सरकारको यो कस्तो सकस !

हिमालय टाइम्स   POSTED ON : भदौ २३, २०७८ (९:४६ AM)

सरकारको यो कस्तो सकस !

सरकार बनेको दुई महिना बित्नै लागेको छ । यसबीचमा सरकारले केही कमहरू गरेको छ तर जति गर्नुपर्ने त्यो गर्न सकेको छैन । यो सबैलाई महसुस भएको छ । पूर्ववर्ती ओली सरकारले देशको विकास र सर्वसामान्यका काम गर्नुभन्दा राजनीतिक लिप्साका कारण बरु निरंकुशतातर्फ अभिमुख हुने तर अरूसँग कुनै राजनीतिक सम्झौता र सहकार्य नगर्ने नीति लिएकाले उनलाई हटाउन सबै एक ठाउँमा उभिनुपर्ने अवस्था आइपरेको थियो । यसका लागि नै हो प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, अदालतको फैसलाबमोजिम नेकपाबाट भिन्न हुन पुगेको पूर्वमाओवादी पार्टी, एमालेभित्र विद्रोहमा रहेको र हाल नेकपा एमाले (समाजवादी) का रूपमा दर्ता भएको माधवकुमार नेपालको पार्टी, जनता समाजवादी पार्टी यादव तथा भट्टराई पक्ष र संयुक्त जनमोर्चा एक ठाउँमा उभिन पुगेका थिए । 

उनीहरूको अडान र प्रयासबाट अदालतको फैसला पनि उनीहरूकै पक्षमा आएका कारण उक्त गठबन्धनको नेतृत्वमा रहनुभएको नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा गठबन्धनकै तर्फबाट प्रधानमन्त्री बन्नुभएको हो । तर, सरकार बनिसकेपछि भने गठबन्धनका यी दलको पहिलेको जस्तो एकता कायम रहन नसकेको हो कि जस्तो देखिएको छ । त्यसैले सरकारले गति लिन सकेको छैन । पहिले केही दिन पार्टी दर्ता प्रक्रियामा रहनु भएका माधवकुमार नेपालको प्रतीक्षा गर्नुपर्ने बाध्यता हुनसक्छ किनकि उहाँहरूले पार्टी दर्ता गरेर आपूm पनि सरकारमा समावेश हुने चाहना राखेका कारण पर्खिनुपरेको हुनसक्छ । तर, त्यसपछि निकै दिन बितेर गएका छन् न त मन्त्रीमण्डल विस्तार हुन सकेको छ न अन्य कार्यमै तदारुकता देखिएको छ । 

अर्कातिर लामो समयदेखि सुषुप्त रूपमा रहेको अमेरिकी सहयोग ‘अमेरिकी च्यालेन्ज कर्पोरेसन (एमसिसी)’ को विषयसमेत हाल फेरि बल्झिएर देखापरेको छ । यस्ता विषयले सरकामा संलग्न पार्टीहरूबीच नै विवाद पैदा भएको छ । काम गरेन भनेर एउटा सरकारलाई हटाएर बनेको अर्को सरकारसँग निश्चिय नै जनताका धेरै अपेक्षा हुन्छन् । सरकार यस्ता चुनौतीहरूका पहाडका बीचमा उभिएको छ । अझै गठबन्धनमा रहेका शक्तिहरूबीचमै मनमुटाव भयो भने त्यसले निश्चय राम्रो परिणाम दिन सक्दैन । अहिले गठबन्धनको एउटा शक्ति संयुक्त जनमोर्चा एमसिसीको विपक्षमा छ भने माओवादी पार्टीको पार्टीगत निर्णय आउन नसके पनि केही नेताहरूले यसको विपक्षमा मत जाहेर गरिरहनुभएको छ । नेपाली कांग्रेस भने एमसिसीको पक्षमा देखिएको छ । जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराई एमसिसीका पक्षमा देखिनुभएको छ । 

माधवकुमार नेपाल पनि यसको विपक्षमा हुनुहुन्न । उता सरकारबाट हटेर हालै प्रतिपक्षमा रहनुभएका नेता केपी ओलीले अहिले केही विरोधको आवाज उठाए तापनि उहाँ एमसिसी पक्षधर नेता हुनुहुन्छ । तर, अनेरास्ववियुका विद्यार्थी भने यस विषयलाई उचाल्दै छन् र सडक आन्दोलन गर्दैछन् । उनीहरूको सडक आन्दोलतको अर्को विषय हालै गृहमन्त्रालयबाट जारी विज्ञप्ति पनि हो । यसले नागरिकहरूको अभिव्यक्ति स्वतन्त्रता हनन् भएको भन्ने निष्कर्ष उनीहरूको छ । सरकारले महाकाली तुइन प्रकरणको यथार्थ छानविन गर्न नसकेको र मौन रहेको भनेर सरकार विरोधको तारो बनेको छ । राजनीति सधैं सरल रेखामा मात्रै अघि बढ्छ भन्ने छैन । हाल नेपाली कांग्रेसको महाधिवेशन चलिरहेको छ । 

केन्द्रीय नेताहरू उम्मेदवारी चयनका क्रममा छन् । त्यसैले आपसी विरोधमा उत्रिएर आफ्नो पक्षमा ध्यान आकर्षित गर्नुलाई पनि उनीहरूले आफ्नो लक्ष मान्ने गरेका छन् । सरकारले अनायासै प्रकाशन गरेको विज्ञप्तिले जनताका मौलिक हककाई कुण्ठित गरेको भनेर तरंग पैदा भएको छ । जसले गर्दा पार्टीभित्रैबाट समेत सरकार आलोचनामा परेको छ । यस विषयमा पार्टीका नेता तथा पूर्वमहामन्त्री प्रकाशमान सिंहलेसमेत यो जनताको अभिव्यक्ति स्वतन्त्रताको हनन् हो भनेर विरोध जनाउनु भएको छ । त्यसैले यी सबै विषयलाई मध्यनजर गरी सरकार अगाडि बढोस्, सरकारमा जानकै लागि मात्र आन्दोलन गरेको जस्तो नदेखियोस् । 


सम्बन्धित सामग्री:

Top