प्रधानमन्त्रीको प्रतिबद्धता पूरा होस्

हिमालय टाइम्स   POSTED ON : आश्विन १७, २०७८ (६:५२ AM)

प्रधानमन्त्रीको प्रतिबद्धता पूरा होस्

सरकारका अनेकौं जिम्मेवारी र दायित्वहरू हुन्छन् । सबै क्षेत्रका सबै मानिसका दुखेसा र गुनासाहरू पनि सुन्नुपर्ने हुन्छ । व्यापारी, उद्योगपति, व्यवसायी, सर्वसाधारण, नागरिक समाज सबैका कुरा सुन्नुपर्ने हुन्छ । राजनीतिज्ञका सल्लाह सुझाव त मुख्य विषय नै भइहाल्यो । यही क्रममा सरकारका सदस्यहरू अथवा मन्त्रीहरू र प्रधानमन्त्रीबाट बेला–बेलामा यस्ता विभिन्न क्षेत्रका मानिसहरूका लागि अनेकौँ सल्लाह सुझाव र प्रतिबद्धताहरू प्रकट हुने गरेका छन् । यही क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिकहरूका लागि पनि यस्तै आश्वासन दिनुभएको छ । वास्तवमा हाम्रो समाजमा ज्येष्ठ नागरिकको जति सम्मान हुनुपर्ने हो त्यति भइरहेको पाइँदैन । घरपरिवारको हेलाहोचो भएर बाँच्नुपर्ने उहाँहरूको विवशता एकातिर छ भने अर्कातिर समाजमा पनि शारीरिक ऊर्जा सकिएका नागरिकका रूपमा उहाँहरूलाई व्यवहार गर्ने गरिन्छ । 

अझै हाम्रो देशका कतिपय समाजमा ज्येष्ठ नागरिकलाई अत्यन्त हेलाको व्यवहार गरिन्छ । आफ्नै छोराछोरी वा परिवारबाट यसरी हेलाहोचो भएर बाँच्नु पर्दाको उहाँहरूको जीवन शरीरका बल हुने युवा उमेरकाहरूले अनुमान गर्न सक्दैनन् । यसरी अपहेलित जीवन भोगिरहेका तर अनुभवको स्रोतका रूपमा रहेका ज्येष्ठ नागरिकहरू आफ्नो अतीत सम्झेर आपूmले गरेका साहसी कामहरू सम्झेर तड्पिरहनु पर्ने अवस्था हुन्छ । त्यो कुरा परिवारजनले महसुस गर्दैनन् । रोगले सताएको वा असाध्य रोगको पीडामा रहेकाहरूको अवस्था त अझै अकल्पनीय नै हुने नै भयो । आफ्नै सन्तानले गालीगलौज गरेको, खानलाउन नदिएको, दुव्र्यवहार गरेको र घरबाटै निकालेको जस्ता अनेकौँ घटनाहरू समाजमा हुने गरेको पाइन्छ । 

हालको समय समानताको समय हो । कानुनले पनि उहाँहरूको अधिकारका लागि केही प्रयास गरेको छ । केही गैरसरकारी संस्थाहरूले पनि उहाँहरूको हितका लागि केही काम गरेका छन् । तर, तीमध्ये केहीले यसलाई कमाउ अभियानको माध्यम बनाएका पनि छन् । हालका दिनहरूका बेलाबेलामा ज्येष्ठ नागरिकहरू आन्दोलित हुने, कतै कतै केही ठाउँमा आरक्षणको माग गर्ने, आफ्ना अधिकारको लागि लड्ने जस्ता काम गरिरहनु भएको छ । समय सन्दर्भअनुसार सरकारले पनि उहाँहरूका केही सक्नेसम्मका केही मागहरू पूरा गरिदिने गरेको छ । उहाँहरूलाई केही सहयोग गर्दै आएको छ । उहाँहरूलाई वृद्धभत्ता मासिक रूपमा दिँदै आएको छ र समयको क्रमसँगै त्यसमा वृद्धिसमेत गर्दै आएको छ । 

ज्येष्ठ नागरिकको उमेरको परिभाषा फेरबदल गर्दै हालका दिनसम्म ७० वर्ष उमेर पुगेकाहरूलाई ज्येष्ठ नागरिक मानेर मासिक सहयोग गर्दै आएकोमा अब ६५ वर्षदेखि नै यस्तो सहयोग गर्नेबारे चर्चा भइरहेको छ र अर्कातिर सहयोग रकममा समेत वृद्धि गर्ने कुरा भइरहेको छ । यी सबै कुरा आवश्यकीय हुनुका साथै सरकारले यसो गरिदिएका खण्डमा त्यसलाई प्रशंसनीय मान्नैपर्छ । प्रधानमन्त्रीले हालै ज्येष्ठ नागरिकहरूका लागि प्रिमियममा छुट गरेर उहाँहरूका लागि बिमा गरिदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यसबाट निश्चय नै उहाँहरूका लागि केही सहयोग पुग्नेछ । यसैगरी, उहाँहरूका लागि सार्वजनिक यातायातमा यात्रा गर्दा हाल ५० प्रतिशत छुट हुँदै आएकोमा अब पूर्णरूपमा छुट हुने व्यवस्था गरिने बताइएको छ । यो अत्यन्तै प्रशंसनीय कार्य हो । 

तर, यसभन्दा पहिलेको ५० प्रतिशत छुटको व्यवस्था पनि राम्ररी कार्यान्वयन हुन नसकिरहेको अवस्थामा पूर्णरूपमा छुटको व्यवस्था कार्यान्वयन हुन नसक्ला कि भन्ने सन्देह भने रहन्छ नै । बसका चालक र सहचालकहरूले ज्येष्ठ नागरिकहरूलाई परिचयपत्र देखाउँदा पनि छुट दिन हिचकिचाइरहेको देख्ने गरिएको छ । पूर्णरूपमा छुटको व्यवस्था भएपछि त प्रतीक्षालयमा गाडी कुरिरहेका ज्येष्ठ नागरिकहरूलाई देख्नासाथ तिनले उहाँहरूलाई गाडी नै नचढाउलान् भन्ने सम्भावना हुन्छ । त्यसैले यस्ता व्यवस्थाहरू नीति निर्देशनमा मात्र नभएर कार्यान्वयन तहमै कडाइका साथ लागू गर्नुपर्ने हुन्छ । सरकारले यसतर्फ पनि विचार पुर्‍याउनु आवश्यक छ । 


Top