जनआस्थामाथिको सम्मान स्वागत योग्य

हिमालय टाइम्स   POSTED ON : भदौ २८, २०७८ (८:३५ AM)

जनआस्थामाथिको सम्मान स्वागत योग्य

लामो समयदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर हालैबाट खुला भएको छ । कोरोनाको महामारीपछि दोस्रो पटकको निषेधाज्ञा सुरु भएको थियो त्यसपछि जनसम्पर्कका सम्पूर्ण ठाउँ बन्द भएका थिए ।  कोरोनाको दोस्रो भेरियन्टले आफ्नो सक्रियता देखाउनासाथ गतवर्षको भन्दा यसको धेरै भयावह संक्रमण फैलियो । मृत्यु हुनेहरू र दैनिक संक्रमितहरू थेगिनसक्नुको संख्यामा देखिए । मृतकहरूले घाट भरिए भने संक्रमितहरूले अस्पताल भरिए । अस्पतालमा त बिरामीहरूले भर्ना नै पाउन नसक्ने अवस्था भयो । न बेड न अम्सिजन न भ्यान्टिलेटर । यस्तो अवस्थामा मनोरञ्जनस्थल, धार्मिक आस्थाका केन्द्र मठमन्दिर बन्द हुनु अस्वाभाविक थिएन । जेनतन मानिसका दैनिक आवश्यकता पूरा हुँदै थिए र त्यस्ता ठाउँ समय मिलाएर खोल्ने गरिएको थियो । 

यही क्रममा हिन्दूहरुको आस्थाको केन्द्र महाआराध्यदेव पशुपतिनाथ मन्दिर पनि बन्द गरिएको थियो । पशुपतिनाथलाई शिवको स्वरूप मानिन्छ र छिट्टै खुशी हुने आशुतोष भगवान् भन्ने गरिन्छ । पशुपतिनाथ नेपालका राष्ट्रिय देवता मानिन्छन् । पहिले नेपालका राजामहाराजाहरूले आफ्नो सम्बोधनको अन्त्यमा ‘श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून्’ भन्ने गर्थे । विशेष पर्वहरूमा पशुपतिनाथको मन्दिर गएर पूजाआराधना गर्थे । गणतन्त्रपछि पनि राष्ट्रप्रमुखहरूबाट विशेष पर्वहरूमा पशुपति गएर भगवान्को पूजाअर्चना गर्ने परम्परा कायमै छ । आपूmलाई धर्मविरोधी कित्तामा उभ्याएर राजनीति गरी सत्ताको उपल्लो तहमा पुगेकाहरू पनि नियम र परम्परामा बाँधिएर पशुपति जाने गरेका छन् भने आस्थाका आधारमा डोहोरिएरै त्यहाँसम्म पुग्नेहरू देखिएका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पशुपति गमनलाई यसको दृष्टान्तका रूपमा अघि सार्न सकिन्छ । 

मानिसले आपूmसँगसँगै आपूm बाँचुन्जेल अँगालिरहने एउटा विशेषता धार्मिक आस्था हो । राजनीतिक, सामाजिक, आर्थिक जस्तै धार्मिक स्वतन्त्रता मानिसका लागि सर्वप्रिय हुन्छन् । संसारमा धर्मकै लागि ठूला ठूला युद्ध तथा हिंसाका घटना भएका अनेकौं उदाहरण छन् । त्यस्ता घटना वर्तमान विश्वमा भइरहेकै छन् । संसारमा मठमन्दिर धर्म र संस्कृतिका लागि मानिस अनेकौं ठाउँमा चहारेका छन् भने अर्बाैंको आर्जनसमेत यस्ता मठ र पीठहरूले गरिरहेका हुन्छन् । बोलीचालीमा मानिसहरूले ‘भगवान्ले खान लाउन दिन्छन् वा पाल्छन्’ भनिरहेका हुन्छन् । त्यसलाई लाक्षणिक रूपमा बुझ्ने हो भने भगवान मानेर पूजाआजा गरिने मठमन्दिरमा चढाएको भेटी तथा त्यसवरपर पूmलपाती बेचेर जीविकोपार्जन गर्नेहरू धेरै हुन्छन् । 

त्यसलाई एक अर्थमा भगवान्ले पालनपोषण गरेको रूपमा बुझ्न सकिन्छ । पशुपनिनाथ परिसर निकै ठूलो छ र त्यहाँभित्र पूmलपाती बेच्ने, क्युरियो सामानहरूको व्यवसाय गर्ने, चियानास्ताका होटलहरू सञ्चालन गर्ने, विदेशीलाई गाइड गर्नेलगायत अनेकौं मानिसले जीविकोपार्जनका कामहरू गरिरहेका छन् । ती धेरै मानिसको आर्जन पशुपतिनाथको नामसँग जोडिएको छ । मूलरूपमा त भक्तजनहरूले चढाएको भेटीपातीबाट पशुपतिनाथको भण्डार भरिँदै जान्छ । त्यसभित्र अनेकौं गुठी तथा कार्यालय छन् । त्यहाँका अनेकौं कर्मचारीको मासिक बेतनको स्रोतसमेत पशुपतिनाथ बनिरहेको अवस्थामा यो मन्दिर बन्द रहनुका कारणबाट दुईवटा समस्या एकसाथ सिर्जना भएका थिए । एक त भक्तजनहरूले पशुपतिनमाथको पूजाअर्चना गर्न नपाउनु हो भने दोस्रो हो आयआर्जनको स्रोत बन्द हुनु । 

पशुपतिनाथको दर्शनार्थ नेपालीहरूका साथै ठूलो संख्यामा भारतलगायत देशहरूबाट समेत भक्तजन आउने गरेकोमा त्यस अवस्थामा पूर्णविराम लागेको थियो ।  मन्दिर खुल्नाले अब सबैका लागि सहज वातावरण पैदा भएको छ । महामारी छँदैछ, जोगिनु सबैको जिम्मेवारी हो तर दर्शनको अपेक्षा गर्नेहरूले सतर्कतापूर्वक भक्ति र अर्चना गर्न पाउनेछन् । यसलाई सबै कोणबाट उपयुक्त हो भन्न नसकिएला तर भीडभाड हुने अन्य सबै ठाउँको सञ्चालन भइसकेको परिप्रेक्षमा पशुपतिनाथ मन्दिरमात्र बन्द रहनुको कुनै अर्थ थिएन । धर्म खान लाउन जत्तिकै अतिआवश्यक कार्य नहोला तर त्यससँग जोडिएर जीविका गर्नेका लागि यो अति आवश्यक  थियो । त्यसैले यसको सञ्चालनलाई समयसन्दर्भअनुसार सही निर्णय मान्न सकिन्छ ।   


Top