प्रकोप नियन्त्रणमा इमानदारी आवश्यक

हिमालय टाइम्स   POSTED ON : भदौ ३१, २०७८ (८:१६ AM)

प्रकोप नियन्त्रणमा इमानदारी आवश्यक

आज भदौको अन्तिम दिन हो । कुनै वर्ष यस समयसम्ममा वर्षाद समाप्त भइसकेको हुन्थ्यो । बुढाबुढीहरू यसलाई पानी खड्किएको भन्ने गर्थे । यसवर्ष भने अझै पानी खड्किएको छैन, वर्षाको निरन्तरता कायमै छ । यसवर्षको सुरुदेखि बाढीपहिरोले ठूलो क्षति पुर्‍यायो भने त्यसको निरन्तरता वर्षादको बीचमा पनि कम भएन । अहिलेसम्म यो कम भएको छैन । अब बर्खा त सकियो तर अबका आठ नौ महिनालाई बाढीपहिराको प्रकोको भय भने हुनेछैन भन्ने सोचिरहेका खोला किनार र पाखाभित्ताका मानिसहरू अझै यसबाट मुक्त हुनसकेका छैनन् । प्रकृति मानवीय व्यवहार र कार्यभन्दा बलियो हुन्छ । मानिसले वर्षौं लगाएर सम्पन्न गरेका विकास निर्माणका कार्य प्रकृतिले एकैछिनमा विध्वंश पारिदिन्छ । 

त्यसैले मानिसले प्रकृतिलाई जित्न सक्दैन जित्ने प्रयास गर्नु अन्यथा हुनजान्छ । त्यसको प्रतिरोध र सुरक्षा व्यवस्था मजबुत बनाउनेमात्र हो । त्यसैले हामीले हाम्रो प्राकृतिक स्वरूपको आधारमा सतर्कता अपनाउनेमात्र हो । प्रकृतिसँग प्रतिरोध गर्ने र सकेसम्म आफू सुरक्षित हुने प्रयास गर्ने हो । जानी-जानी प्रकृतिबाट बढी क्षति हुने ठाउँमा बसोबास गर्ने र बढी क्षतिका सम्भावना देखिएका ठाउँका बसेर बन्द व्यापारलगायत पेशा व्यवसाय सञ्चालन गर्नु हुँदैन । जनस्तरबाट सकेसम्म आफू सुरक्षित हुने काम गर्नुपर्छ, सावधान रहनुपर्छ, क्षति भइसकेपछि त्यसको दोष सरकारलाई दिएर सरकारसँग क्षतिपूर्तिको दाबी गर्नु उचित हुँदैन । अनि यसैगरी सरकारले क्षतिको सम्भावित स्थानहरू बारे अध्ययन तथा अनुसन्धान गरी बसोबासका, खेतीकिसानीका, हिउँदे तथा बर्खे बसोबासका ठाउँहरू तोकिदिनुपर्ने हुन्छ । 

हालका वर्षमा विकास भनेको सडक यातायातलाई मात्र ठान्ने गरिएको छ । सडक सञ्जाल देशका सबै जिल्लाका सदरमुकाससम्म विस्तार गर्ने भन्ने अभियानका आधारमा गाउँगाउँसम्म सडक विस्तार गएिको छ । यसलाई बेठीक त भन्न नमिल्ला तर राम्रो योजनाविनै गरिएका यस्ता विकासका कामहरूले गर्दा हाम्रोजस्तो भूबनोट भएको देशको माटो नराम्रो गरी खल्बलिन पुगेको छ । विकासमा वैज्ञानिकता अपनाइएको भए कम क्षति हुनेथियो । हालका दिनसम्म बाढीपहिरोले क्षति पुर्‍याइरहेको छ, मध्यपहाडी लोकमार्ग अवरुद्ध छ । यसबाट पाँच करोडको क्षति भनिएको छ । राजमार्गहरूको मर्मतसम्भार गर्ने कामसमेत तदारुकताका साथ नगरिनाले दुर्घटना बढिरहेका छन् । 

सरकारले यसका लागि केही गरिरहेकै होला, केही गरेको छैन भन्न मिल्दैन तर प्राकृतिक प्रकोपको पूर्वसावधानी नपुगेको हुनसक्छ । अर्कातिर विकासका योजनाको छनौट गर्दा सही ठाउँमा सही योजना नभएको हुनसक्छ । कतिपय ठाउँमा पहुँचवाला मानिसले आफ्नो अनुकूल बाटो, कुलो, पैनी, नहर लगेकालेसमेत अनुकूल योजना र विकास कार्यको सन्तुलन बिग्रनाले प्राकृतिक प्रकोप बढेको छ भन्दा गलत नहोला । यसका साथै प्राकृतिक प्रकोपसम्बन्धमा काम गर्ने सरकारका विभिन्न निकायको कार्यमा तदारुकता र चुस्तता नभएकाले यस्ता कार्यको रेखदेखमा कमजोरी भइरहेको हुनसक्छ । 

यसका लागि कर्मचारीतन्त्रलाई निर्देशन र परिचारल गर्ने काम सरकारको हो । सरकारका संबद्ध व्यक्तिसमेत कर्मचारीहरूको कुत्सित प्रभावमा पर्ने हो भने प्रकोपहरू नियन्त्रण हुनुको सट्टा अझै बढेर जाने निश्चित छ । यसका लागि स्थायी सरकार भनेर चिनिने कर्मचारीतन्त्रले बद्नियत नराखी काम गर्नुपर्ने हो जसका लागि सरकारको निर्देशनको आवश्यकता पर्दैन । नियत खराब भएका खण्डमा कर्मचारीतन्त्र र सरकार कसैलाई कसैले नियन्त्रण गर्नसक्ने अवस्था रहँदैन । यस्तो भएको खण्डमा प्रकोप अझै बढेर जाने कुरा निश्चित छ । यस प्रकारका प्रकोपहरू नियन्त्रणमा सबैको इमानदारी आवश्यक छ । 


सम्बन्धित सामग्री:

Top