कोरोना संक्रमण थप गम्भीर

हिमालय टाइम्स   POSTED ON : भदौ १०, २०७८ (८:५२ AM)

कोरोना संक्रमण थप गम्भीर

अहिलेसम्म पनि लकडाउन विद्यमान छ भन्दा पत्यार लाग्ने अवस्था छैन । सर्वसाधाराणका दैनिकीमा कतै कुनै खालको अवरोध छैन । बजार खुलेकै छन् । सार्वजनिक यातायातका साधन चलेकै छन् । सबै प्रकारका पेशा व्यवसायहरू सञ्चालन भइरकेकै छन् । तैपनि सरकारले लक डाउन लगाएको भनेको छ, यसको म्याद बढाएको सूचना जारी गरेको छ । अहिले अधिकांश मानिसले मास्क लगाएको र स्यानिटाइजर प्रयोग गरेकोबाहेक अन्य अवस्थामा निधेषाज्ञाको अनुभूति गर्ने अवस्था छैन । माक्स लगाउनेहरूले पनि सही तरिकारले त्यसको प्रयोग गरेका हुँदैनन् । अरूका लागि लगाइदिएको जस्तो गरेको हुन्छन् । नाक नछोपी वा चिउँडामा लगाएर कोरोनाबाट बचिने होइन । अस्पताल, सरकारी कार्यालयलगायत केही स्थानबाहेक अन्यत्र मास्कमा अनिवार्य छैन जस्तो देखिएको छ । दूरी कायमको कुरा त अलगै छ । 

सार्वजनिक यातायातमा सिट भरिएर पनि मानिसहरू उठेर यात्रा गरिरहेका हुन्छन् भने त्यहाँ दूरी कायमको कुरा कसरी सम्भव छ । सरकारले कोरोना निगरानी र नियमन व्यवस्थापनका लागि तोकिएको संस्था कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले पछिल्लो संक्रमण स्थिर अवस्थामा रहेको भनेको छ । हालका केही दिनमा संक्रमितहरू घटेको जस्तो देखिए तापनि त्यसअगाडिका दिनमा कोरोना संक्रमण उच्च दरमै थियो । सिसिएमसीकै समीक्षाबमोजिम उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले आगामी भदौ १६ गते रातिसम्म लकडाउनको अवधि थप गरेको छ । तर यस्तो सूचना सुनेर धेरै मानिसहरूले अझै लकडाउन छ र ? भनेर एकअर्कालाई प्रश्न सोध्ने गरेका छन् ।

सार्वजनिक यातायातको सञ्चालनमा राति आठ बजेपछिको रोक पनि अब हटाइएको छ तर निषेधाज्ञा जारी गरिएको छ भनिएको हुँदा अबको निषेधाज्ञा शैक्षिक संस्थाकेन्द्रित जस्तोमात्र देखिएको छ । यसअधि साउन २८ गतेदेखि भदौ ८ गतेसम्मको निषेधाज्ञाको म्याद सकिएपछि भदौ १६ सम्मका लागि थप गरिएको हो । अत्यावश्यक सेवा, ढुवानीका साधन, निजी तथा सार्वजनिक सवारीसाधन अब रातको आठ बजेपछि पनि सञ्चालन हुन सक्नेछन् । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकपछि हालका लागि पुरानै निषेधाज्ञालाई निरन्तरता दिएको भए तापनि बीचमा संक्रमणदर बढे आकस्मिक बैठक बसेर यसको ‘मोडालिटी’ परिवर्तन गर्न सकिने बताइएको छ ।

हाल आन्तरिक तथा बाहृय हवाई यातायातको सञ्चालन पनि भइरहेको अवस्था छ भने अब आन्तरिक पर्यटकहरूको पर्यटकीय कार्यमा समेत कुनै रोकतोक नभएको हुँदा सरकारले बाहृय पर्यटक आगमन, ठूला होटलहरूको सञ्चालन, ठूला खालका जमघट हुने भोजभतेरलगायत कार्य तथा शैक्षिक संस्थाहरूमा मात्र निषेध गरिनाले सोचेजसरी लकडाउन सफल हुने र संक्रमण कम हुने भन्ने होइन । सानातिना जमघटबाट पनि संक्रमण फैलिन सक्छ भन्ने हामीले बुझ्न नसकेका हौं कि जस्तो देखिन्छ । चार पाँच दिनअघिसम्म दैनिक तीन हजार र चार हजारको बीचको संक्रमित संख्या हाल केही तल झरेर दुई हजारको हाराहारीमा आएको छ तर मृत्युदर बीसदेखि तीसको बीचमा स्थिर रहिरहेको अवस्था छ । यसले कोरोना संक्रमण अझै भयावह छ भन्ने कुरालाई पुष्टि गरिरहेको छ । 

यो अवस्था सामान्य होइन । एकातिर सरकारका नियमक निकायहरूले यसलाई नियमन र व्यवस्थापन गर्न नसकिरहेको अवस्था हो भन्नुपर्ने हुन्छ भने अर्कातिर जनताले कोरोनाबाट सुरक्षित बन्ने कुनै प्रकारका सावधानी अपनाएको पाइँदैन । कोरोना मलाई लाग्दैन अरूलाई मात्र लाग्ने हो भने जस्तो व्यवहार हामी सबैबाट भइरहेको छ । केही मानिसहरूले खोप लगाएका छन् र खोप लगाउनेहरूको यस प्रकारको मनोविज्ञानले पनि असावधानी वृद्धि गराउन मद्धत पुर्‍याएको छ । सरकारले खोपलाई व्यवस्थित गर्न सकेको छैन । सबै नागरिकले खोप लगाउन पाएका छैनन् र खेप केन्द्रहरूमा हुने भीडबाट कोरोना संक्रमण फैलिन सघाउ पुग्ने सम्भावना छ । त्यसैले सरकराले यस्ता कुरातर्फ ध्यान पुर्‍याएर कोरोना नियन्त्रणका उपायहरूको अवलम्बन गर्नु उपयुक्त हुन्छ । 


Top