर्गमाथि हिंसात्मक व्यवहार नगर्लान् भन्ने छैन । यस कारणले सबैले सतर्क रहनुपर्ने आवस्था सिर्जना भएको छ । त्यहाँ रहेका विदेशी नागरिकमाथि उनीहरूले नराम्रो व्यवहार गर्ने सम्भावना पनि छ । सरकारी कर्मचारीहरूलाई आममाफीको घोषणा त गरेका छन् तर अन्यको हकमा तालिवानीहरूको धारणा के कस्तो रहला भन्ने अनिश्चित छ । नेपालीहरूका लागि अफगानिस्तान रोजगारीको गन्तव्य थिएन तर के कसरी हो त्यहाँ नेपालीहरू ठूलो संख्यामा छन् । तिनको उद्धार नेपालको वर्तमान चुनौतीमध्ये एक हो । 

अफगानिस्तान सार्कको सदस्य राष्ट्र हो । हाल नेपाल सार्कको अध्यक्ष छ । यस कारणले नेपालले अफगानिस्तानको वर्तमानमा विकसित घटनाका बारेमा केही बोल्नुपर्ने थियो तर नेपाल सरकारको यस बारेको आधिकारिक धारणा आएको छैन । आफ्ना नागरिकको उद्धारका बारेमा भने सरकारको धारणा सार्वजनिक भएको छ । नेपालले आफ्ना नागरिक जतिसक्दो चाँडो त्यहाँबाट उद्धार गरी नेपाल ल्याउन प्रयास गर्ने भनेको छ । त्यहाँको अमेरिकी दूतावासका सुरक्षा गार्डमात्र ३८५ जाना नेपाली रहेकोमा अमेरिकाले ११८ जनाको उद्धार गरी नेपाली पठाएको छ, उनीहरू नेपाल आइसकेका छन् । 

अफगानिस्तानको राजधानी काबुलबाट कतारको दोहा हुँदै अलजजिरा एयरवेजको विमानबाट उनीहरूलाई काठमाडौंसम्म ल्याइएको हो । बाँकी अरूको यसैगरी उद्धार हुनु आवश्यक छ । यसका लागि कत्ति विलम्ब गर्नु नहुने अवस्था छ । जति ढिलो ग¥यो त्यति उनीहरूको अवस्था असजिलो बन्दै जाने सम्भावना छ । यसका लागि अफगनिस्तान हेर्ने नेपाली राजदूतावास, सार्क, संयुक्त राष्ट्र संघलगायत विभिन्न विदेशी नियोगहरूको सहयोग लिनुपर्ने हुन्छ र त्यो आजै वा भोलि नै गर्नुपर्ने कार्यसूचीमा राखिनुपर्छ । हुन त मन्त्रिपरिषद्को बैठकले उनीहरूको शीघ्र उद्धार गर्ने निर्णय गरेको छ । सरकारले त्यहाँ विकसित घटनाको कारण त्यहाँ रहेका नेपालीहरूको अवस्था पत्ता लगाई उनीहरूको उद्धारका लागि कार्यदलसमेत गठन गरेको छ । 

त्यहाँ हाल एक प्रकारको अनिश्चित अवस्था विकसित भएको छ । त्यहाँ रहेका अमेरिकी सेना फिर्ता भएका छन् भने राष्ट्रपति असरफ घानीले देश छोडेका छन् । उनको पलायन तानिवानीसँगको पराजित मानसिकता नै हो तर उनले देशमा रक्तपात नहोस् भनेर आपूmले देश छोडेको बताएका छन् । यी घटनाका कारण तालिवानीलाई सत्ता कब्जा गर्न सजिलो भयो र हाल उनीहरूकै कब्जामा सत्ता छ । उनीहरूले आपूmले सत्ता कब्जा गरेपछि पत्रकार सम्मेलन गरेका छन् । उनीहरू पहिलेको भन्दा उदार नीति लिएर अगाडि बढेका हुन् कि जस्तो देखिएको छ तर भोलिको अवस्था भोलिकै दिनले निर्धारण गर्ने हो । 

त्यहाँ धेरै संख्यामा रहेका नेपालीहरूको उद्धार नेपालले नै गर्नुपर्छ अरूले गरिदेओस् भनेर आस गर्नु हुँदैन । उद्धारको पर्खाइमा रहेका आफ्ना नागरिकलाई सकेसम्म छिटो फर्काउनु जरुरी छ । यसका लागि जो–जोसँग समन्वयको खाँचो छ त्यसको व्यवस्था मिलाइहाल्नुपर्नेहुन्छ । त्यहाँ पर्खाइमा रहेकाहरूलाई नेपाल ल्याउनभारत र पाकिस्तानस्थित नेपाली राजदूतावास र संयुक्त राष्ट्र संघअन्तर्गतका एजेन्सीहरूसँग त्यहाँ उद्धारको पर्खाइमा रहेका नेपालीलाई नेपाल ल्याउन समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । तर, यो काम अरू आजको सट्टा भोलि गरौंला भनेर थाति राखिने प्रकृतिको नभएको हुँदा यसका लागि भने कुनै विलम्ब गरिनु हुँदैन, जतिसक्दो चाँडो यो काम गरिनुपर्ने हुन्छ । अन्यथा इरान घटनाको पुनरावृत्ति नहोला भन्न सकिँदैन । 


Top