चालु संसद् अधिवेशनमा वितण्डा र प्रतिस्थापन बजेट

हिमालय टाइम्स   POSTED ON : भदौ २७, २०७८ (७:५३ AM)

चालु संसद् अधिवेशनमा वितण्डा र प्रतिस्थापन बजेट

प्रतिनिधिसभाको पुनःस्थापना र सरकारको फेरबदलपछि हाल संसद अधिवेशन चलिरहेको छ तर चलिरहेको छ भन्दैमा यो सुचारु छैन भन्दा हुन्छ । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन चालु संसद् अधिवेशन समाप्त भएको घोषणा गरेर उक्त अध्यादेश ल्यायो र त्यसलाई अनुमोदन गराउन पुनःसंसदको बैठक बोलायो भन्ने प्रतिपक्षी दल एमालेले आरोप लगाइरहेको छ । आरोपमा सत्यता छ कि छैन त्यो अर्को पाटो हो तर अहिले सञ्चालन भइरहेको अधिवेशनको पहिलो दिनदेखि नै प्रतिपक्षी दल नेकपा एमाले उग्र व्यवहारमा उत्रिएर संसदमा ताण्डव मच्चाइरहेको छ । उसको क्रियाकलाप गरिमामय संसद्मा हुनुपर्ने जस्तो नभई गाउँघरका एकराते बजारमा गरिने खालका भिडन्त जस्तै देखिँदैछन् । 

यसबाट संसदको गरिमाको संसारभरि नै अवमूल्यन भइरहेको छ । संसदमा राष्ट्रको गौरव संवद्र्धन गरिनुपर्नेमा केटाकेटीले खेलौनामा लडाइँ गरेको तुल्य दृश्य त्यहाँ देखिनाले झगडा गर्ने सांसद्हरूलाई भन्दा हेर्ने हामी जनतालाई लाज लाग्ने अवस्थाको सिर्जना भइरहेको छ । यसको जडका रूपमा नेकपा एमालले आफ्ना १४ जना सांसदहरूले दल फुटाएर अर्को दल खोलेका हुँदा उनीहरूलाई सभामुखले कारबाही गरी सांसद पदबाट निष्काशन गरेको सूचना टाँस गरिनुपर्छ भन्ने हो । तर, त्यसैको अभ्यास र अर्को दल दर्ताकै अभियान माधव नेपालहरूको पहिलेदेखिको अभिष्ट भएको र सरकारबाट हालै जारी भएको अध्यादेशलेसमेत यही कुराको संरक्षण गर्दै आएका कारण अहिलेको लागि नेकपा एमाललेको मागबमोजिम हुने सम्भावना छैन । 

एमालेको सरकार भएका बेला दुईपटक प्रतिनिधिसभा विघटन भएको र हाल पनि एमालेको प्रतिनिधिसभाको बैठकमा देखिएको उपद्रोका कारण एमालेले संसददीय अभ्यास तथा गतिविधि नचाहेको हो कि भन्ने देखिन पुगेको छ । यसका बाबजुद अर्थमन्त्री जनार्दन शर्माले विभिन्न विधेयक प्रस्तुत गर्नुभएको छ । प्रतिपक्षी दल सरकारको सहयोगी भूमिकामा रहनुपर्ने संसदीय मान्यता हो । विमति रहनु अन्यथा होइन, रहन्छन् तर तिनको निवारण आपसी छलफल र सरसल्लाह र सहमतिबाट खोजिनु पथ्र्यो, यसरी जग हँसाएर संसदीय चरित्रमाथि प्रहार गर्नाले हाल संघीय गणतन्त्र नेपालको हावापानी र माटो सुहाउँदो नभएको टीकाटिप्पणी भइरहेका बेला यस्तो व्यवहारले यस भावनालाई अझै मलजल दिने काम भइरहेको छ । 

पूर्ववर्ती केपी शर्मा ओली सरकारका अर्थमन्त्री विष्णु पौडेलले पेश गर्नुभएको बजेटमा रहेभएका केही कमीकमजोरीलाई सुधार गरेर वर्तमान सरकारले प्रतिस्थापन बजेट ल्याएको छ । नयाँ सरकार बनेसँगै उसले पनि केही आफ्नोपन खोज्नु अस्वाभाविक होइन । आकार घटाएर सरकारले १६ खर्ब, ३२ अर्ब रुपैयाँको प्रतिस्थापन बजेट ल्याएको छ । यस बजेटले केही राम्रा व्यवस्था गरेको छ । बैठकभत्ता, इन्धन, गोष्ठीसम्बन्धी खर्चमा कटौती गरेको छ । कोरोनाका कारण रोजगारी गुमाएका परिवारलाई प्रतिपरिवार १० हजार रुपैयाँ दिने भएको छ । राजनीतिक परिवर्तनका लागि बलिदानी दिनेको परिवारलाई मासिक ३ हजार प्रदान गर्ने, सात प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष, २०७८ साल चैत मसान्तसम्ममा मेलम्ची खानेपानी आयोजना पुनर्निर्माण गरिसक्ने, मिर्गौला प्रत्यारोपण, क्यान्सर र मेरुदण्ड पक्षाघात भएका दीर्घरोगीलाई मासिक ५ हजार रुपैयाँ सहयोग गर्ने जस्ता काम यस सरकारले अघि सारेको छ । 

स्वदेशी उद्योगलाई प्राथमिकता, शिक्षकहरूको स्वास्थ्योपचारका लागि छुट्टै अस्पताल स्थापनाका लागि अध्ययन गरिने तथा काठमाडौं उपत्यकाका विभिन्न १० ठाउँमा सुपथ र सुलभ खानाको व्यवस्था गरिनेलगायत यस प्रतिस्थापन बजेटमा भएका व्यवस्थालाई प्रसंशनीय मान्नुपर्छ । प्रतिपक्षीका आँखाले पनि राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो देख्न सक्नुपर्छ । हरेक कुरालाई विरोधका लागि विरोध गर्ने हाम्रो संस्कारमा परिवर्तन आउनु आवश्यक छ । यसो नहुन्जेलसम्म हामी सभ्य र संस्कारित राजनीतिका संवाहक बन्न सक्नेछैनौं । 


Top