किसान जहिले मर्कामा

हिमालय टाइम्स   POSTED ON : आश्विन १०, २०७८ (७:५६ AM)

किसान जहिले मर्कामा

हुन त जुनसुकै पेशा व्यवसायका मानिसहरूलाई समस्या परिरहेकै हुन्छ, चिन्तित बन्नुपर्ने अवस्था सिर्जना भइरहेकै हुन्छ तर त्यसमध्ये पनि किसानलाई भने चिन्ताले कहिल्यै छोड्दैन । किसान हाम्रो शास्त्रबमोजिम पञ्च पितामा पर्छ । उसले आफ्ना लागि मात्रै होइन जगतकै लागि अन्न उत्पादन गरेर सबैलाई पाल्ने काम गरिरहेको हुन्छ । त्यसैले किसानलाई पालनकर्ताका रूपमा लिइन्छ तर किसानले अन्न लगाउने बेलादेखि भित्र्याउने बेलासम्म अनेकौं कष्ट उठाउने काम गरेको हुन्छ । खेतीबाली लगाउनुभन्दा अगाडिदेखि नै त्यसका लागि भूमिका तयार गर्नुपर्छ । ब्याड खाख्ने र बिउ उत्पादन गर्ने काम गर्नुपर्छ । त्यसपछि रोपाइँको बेला हुन्छ । ब्याडमा राखिने बिउ भकारीमा छँदादेखि नै कीरा लागे नलागेको हेर्नुपर्छ । कीरादेखि जोगाउनुपर्छ । 

ब्याडमा राखिसकेपछि चरा, कीरादेखि जोगाएर घाम, पानी, हावा, मल र माटोको मात्रा मिलाएर त्यसलाई रोप्न योग्य बनाउनुपर्छ । रोप्ने बेलाको व्यवस्थापन आदि मिलाउनुपर्छ । परम्परागत रूपमा यस्ता खेतीबाली किसानहरू आफैंले गरेको तयारीका आधारमै गरिन्थ्यो । यस अर्थमा अन्नादिको उत्पादनको सम्पूर्ण दायित्व किसानकै हुन्थ्यो । त्यसमा कसैले सहयोग गरेन भन्ने गुनासो रहँदैनथ्यो । सहयोग साझा कुलो पैनी जस्ता कुरामा अपेक्षित हुन्थे, अन्य कुरा निजी दायित्वमै रहन्थे । खेतालालगायत श्रमिकहरूको व्यवस्थापनको जिम्मेवारी व्यक्तिमै वा किसानमै रहने गथ्र्यो । कतै–कतै सामूहिक श्रम (पर्मेली प्रथा) रहेको थियो । परम्परागत कृषि औजारहरूको व्यवस्था र जनशक्तिबाट खेती गरिन्थ्यो तर अब समय बदलिएको छ । 

परम्परागत प्राणालीहरू विस्थापित बन्दै गएका छन् । परम्परागत कृषि औजारहरू हराउँदै छन् । आधुनिक प्रणाली र औजारले तिनको ठाउँ लिइरहेका छन् । विकासे मल र बिउको व्यापक प्रयोग हुनेगरेको छ । त्यस्ता चीजहरू सरकारी कार्यालयबाट पैसा तिरेर लिनुपर्ने हुन्छ । छिटो र बढी उत्पादन हुने लालचले किसानहरूले आफ्ना परम्परागत प्रणाली र उपकरण त्यागिसकेका छन् । तराईतिर अब गोरु र राँगाहरू जोतेर खेती गर्न पूर्णरूपमा छोडिएको छ । व्यापक रूपमा ट्रयाक्टरको प्रयोग हुन्छ । धान र गहुँ झार्न थ्रेसरको प्रयोग हुन्छ । मकै पनि मेसिनबाटै छोडाउने गरिन्छ । यसरी हेर्दा एक प्रकारले सहज जस्तो देखिँदै आएको खेती प्रणालीसँगै केही अप्ठ्याराहरू आइरहेकै छन् । खेतीको समयमा बिउ र मल नपाएर किसानहरूले समयमा खेती गर्न पाएका हुँदैनन् । 

सरकारले कुन समयमा कुन कुराको आवश्यकता पर्छ सोहीबमोजिम त्यसको तयारी गर्न सम्बन्धित निकायलाई निर्देशन दिने र त्यस्ता निर्देशनको पालना नगर्ने वा समयमा किसानलाई मल, बिउ वा किटनासक औषधि दिन नसक्ने निकाय र ठेकदारलाई कारबाही गर्न सक्नुपर्छ । किसानले खेती गर्न नसक्नु र उब्जनी नहुनु भनेको आम मानिसले खान नपाउनु हो भनेर बुझ्नुपर्ने हुन्छ । यो अति संवेदनशील क्षेत्र हो । बिउ, मल, पानी, श्रम संरक्षणलगायत धेरै कुरा मिलाउँदै वर्षभरि जोगाएरमात्र खेती भित्र्याउन सकिन्छ । किसानले यसरी खेती गरेर आफूलाई बढी हुने बालीनाली अरूलाई बेच्छ र शहरी क्षेत्र जहाँका बासिन्दा खेती गर्दैनन् र किनेर खान्छन् तिनलेसमेत खान पाउँछन् । त्यसैले हुनसक्छ हाम्रो धर्मशास्त्रले किसानलाई पञ्चपितामध्येमा समावेश गरेको । 

सरकारले किसानको र कृषिको संरक्षण गर्न, उत्पादन बढाउन र देशमा खाद्यान्नको अभाव नहोस् भन्न कृषिसम्बन्धी अनेकौं निकायको स्थापना गरेको छ । तर ती निकायमा काम गर्ने मानिसले तलब पकाउने काम मात्र गर्नु हुँदैन । मल, बिउ, किटनासक विषादी, उपकरणलगायत कृषकहरूको हित प्रवद्र्धनमा दत्तचित्त भइरहनुपर्छ । कतिपय अवस्थामा कृष कार्यालयले सिफारिश गरेको बिउले उत्पादन नदिएर किसानहरू आन्दोलित हुनुपरेका उदाहरण देखिएका छन् । किसानले अरूलाई समेत पुग्नेगरी उत्पादन गर्नुपर्नेमा उसैले क्षतिपूर्तिको माग गरेर आन्दोलन गर्नुपर्ने अवस्था आयो भने त्यसबाट निश्चय उपलब्धि हात पर्दैन । त्यसैले किसानहरूको हित प्रवद्र्धनका लागि सरकार सधैं सजग रहनुपर्ने हुन्छ । 


सम्बन्धित सामग्री:

कस्तो नियति हो यो ?

हिमालय टाइम्स : कार्तिक ४, २०७८ (६:५६ AM)
Top