फेरि किन यस्तो सन्देह सिर्जना !

हिमालय टाइम्स   POSTED ON : आश्विन ८, २०७८ (७:३६ AM)

फेरि किन यस्तो सन्देह सिर्जना !

नेपाली कांग्रेसलाई १४औं महाधिवेशनको चटारो छ अहिले । हुँदैन कि भन्दाभन्दै सञ्चालित भइरहेको अवस्थाले अब हुँदैन कि भन्नु परेन । अधिकांश जिल्लाका वडास्तरका अधिवेशन सम्पन्न भइसकेका छन् । वर्तमानको चर्चा परिचर्चा यसैमा केन्द्रित छ । नेपाली कांग्रेस सबैभन्दा पुरानो र ठूलो पार्टी भएका कारण पार्टीको अधिवेशनबाट अरू पार्टीहरूसमेत प्रभावित छन् । नेपाली कांग्रेसको आन्तरिक महाधिवेशन भए पनि सबै पार्टीका नेता कार्यकर्ताले चर्चा गरिरहेका छन् । सामाजिक सञ्जल र पत्रपत्रिकाहरू यिनै विषयको चर्चा र तस्वीरले भरिएका छन् । अधिकांश वडास्तरका निर्वाचन सहमतिमै टुंगिएका छन् । तुलनात्मक रूपमा थोरै ठाउँमा मात्र चुनावी प्रतिस्पर्धा भएको छ । 

१४औं केन्द्रीय महाधिवेशका लागि आधार तयार भइसको छ । क्षेत्रीय प्रतिनिधिहरूसमेत छानिइसकेका छन् । केही ठाउँमा सामान्य विवाद भएकाले वडास्तरका अधिवेशन हुन सकिरहेका छैनन् तर ती ठाउँमा सहमतिको प्रयास भइरहेको छ । जिल्ला अधिवेशको समय निकटमा आइरहेको छ । त्यसपछि केन्द्रीय महाधिवेशनको समय जुन निर्धारण गरिएको छ त्यो तोकिएको समयमै सम्पन्न हुन्छ भन्नेमा नेता कार्यकर्ता विश्वस्त छन् । केन्द्रीय महाधिवेशनका लागि तोकिएको समय धेरैपटक मिति सारेपछि निर्धारण गरिएको हो । यसरी धेरैपटक मिति सारेकाले नेता कार्यकर्तामा तोकिएको मितिमा महाधिवेशन होला कि नहोला भन्ने द्विधा थियो । 

वडास्तरका अधिवेशन प्रयः भइसकोका कारण मिति भने सर्दैन भन्नेमा विश्वस्त भइरहेको अवस्था हो यो तर अझै केन्द्रीय महाधिवेशनका लागि पर्याप्त समय नभएको र केही ठाउँको विवाद मिलिनसकेकाले फेरि महाधिवेशन सर्छ भन्ने चर्चा हुने गरेको पाइन्छ । पार्टीको पहिलो वरियताका नेताहरूमाबाहेक अन्यमा द्विधा रहिरहेको जस्तो देखिन्छ । 

असोजको पहिलो हप्ता बितिसकेको छ । बीचमा दशैँ, तिहार र छठ परेको हुँदा मानिसहरू चाडपर्वमा लाग्ने हुँदा अब महाधिवेशनको समय धेरै छैन । यस्तो अवस्थामा महाधिवेशनको मिति पुनः सर्छ भनेर चर्चा भएको हो भन्ने अनुमान गर्न सकिन्छ । समय धेरै बाँकी छैन । त्यसैले नेपाली कांग्रेसले कार्यकर्ताको विश्वास र पार्टीको गरिमा जोगाउन अन्तिम पटकको यस समयमा जसरी पनि अधिवेशन गर्नैपर्ने हुन्छ । यसका लागि चाडपर्व नमानेर भए पनि अधिवेशनकै तयारीमा जोडताडले लाग्नुपर्ने आवश्यकता छ । चाडपर्व त वर्षैपिच्छे मनाउन पाइएको छ र पाइन्छ पनि तर यो महाधिवेशन ६ वर्षमा हुन लागेको छ । त्यसैले यो सामान्य चाडपर्वमात्र होइन महाचाड नै हो । 

अर्कातिर ७५ वर्षदेखिको लामो इतिहास स्थापित गर्न सफल नेपालको सबैभन्दा ठूलो प्रजातान्त्रिक पार्टी भएकाले समेत यस पार्टीले आफ्नो इतिहासलाई जीवित राख्न सक्नुपर्छ । यसका लागि यो महाधिवेशन एउटा महत्वपूर्ण साधन बन्नसक्छ । त्यसैले नेपाली कांग्रेसले पार्टीको केन्द्रीय महाधिवेशनका लागि तोकेको यो अन्तिम मिति कुनै हालतमा सार्नु हुँदैन । प्रजातान्त्रिक अभ्यासका क्रममा अरू पार्टीसँगको प्रतिस्पर्धामा विजय पराजयको विषय स्वाभाविक हुन्छ । यस्तै प्राविधिक कारणले गत आमनिर्वाचमा नेपाली कांग्रेस दोस्रो पार्टी बन्न पुगेको थियो तर नेपालको राजनीतिक अभ्यासका क्रममा यसको आवश्यकता र महत्व हालै विकसित राजनीतिक परिस्थितिले देखाइरहेको छ । 

नेपाली कांग्रेसले यो देशको राजनीतिमा आफ्नो आवश्यकता अझै छ भनेर देखाउनुपर्छ जसका लागि आगामी महाधिवेशनलाई सफलताका साथ सम्पन्न गर्नुपर्ने हुन्छ । यसका लागि पटकपटक सारिँदै आएको मिति अब सर्नु हुँदैन । अब पनि महाधिवेशनको यो मिति सारियो भने नेपाली कांग्रेस पार्टीप्रतिको जनधारणा नै फेरिन सक्छ । यसतर्फ पार्टीले विचार पुर्‍याउनै पर्ने हुन्छ । 


सम्बन्धित सामग्री:

कस्तो नियति हो यो ?

हिमालय टाइम्स : कार्तिक ४, २०७८ (६:५६ AM)
Top