नेपाली राजनीतिको बदलिँदो चित्र

हिमालय टाइम्स   POSTED ON : भदौ ४, २०७८ (८:३९ AM)

नेपाली राजनीतिको बदलिँदो चित्र

नेपाली राजनीतिको चित्र छिटोछिटो बदलिने गरेको छ । हालका दिनमा यसको परिदृश्य अझै छिटो फेरिएको छ । २०४६ सालपछि हालसम्म नै निर्वाचित संसदले पूर्ण समय काम गरेका छैनन् । पार्टीहरूले बहुमत त ल्याएका छन् तर उनीहरूको बहुमत भत्किनुमा प्रतिपक्षीको भन्दा आफ्नै पार्टी कारण प्रमुख भएर आउने गरेको छ । प्रजातन्त्रको मिर्मिरेमै नेपाली कांग्रेसले बहुमत ल्यायो र एकमना सरकार बनायो तर आफ्नै कारणले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रतिनिधिसभा भंग गर्नुभयो । नेपालको राजनीतिमा यसरी थालनी भएको संसद भंग गर्ने प्रचलन यसपछिका दिनहरूमा परम्परा नै बनेर विकसित भयो । कहिले पुनःस्थापित भएर र कहिले प्रधानमन्त्रीले भंग गरेकोलाई मान्यता दिएर नेपालको राजनीति आजको अवस्थासम्म आइपुगेको छ ।

गत आठ-नौ महिनादेखि नेपाली राजनीतिमा अनेकौं खालका धु्रवीकरण हुँदै आएका छन् । संसदमा नेकपाको पूर्ण बहुमत थियो । उसले एकलौटी सरकार बनायो तर त्यस पार्टीमा विद्रोहको आँधी तुफान सिर्जना भयो । सरकारको नेतृत्वमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै कारण मानियो । अर्का नेता पुष्पकमल दाहालसँगको आलोपालो प्रधानमन्त्री बन्नेलगायत सम्झौता पालन गर्न ओलीले नमानेपछि विकसित राजनीतिक अवस्था थियो त्यो भनियो । नेकपाको एउता पाटो सडक आन्दोलनमा गयो । उनीहरू आन्दोलनमै भएका बेला सर्वोच्चको फैसलाबाट पूर्वएमाले र पूर्वमाओवादी अलग भए । प्रचण्डसँग मिलेर आन्दोलनमा रहेका माधव नेपालहरू एमालेमै फर्किनुभयो तर पार्टीमा मेल हुनसकेन । उहाँहरू विपक्षीसँग मिलेर आफ्नै सरकारको विपक्षमा विद्रोह गरिरहनुभयो । उहाँहरूको मत निर्णायक बनेर ओली सरकार असफल भयो । 

नेपाली कांग्रेका नेता शेरबहादुर देउवाको नेतृत्वको सरकार पनि उहाँहरूकै समर्थनमा बनेको हो र उहाँहरूकै समर्थनले वर्तमान सरकारले विश्वासको मत लिन सकेको हो । नेकपा एमालेमा ओली र नेपाल दुवै पक्षले एकताका लागि अन्तिमसम्म प्रयास गरेको हो भन्ने दाबी गरे । एकता हुन नसकेको दोष एकले अर्को पक्षलाई लगाइरहे । झिनु आस बाँकी छ भनिरहे । समयसीमा तोक्ने काम भइरहृयो तर एकताका सबै सम्भावना यसो भन्दाभन्दै समाप्त भए र माधव नेपाल पक्षले अर्को नयाँ दल दर्ता गर्‍यो । निर्वाचन आयोगमा दर्ता गरिएको यस पार्टीको नाम नेकपा एमाले (समाजवादी) रहेको छ । 

भन्न त माधव नेपाल पक्ष नेतृ रामकुमारी झाँक्री नयाँ पार्टी दर्ता भए पनि पार्टी एकताको सम्भावना अझै समाप्त भएको छैन भन्दैछन् तर तत्कालका लागि यो सम्भावना टुंगिएकै हो भन्ने देखिन्छ । सम्भावना त जुनसुकै कुराको सधैं रहिरहन्छ नै तर आमनिर्वाचन आउँन अब एक वर्षभन्दा केही समय बढी बाँकी रहेको अवस्थामा कम्तीमा आगामी निर्वाचनभन्दा अगाडिसम्म भने एकताको यो सम्भावना टरेको अनुमान गर्न सकिन्छ । नेकपामा जस्तै स्वार्थ, पदलोलुपता र आन्तरिक मतमतान्तरले छिन्नभिन्न हुन पुगेको जनता समाजवादी पार्टीका राजेन्द्र महतो र महन्त ठाकुर पक्ष सर्वोच्च अदालत गएर पनि उहाँहरूको पक्षमा अन्तरिम आदेश हुन नसकेपछि महन्त ठाकुरको नेतृत्वमा नयाँ पार्टी दर्ताको निवेदन दिन पुग्नु भएको छ । 

निर्वाचन आयोगमा नयाँ दर्ता भएको उहाँहरूको पार्टीको नाम जनता समाजवादी पार्टी (लोकतान्त्रिक) छ । तराईवादी पार्टीहरूको त फुट्ने र जुट्नेक्रम छिटोछिटो भइरहेको छ तर नेकपा एमालेको विभाजनले भने नेपालको समग्र राजनीतिमा विशेष प्रभाव पर्ने अनुमान गर्न सकिन्छ । इतिहासमा एमाले पनि विभाजित र एकीकृत भएको छ तर नेता ओली र नेपालको राजनीतिक सहयात्रा विगत पचास वर्षदेखिको छ । अन्ततः उहाँहरूको यो विभाजन तिक्ततापूर्ण बन्नपुग्यो । निश्चित छ उहाँहरूको यस विभाजनले भोलि नेपालको राष्ट्रिय राजनीतिमा प्रभाव पर्ला तर नेकपा एमालेका दुवै घटकलाई भने नकारात्मक प्रभाव पर्छ नै । त्यसको परिणाम निर्वाचनपछि मात्र देखिनेछ । 


Top