संविधानलाई सम्मान गरौँ

हिमालय टाइम्स   POSTED ON : आश्विन ३, २०७८ (८:१२ AM)

संविधानलाई सम्मान गरौँ

आज संविधान दिवस हो । नेपालको संविधान २०७२ लागू भएको ६ वर्ष पूरा भयो । एउटा विषम परिस्थितिमा आएको संविधान हो । यसले धेरै ठूलो प्रसव वेदना सहेरमात्र सार्वजनिक बन्ने मौका पाएको थियो । नेपाल अधिराज्यको संविधान २०४७ लाई पनि उत्कृष्ट संविधान मानिएको थियो । उक्त संविधान नेपालको संविधान २०१९ लाई विस्थापित गर्दैै त्यसको २८ वर्षपछि बनेको थियो । तर, केही राजनीतिक विचारका मानिसहरूले त्यसलाई साधन बनाएर आफ्नो साध्य भनेको गणतन्त्र नै हो भन्दै त्यसतर्फ जाने भ¥याङका रूपमा नेपाल अधिराज्यको संधिलाई २०४७ लाई प्रयोग गर्ने प्रयास गरेका थिए । 

पछिल्लो पटक प्रजातन्त्र पुनर्वहाली भएर नयाँ संविधान बनेको केही वर्ष बित्न पाउँदा नपाउँदै सशस्त्र विद्रोहको सुरुवात भएको थियो । जसले सकारात्मक परिणाम दिन सकेन र संविधानको भावना राम्ररी प्रतिबिम्बित हुन पाएन । अनाहकमा धेरै मानिसको ज्यान गयो र विकलांग बनेर बाँच्न विवसहरूको संख्याको त गणना नै भएन । जसरी पनि उक्त विद्रोहलाई समाधानको बाटोमा लैजाने क्रममा नेपालमा परम्परादेखिका केही कुरा तोडिए जसमा राजतन्त्रको समाप्तिसमेत पर्‍यो । विद्रोहीहरूका माग सम्बोधन गर्ने क्रममा संविधानसभाको चुनाव गरियो । पहिलो चार वर्ष र त्यसपछि थपिएको दुई वर्ष गरी ६ वर्षसम्ममा पनि संविधानसभाले संविधान बनाउन सकेन । त्यस अवधिमा सभासदहरूको सेवासुविधामा मात्र ९ अर्ब खर्च भयो भन्ने तथ्यहरू सार्वजनिक भए । 

त्यसपछि भएको संविधानसभाको दोस्रो निर्वाचनपछि वर्तमान संविधान बनेको हो । दोस्रो कार्यकालको समेत हिसाब गर्ने हो भने उक्त रकम निकै ठूलो परिमाणमा देखिनसक्छ । यति ठूलो खर्च र यसको पृष्ठभूमिको जनधनको क्षतिलाई समेत जोडेर हेर्ने हो भने वर्तमान संविधानको मूल्य निर्धारण गर्न नै सकिँदैन । त्यसैले यो संविधान अमूल्य छ । केही राजनीतिक उदासीनता हुँदाहुँदै नेपाली कांग्रेसले आफ्नो स्थापना कालदेखिका सिद्धान्तमा संशोधन गरेर संविधान जारी गर्न पहल गरेको थियो । संविधान जारी नगर्न स्वदेशी तथा विदेशी शक्तिको दबाबका बीच यो संविधान जारी गरिएको थियो । नेपाली कांग्रेसका नेता तथा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले उक्त जोखिम उठाउनु भएको थियो । 

त्यो दिन २०७२ साल असोज ३ गते थियो । त्यस मितिपछि हालसम्म ६ वर्ष व्यतीत भइसकेका छन् तर यसको महत्व र गरिमालाई अवमूल्यन गर्ने काम सुरु भएको केही वर्ष बितिसकेका छन् । महाभूकम्प आएर थिल्थिलिएको र त्यसभन्दा पनि द्वन्द्वले अझै बढी ध्वस्त पारेको देशमा ती सबै पीडा र घाउलाई बिर्सिएर पहिलो प्राथमिकता नै यसैलाई दिएर बनाइएको संविधान हो यो । केही परम्परा तोडिए पनि केही नयाँ कुराहरू यसले स्थापना गर्न सकेको छ । तर, २०४७ सालको संविधानलाई अमान्य बनाएर नयाँ संविधान निर्माणमा जोड दिने वामपन्थी शक्तिहरूबाटै हाल संविधान अपमानित भइरहेको छ । एमालेले त यो संविधान मान्नै नचाहेको उसका केही वर्षदेखिका व्यवहारबाट देखिँदै आएको छ । 

पटक–पटक प्रतिनिधिसभा विघटन गरेको छ र यसको पुनःस्थापनापछि पनि संसदभित्र उक्त पार्टीमा सांसदहरूबाट संसदीय मर्यादा पालना भइरहेको छैन । त्यही संसदबाट सेवा सुविधा लिएर त्यही संसदलाई नै बन्धक बनाउने काम भइरहेको छ । जसले गर्दा सरकारले राज्यकोषबाट पैसा निकालेर खर्च गर्न पाएको छैन । नेपालको इतिहासमै बजेट होलिडेको अवस्था सिर्जना भएको छ । यस्ता क्रियाकलापले संविधानको पालना भएको मानिँदैन । संविधान भनेको राष्ट्रको मूल कानुन हो र अन्य सबै कानुन संविधानबाटै निसृत हुन्छन् । सम्मान सबैबाट हुनुपर्छ । नेपाली जनता तथा संबद्ध सबैमा संविधान दिवसको शुभकामना । 


सम्बन्धित सामग्री:

Top