सर्वदलीय सहमति कायम होस्

हिमालय टाइम्स   POSTED ON : भदौ ३०, २०७८ (७:५९ AM)

सर्वदलीय सहमति कायम होस्

हालको राजनीतिक अवस्था एक प्रकारले हेर्ने हो भने निकै गम्भीर मोडमा छ । हुन त नेपालमा धेरैजसो समय राजनीतिक संक्रमणको अवस्था भनेरै बित्ने गरेको छ । राष्ट्रिय सहमति कायम रहेको अवस्था कमै छ तैपनि अहिले राष्ट्रिय सहमति गरेरै जानुपर्ने अवस्था हो यो । अहिले जतिसुकै वादविवाद र झगडा गरे पनि अन्ततः त्यसको विकल्प चाहिँ छैन । अहिलेकै अवस्थालाई हेर्ने हो भने तत्काल सहमति कायम होला भन्ने आस गर्न नसकिएला तर अतिवादी सोचले अन्ततः पराजित हुनैपर्छ । अहिलेकै अवस्थालाई हेर्ने हो भने नेकपा एमालेको हठवादी व्यवहारले राष्ट्रका सबै अंग सुचारु हुन सकिरहेका छैनन् । यस्तो परिस्थिति खडा भएको एक वर्षजति भयो । भारी बहुमत प्राप्त गरेपछि नेकपाको ठूलो जिम्मेवारी थियो र जनताले पनि उक्त पार्टीबाट ठूलो अपेक्षा गरेको थिए ।

निकै छोटो समयमै उनीहरूको एकतामा धाँजा फाट्न थाल्यो र अन्ततः विभाजनको अवस्था सिर्जना भयो । जनताका अपेक्षासमेत चकनाचुर बने । गत वर्षको ठीक यही समयदेखि चर्किएको नेकपाको विवाद चुलिँदै गएर हालको अवस्थासम्म पुगेको छ । एकीकृत भएको नेकपा अहिले तीनवटा पार्टी बन्न पुगेको छ । पूर्वमाओवादी अहिले आफ्नो पूर्वहैसियतमा पुगेको छ भने पूर्वएमाले विभाजित भएर माधवकुमार नेपाल पक्षले हाल अर्को पार्टी दर्ता गरेको छ । संसदमा चलिरहेको हालको वितण्डा चाहिँ यही विषयमा हो । एमालेले लगातार संसदको बैठक अवरोध गरिरहेको छ, उसले संसद चल्न नदिने भनिरहेको छ र पार्टी छोडेर गएर अर्को पार्टी दर्ता गर्ने माधव नेपाल पक्षका सांसदहरूलाई कारबाही गरी सांसद पदबाट हटाउन उसले सभामुखलाई गरेको लिखित आग्रहको कार्यान्वयन नभएसम्म संसद चल्न नदिने भनेर त्यस्तै व्यवहार गरिरहेको छ । 

अर्को दल दर्ता गरेका सांसदहरूलाई कारबाही गर्ने सोच सभामुखको छैन र गठबन्धनका अरू दलको पनि त्यस्तो चाहना छैन । त्यसैले एक प्रकारले भन्ने हो भने नेकपा एमाले संसदमा एक्लो बनिरहेको छ तर उसको पहिलेदेखिकै हठ धर्मिताअनुसार ऊ कुनै पनि हालतमा आफू कमजोर छु भन्न चाहँदैन । केपी ओलीको पहिलेदेखिकै व्यवहारलाई हेर्ने हो भने उहाँले अरू सबैलाई पेलेरै लान चाहेको हो । अहिलेसम्म पनि यसको प्रतिबिम्बन नेपाली राष्ट्रिय राजनीतिमा भइरहेको छ जुन हालको संसद अधिवेशनमा देखिइरहेको छ । सभामुखले आयोजना गरेको सर्वदलीय बैठकमा एमाले उपस्थित भएन र एमालेविनाको सर्वदलीय बैठकको औचित्य छैन उही भनिरहेको छ । जसका लागि बैठक आयोजना गरिएको हो उही नजानाले यस बैठकको कुनै औचित्य देखिएन । 

तर, नेकपा एमाले बैठकमा उपस्थित पनि नहुने र एमालेविनाको बैठकको केही औचित्य छैन भन्न नछोड्ने हो भने यस्तो अनिश्चित अवस्था सधैं कायम रहिरहने स्थिति छ । यसले गर्दा एमालले संसदीय प्रणालीलाई नै अवज्ञा गरेको हो कि भन्ने प्रश्न उब्जिएको छ । सबैले मिलेर ल्याएको यो संघीय गणतन्त्रात्मक प्रणाली र सबै मिलेर घोषणा गरेको वर्तमान संविधानलाई विस्तारै निष्क्रिय बनाउने प्रयास तिनै पार्टीहरूबाट हुने हो भने हजारौं नेपालीको बलिदानी त्यसै खेर नजाला भन्न सकिँदैन । यो प्रणाली हामीले ल्याएका हौं र यसको औचित्य र आवश्यकता छ भनेर यिनै यसका संवाहक दलहरूले प्रमाणित गर्नुपर्ने हो तर यसको अवज्ञाको थालनी नेकपा एमालेलबाट भइरहेको छ र ऊ प्रत्यक्ष वा परोक्षरूपमा वर्तमान संविधान र संघीय गणतन्त्रको औचित्यहीनता पुष्टि गर्ने प्रयत्नमा रहेको छ । 

आफ्नो पार्टी संगठित राख्न नसकेर पार्टीका नेताहरू बाहिरिएका छन् र अर्को पार्टी खोलेका छन् तर ऊ संसद चल्न नदिएर जनताका प्रतिनिधिहरूमार्फत गरिने विभिन्न कामकारबाहीमा अवरोध हाल्न चाहिरहेको छ । यस अवस्थाको विद्यमान सधैं यसरी नै रहिरहनु हुँदैन, त्यसको निकास तुरुन्तै आउनुपर्छ । यसका लागि सबैले आफ्नो हठ त्याग गर्नुपर्छ र त्यसमा नेकपा एमाले बढी उदार हुनु आवश्यक छ । 


Top