गलत राजनीतिक संस्कारका कारण लोकतन्त्रप्रति वितृष्णा

हिमालय टाइम्स   POSTED ON : भदौ २५, २०७८ (८:४६ AM)

गलत राजनीतिक संस्कारका कारण लोकतन्त्रप्रति वितृष्णा

नेपालमा वर्तमानमा विद्यमान राजनीतिक राज्यव्यवस्थालाई लोकतन्त्र भनिएको छ । लोकतन्त्र भन्नु नै परम्परागत प्रजातन्त्र नै हो । नेपाल संघीय गणतन्त्रमा गएसँगै राजा नभएको प्रणालीलाई प्रजातन्त्र भन्नु उपयुक्त नहुने भएका कारण प्रजातन्त्रको नाम लोकतन्त्र रहन गएको हो । लोकतन्त्र भनेको जनताको राज्य प्रणाली हो । यस प्रणालीमा जनताले आफ्ना प्रतिनिधि आफैं निर्वाचित गरेर पठाउने गर्छन् । हुनुपर्ने त्यही हो र भइरहेको पनि त्यही छ तर हाम्रोमा जनताले छानेका आफ्नो प्रतिनिधि जनताका हुन सकिरहेका छैनन् । निर्वाचित भएर संसदमा वा सरकारमा पुगेपछि उनीहरू जनताका बन्न सकिरहेका हुँदैनन् । आफ्नै निजी, सामूहिक वा दलगत स्वार्थमा उनीहरू चुर्लुंम डुब्ने गरेका छन् । त्यसको विद्रुप रूप चालु संसदमा हालै देखिन आएको छ । 

जनताले राजनीतिका अरू पाटाहरूलाई प्रष्ट नदेख्न सक्छन् तर संसदभित्रका सांसदहरूको गतिविधि र उनीहरूले बोलका कुरा स्पष्ट रूपमा देखिरहेका हुन्छन् । उनीहरूका नारा जुलुस र संसद भवनभित्र गरिने तोडफोड जनताको पहिलो दृष्टिमा पर्नजान्छ । पदीय मर्यादा जोगाउन नसक्नु र त्यसको गरिमा बँचाएर राख्न नसक्नुमात्र होइन पदको दुरुपयोग गर्ने कार्यले उनीहरूलाई माथि उठाउँदैन बरु तलै झार्ने गर्छ । एकातिर यस्तो परिस्थिति देखिएको छ भने अर्कातिर नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रजातान्त्रिक समाजवादका भाष्यकार विश्वेश्वरप्रसाद कोइरालाको हिजो परेको जन्मजयन्तिले पहिले पहिलेको जसरी महत्व पाउँन नसकेको जस्तो देखिएको छ । जति–जति उहाँको जन्म वर्ष टाढा हुँदै जाँदैछ र प्रजातान्त्रिक अभ्यास पनि पुरानो बन्दैछ त्यति नै यसको महत्व कम भएको हो कि जस्तो महसुस गरिँदै आएको छ । 

त्यसमाथि पनि यस वर्ष बीपी कोइरालाको जन्मजयन्ती हिन्दू नारीहरूको महान् चाड तीजकै दिन परेको हुँनाले यतातिर कम ध्यान पुगेको हो कि भन्ने अनुमान गर्नु अनुचित नहोला । यसको अर्को कारण छ, त्यो के हो भने अहिले नेपाली कांग्रेस पार्टीको अधिवेशनको समय छ । धेरै समयको मिति सार्ने कार्यपछि बल्ल निर्धारण भएको यो १४औं केन्द्रीय महाधिवेशनको वडास्तरको अधिवेशन चलिरहेको समय हो । त्यसैले कार्यकर्ता र जिलास्तरका नेताहरू गाउँगाउँमा पुगेको समय छ अहिले । अर्कोतिर मौसमको प्रतिकूलताले गर्दा जिल्लामै भए पनि जम्मा भएर बीपी जयन्तीका कार्यक्रम आयोजना गर्न अप्ठ्यारो अवस्था सिर्जना भयो । त्यसैले बीपी कोइरालालाई सम्झना गर्ने काम सधैंको भन्दा कम भएको हो कि भने जस्तो देखियो । 

हुन त हाल विपक्षी राजनीतिमा लागेर जेलनेल निर्वासन र भूमिगत राजनीति गरेको पुस्ता सकिँदै गएको छ । सजिलो गरी सोखको राजनीति गर्ने पुस्ता हुर्किरहेको छ । राष्ट्रियता, प्रजातन्त्र र समाजवाद नबुझेका नेता कार्यकर्ताहरू नेपाली कांग्रेसमा हाल धेरै छन् । यसैगरी विश्वेश्वरप्रसाद कोइराला, सुवर्ण शमशेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईहरूलाई नचिनेका र नाम नसुनेका कार्यकर्ताहरूको नेपाली कांग्रेसमा बाहुल्य छ भने उनीहरूका आदर्शको कुरा त अलिक परैको भयो । नेपाली कांग्रेसका संस्थापक नेताहरू, बीपीसँग सुन्दरीजल बन्दीगृहका सँगै बसेका नेताहरू, तराईबाट कांग्रेसका लागेका र आदर्शको रानजीति गरेका र सर्वस्व हरणमा परेकाहरूको इतिहास त झन् तिनलाई थाहा हुने कुरै भएन । 

प्रजातान्त्रिक समाजवादको व्याख्याता तथा नेपाली कांग्रेस पार्टीभित्रका विद्वत् वर्गको पहिचानसमेत तिनले गरेका नहुन सक्छन् । यो सबै अग्रजप्रतिको आदरको कमी र पठन संस्कृतिको अभावले सिर्जना भएको परिस्थिति हो । अग्रजप्रति गरिने सम्मान भनेको अन्तत्वगत्व आफ्नै सम्मान हो भन्ने बुझ्न जरुरी छ । पठन संस्कृतिले पार्टी बारे बुझ्न सहयोग पुग्छ र यसले आफ्नो राजनीतिक बाटोलाई सुगम बनाइदिन्छ । त्यसैले नेपाली कांग्रेस नेता कार्यकर्तामा न्यूनतम यति कुरोको बोध हुनु जरुरी छ । 


सम्बन्धित सामग्री:

Top