संसदीय मर्यादाका संवाहक बन्नु पर्दैनथ्यो र सांसदहरू ?

हिमालय टाइम्स   POSTED ON : भदौ २९, २०७८ (८:०५ AM)

संसदीय मर्यादाका संवाहक बन्नु पर्दैनथ्यो र सांसदहरू ?

नेपालको राजनीति हालका दिनहरूमा एउटा अनौठो मार्गबाट गुज्रिरहेको छ । संसदीय राज्यव्यवस्थामा संसदको अहम् भूमिका रहन्छ । राज्यलाई चाहिने सम्पूर्ण ऐन कानुनहरू संसदबाटै व्यवस्था गरिन्छ । त्यसैले संसदलाई व्यवस्थापिका भनिएको हो तर नेपालमा भने संसदको भूमिकालाई सधैं गौंण बनाउन खोजिन्छ । यो नियत र नियति नै हो वा संयोग ? यसलाई संयोगमात्र भन्न सकिने अवस्था छैन । कम्युनिष्ट पार्टीले संसद र संसदीय प्रणाली मान्दैन । यो विश्वव्यापी रूपमा देखिँदै आएको छ र यसका प्रवर्तक कार्ल मास्कसले नै भनेकै हुन् संसद भनेको बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो भनेर । कम्युनिष्ट पार्टी भएका देशहरूमा पार्टी प्रणाली त हुन्छ तर राष्ट्रमा एउटा पार्टीमात्र खोल्न पाइन्छ र त्यो पार्टी राज्यले खोल्छ अनि त्यसको विरोध गर्न पाइँदैन । 

यस अर्थमा पार्टी प्रणाली भएर पनि कम्युनिष्ट पार्टी भएका देशहरू निर्दलीय वा नेपालको पहिलेको पञ्चायती प्रणाली जस्तो हो भन्न सकिन्छ । वास्तविक कम्युनिष्ट कम्युनमा रहनुपर्छ र तीसँग कुनै प्रकारको धनसम्पत्ति हुनुहुँदैन । नेपालमा भने त्यसको ठीकविपरीत व्यवहार अवलम्बन गरिँदै आएको छ । जमिनदारहरू नेपालका ठूला कम्युनिष्ट छन् यो आजको मात्र अभ्यास होइन । २०१६ सालमा दिवंगत भएका महाकवि लक्ष्मीप्रसाद देवकोटाले नै त्यसबेलाको राजनीतिलाई हेरेर ‘जमिनदारका पुत्र छन् साम्यवादी’ भनेका थिए । पछि मदन भण्डारीले ‘जनताको बहुदलीय जनवाद’ वा ‘नौलो जनवाद’को सिद्धान्त प्रतिपादन गरेर नै यस प्रणालीलाई अवलम्बन गरेका थिए र त्यसैको अभ्यास र अवलम्बन गर्दै आएका छन् उनका अनुयायीहरू तर त्यसको सही पालना भएको पाइँदैन ।

एमालेभन्दा खरो उत्रिएको माआवादीबाट संसदीय प्रणालीको रक्षाको अपेक्षा गर्नु त अझै अन्यथा हुनजाला । गत केही वर्षदेखि यी दुवै कम्युनिष्ट मिलेर प्रजातान्त्रिक शक्तिलाई पछि पारेका छन् । त्यसपछि भने संसद वा संसदीय क्रियाकलाप नै ओझेलमा परेका छन् । दाजुभाइले अंशमा झगडा गरेर यो समस्या मिलाइदिन गाउँको प्रधानपञ्चलाई बोलाएको र उनीहरू दुवैले प्रधानपञ्चबाट बेस्सरी कुटाइ खाएको पञ्चायतकालीन घटनाको यहाँ स्मरण हुन्छ तर यी दुईथरी कम्युनिष्टलाई कायल पार्न नेपाली कांग्रेसले हाल नसकिरहेको अवस्था छ । आपसी लडाइँका कारण तेस्रो दललाई प्रधानमन्त्री बन्न अनुरोध गर्नेहरू हाल आपसी लडाइँमै छन् । त्यसको चेपुवामा भने संसद परेको छ । 

केपी ओलीको लात्तेभकुण्डो बनेर थिलथिलिएको प्रतिनिधिसभा बल्ल ब्युँतिन पाएको छ । पहिलो विघटनपछि पुनःस्थापना हुँदा पनि संसदलाई बिजिनेस दिइएको थिएन भने त्यसपछि फेरि त्यसैमाथि प्रहार गरिएको थियो । दोस्रो पटक पुनःस्थापना भएपछि हाल चालु संसदमा दुई कम्युनिष्ट पार्टीहरू यसरी भिडन्तमा उत्रिँदा के त्यसबाट नेपाली राजनीतिमा लाग्ने सोच बनाउँदैगरेका युवाहरूमा राजनीतिप्रति कस्तो धारणा सिर्जना होला ? निश्चय तिनले राजनीतिलाई सकारात्मक नठान्लान् । संसदमा कुस्ती खेलिरहेका माननीय सांसदहरूलाई टेलिभिजनको पर्दामा हेरेका साना बालबालिकाले विदेशी च्यानलबाट प्रसारित रेस्लिङ नठान्लान् र ? त्यहाँ सभ्य र भद्र भएर आफ्ना कुरा राख्न प्रतिबन्ध छ र ? 

सांसदले मर्यादापालकलाई टोकेर घाइते बनाएको भन्ने समाचारबाट पाठकले सांसदप्रति कस्तो धारणा बनाउलान् ? महिला सांसदहरू मर्यादापालकका काँध-काँधमा चढेको दृश्यले हाम्रो संसद र संसदीय प्रणालीको गौरव निश्चय बढाएको छैन, घटाएको छ । संसदमा रत्यौली खेल्नेहरूको इज्जत चुलिएको छैन । हिजोका विमति त छँदैछन्, तिनलाई एकातिर पन्साएर सहमति खोज्दा पाइएला नि ! भन्ने नै हो भने त नेपाली कांग्रेसको सैद्धान्तिक रूपमा कम्युनिष्टहरूसँग बढी विमति रहनुपथ्र्यो तर त्यसो नभएर हाल कम्युनिष्ट-कम्युनिष्टहरूकैबीच यस प्रकारको उग्रस्वरूप प्रदर्शन हुनुभनेको यो उनीहरूको यदुवंशी संस्कार नै हो । संसदभित्रै रहेर समस्याको समाधान नखोज्ने हो भने त संसदीय प्रणाली चेपुवामा पर्न सक्ला कि भनेर सबैले सोच्नै पर्ने होइन ? 


Top