नेकपा एमालेमा विकसित तेस्रो धार

हिमालय टाइम्स   POSTED ON : भदौ ६, २०७८ (९:३२ AM)

नेकपा एमालेमा विकसित तेस्रो धार

नेपाली राजनीतिक पार्टीहरूमा २०४६ सालको प्रजातन्त्रपछि विकास भएको एउटा कुरा के हो भने पार्टीभित्र गुटउपगुटको सिर्जना । यसरी विकास भएका गुटउपगुट वा धारका कारण पार्टीहरूमा विभाजनको इतिहास छ । यसरी धार विकास भएर पार्टी फुटको अवस्थामा पुगेको इतिहास सबै पार्टीमा छ । बाहिर हेर्दा एउटै पार्टी रहेको तर भित्रभित्रै अर्को पार्टीसिँगको सम्बन्ध मधुर होला आफ्नो पार्टीभित्रको आन्तरिक मनमुटाव व्यापक रूपमा रहेको पाइन्छ । हालका दिनहरूमा नेकपा एमाले यसको चरम मारमा रहेको छ तर अरू पार्टी अछुतो छन् भन्ने होइन । फुट र जुटको घामछायाँ मधेसवादी पार्टीमा अरूभन्दा बढी नै होला । नेपाली कांग्रेस पार्टी पनि एक पटक फुटेर जुटेको हो । हालका दिनहरूमा यसमा गुटउपगुट छैनन् भन्ने होइन । 

हिंसात्मक क्रान्तिबाट शान्ति प्रक्रियामा आएको माओवादीमा छोटो अवधिमा धेरै फुट र जुटका घटना भए । वैद्य र विप्लव अझै माओवादीको मूल पार्टीभन्दा अलग छन् । प्रसंग एमालेको हो । माओवादीसहितको स्थूल नेकपा अदालतको फैसलापछि माओवादी विधिवत् अलग पार्टी मानिएपछि एमाले पनि अलग पार्टी मानियो । माओवादी र एमाले आधा–आधा भएर विभाजित भए तर यी आधा फ्याकबाट पुनः टुक्रिने र चोइटिने काम भइरहेकै छन् । तत्काल सत्तारुढ पार्टी भएका कारण एमाले अरूको भन्दा बढी सक्रिय भूमिका रहनु पथ्र्यो तर आन्तरिक कलहको मारमा एमाले यति नराम्रोसँग फस्यो कि त्यो सत्ताबाहिर हुँदा पनि कुनै प्रयासबाट जोगिन सकेन ।

एकातिर केपी शर्मा ओलीको अहंकारका सामु जे जसो गरे पनि कसैको प्रतिकार सार्थक बन्न सकेन भने अर्कातिर नेपाल–खनाल पक्षलाई मनाउने अनेकौं प्रयास सफल हुन सकेनन् । रातदिन उनीहरूको दन्तबजान जनताले देख्नु प¥यो । आफ्ना इतरकालाई पेल्न ओलीले सरकारी सम्यन्त्रको दुरुपयोग गर्नुभयो । माधव नेपालहरूले अडान लिएको लियै गर्नुभयो । अहिले राष्ट्रिय राजनीतिले फरक मोड लिएको जस्तो देखिएको छ । अब एमालेमा एकताका सबै सम्भावना समाप्त भएका छन् र नेपालको पक्षले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल र माधव नेपालले नेतृत्व दिइरहनु भएको पार्टी एउटा सशक्त धारका रूपमा देखिएको छ भने एमाले संस्थापन पक्ष त यो नयाँ धारभन्दा सबल हुनुमा अनौठो नहुने नै भयो । 

एमालेका एकजना प्रभावशाली मानिएका नेता वामदेव गौतमले पनि नेपाललाई नै साथ दिने बताउनुभएको छ । रामकुमारी झाँक्री जस्ता प्रभावशाली युवा वर्गको जोडदार समर्थन माधव पक्षलाई रहँदै आएको छ । तर, केही प्रभावशाली मानिएका युवा नेताहरू सुरुदेखि केपी ओलीको विरोधमा रहनुभएको छ र उहाँहरूको समर्थन नेपाल पक्षतर्फ नै छ । तर, उहाँहरू जब-जब एउटा निर्णयक मोडमा राजनीति पुगेको हुन्छ तब तब एकातिर दह्रो समर्थन जनाउन सक्नुहुन्न र बीचमा उभिनुहुन्छ । समन्वयकारी भूमिका निर्वाह गरेर पार्टी एकतामा जोड दिएको जस्तो देखाउनुहुन्छ तर उहाँहरूको प्रयासले सार्थकता पाएको देखिँदैन । 

हालका दिनहरूमा उहाँहरू ओली र नेपाल दुवै पक्षमा नरहेको जस्तो देखाएर एमालेभित्र तेस्रो धारको विकास गर्ने लक्षका साथ अगाडि बढिरहनु भएको हो कि जस्तो देखिएको छ । एमालेको विभाजनको प्रभाव प्रदेश सरकारमा पनि देखापरेको छ । धमाधम सरकार परिवर्तन भइरहेका छन् तर तेस्रो धारका नेताहरूको धारणा एमालेमा अझै एकताकै प्रयास हो वा अर्को गुटको विकास हो प्रष्ट हुन सक्नुभएको छैन । सधैंको दोधारे व्यवहारले गर्दा पार्टीमा स्पष्ट रूपमा विभाजन वा एकता केही पनि नदेखिने अवस्था रहिरहन्छ । नयाँ पार्टी दर्ता त क्षणिक मानिन सक्छ । 


Top