विद्यार्थीहरूको विचल्ली नहोस्

हिमालय टाइम्स   POSTED ON : आश्विन १२, २०७८ (७:४९ AM)

विद्यार्थीहरूको विचल्ली नहोस्

हाल विश्वव्यापी रूपमा कारोना वा कोभिड-१९ नामक महामारीको प्रकोपको विद्यमान छ । यो महामारी देखापरेको दुई वर्ष हुनै लागेको छ । यसले कहिले भयावह रूप लिएको छ भने कहिले केही सामान्य फर्किएजस्तो देखिने गरेको छ । यसका अनेक भेरियन्ट एकपछि अर्को गरेर आइरहेका छन् र पहिलो, दोस्रो र तेस्रो भेरियन्ट अझै देखापरिरहेका छन् । वर्तमान युगको सबैभन्दा खतरनाक महामारीको रूपमा देखापरेको यो भेरियन्टबाट विश्वमा धेरै मानिसको मृत्यु भयो, धेरै संक्रमित भए र अझै केही घट्तो क्रममा रहेको भए पनि प्रभावित हुनेहरूको संख्या दिनहुँ हजारौं छ । 

यसको प्रारम्भबिन्दु चीनको वुहान हो । चीनमा देखापरेको भए पनि चीन यसबाट धेरै प्रभावित भएन कारण उसको सतर्कता नै हो । उसले छ/सात दिनमै एउटा अस्पताल बनायो र कोभिडको उपचारमात्र ग¥यो । त्यसबेला कोभिडको सन्त्रासले विश्व नै ढाकिएको थियो । विश्व थर्कमान थियो न औषधि न त अन्य कुनै रोकथामको व्यवस्था । सतर्कता र सावधानीमात्र यसबाट जोगिने उपाय थिए । मासिनबाट मानिसमा सर्ने भएकाले मानिसको निकट मानिस नरहनु वा मानिसको सम्पर्कबाट पर रहनु यसबाट बच्ने उपायमा परिभाषित गरियो । मरेका मानिसहरूको आफ्नो परम्परानुसार अन्तिम संस्कार हुन सकेन । 

विश्वभरि लकडाउनको अस्त्र प्रयोग भयो । मानिसको दैनिकी कार्य बन्द भए । क्याम्पस, स्कुललगायत शैक्षिक संस्था पनि एकपछि अर्को गर्दै अनिश्चितकालका लागि बन्द भए । चीनले पनि अरू देशले जस्तै आफ्नो देशभित्र सञ्चालित स्कुल कलेज बन्द गर्‍यो । यस क्रममा अन्यदेशहरूबाट चीनमा गएर पढिरहेका विद्यार्थीले बीचैमा पढाइ छोड्नु पर्‍यो । नेपाली विद्यार्थीको चिकित्सा विषयको अध्ययन गर्न निकै ठूलो संख्या चीनमा रहेको थियो । उनीहरूलाई नेपाल फर्काएर ल्याउने जिम्मेवारी नेपाल सरकारको थियो । 

चार्टर उडान गरेर ती विद्यार्थीलाई ल्याइयो र भक्तपुरको खरिपाटीमा १४ दिनसम्म क्वारेन्टाइनमा राखेपछि कसैलाई पनि कोरोना नभएको प्रमाणित गरी तिनका आआफ्ना घर पठाइयो । उनीहरूलाई लिन गएको विमानलाई समेत १४ दिनसम्म उडानमा समावेश गरिएन । तर उनीहरूलगायत चीनमा चिकित्साशास्त्रको अध्ययन गरिरहेका र गरिसकेका विद्यार्थी हालसम्म पढाइको निरन्तरता र इन्टर्नसिप गर्नबाट वञ्चित छन् । चीनमा चिकित्साशास्त्र पढेर फर्किएका विद्यार्थीले नेपालमा इन्टर्नसिप गर्न नपाएर आन्दोलित भएका उदाहरणहरू पहिले पनि थिए । हालका दिनमा त उनीहरूले न नेपालबाट इन्टर्नसिप गर्न पाएका छन् न चीन जान पाएका छन् । यसलाई दृष्टिगत गरी शिक्षा तथा स्वास्थ्य समितिले यस्ता विद्यार्थीको मर्का हेरेर तुरुन्तै चीनमा अध्ययन गर्न जाने व्यवस्था मिलाउन निर्देशन दिएको छ । 

यसलाई अन्यथा भन्न मिल्दैमिल्दैन । धेरै विद्यार्थीको भविष्य अन्धकार भइरहेको अवस्थामा यो सकारात्मक निर्देशन हो यो चीन र नेपाल दुई देशसँग सम्बन्धित विषय हो । नेपालले मात्र चाहेर हुने विषय होइन । चीनले यसरी कोरोनाको सुरुवातकै चरणमा यसको प्रभावमा परेर फर्किनुपरेका विद्यार्थीलाई चीन लान अझै चाहिरहेको छैन । यसका लागि दुई देशको कूटनीतिक प्रयास आवश्यक छ । नेपालले चीनलाई अनुरोध वा दबाब सिर्जना गरेर यसको समाधान निकाल्नुपर्ने हुन्छ अन्यथा तिनको हालसम्मको लगानी खेरजानुका साथै ती विद्यार्थीहरूको भविष्यमा नकारात्मक असर पर्न जान्छ । कोरोनाको प्रभाव घटिरहेका बेला सरकारले समाधानतर्फ ध्यान दिँदा देश र विद्यार्थी दुवैलाई फाइदा पुग्न जानेछ ।

Top