अब गति लिनुपर्छ सरकारले

हिमालय टाइम्स   POSTED ON : आश्विन २४, २०७८ (७:५२ AM)

अब गति लिनुपर्छ सरकारले

सरकार बनेको तीन महिनामा बल्ल मन्त्रिमण्डल विस्तार भएको छ । यसबीचमा सरकारको अनेकौं ढंगले आलोचना गर्ने काम भयो । हुन पनि जनताले यो सरकारबाट छिटो परिणाम चाहेका थिए । भ्रष्टाचारमा मुछिएका कारणले पूर्ववर्ती सरकारको निकै आलोचना भएको थियो । ओली सरकार निरंकुशतातर्फ उन्मुख भएकाले उक्त सरकारलाई हटाउनुपरेको थियो । वर्तमान सरकारमा जनताको भरोसा थियो र छ तर सरकार बनेको झण्डै तीन महिना मन्त्रीमण्डललाई पूर्णाकार दिनमै लागेकाले आलोचना गर्ने मौका फेरि पाएका हुन् । यो गठबन्धन सरकारमा पाँच दल रहेका छन् । कुनै एक दलको निर्णयले मात्र सरकार बन्न र विस्तार हुनसक्ने अवस्था नै थिएन त्यसमा पाँचै दलको सहमति आवश्यक हुन्थ्यो । 

एकातिर ती दलभित्र आन्तरिक सहमतिको खाँचो थियो भने अर्कातिर दलहरूबीच आपसी सहमतिको आवश्यक थियो । यो सन्तुलन मिलाउँदा मिलाउँदै तीन महिना बितेको गठबन्धनले चालै पाएन, जुन हुनु हुँदैनथ्यो । त्यसैले अहिले पूर्णता पाए पनि सरकारको आलोचना हुन छोडेको छैन । जे होस् सरकारले पूर्णता पाइसकेको छ । सरकारको बाँकी कार्यकाल पनि धेरै छैन, अबको चौध महिनामा अन्तिमका केही माहिना चुनावको तयारीमै बित्ने हुन्छ । त्यो अवधि कटाउने हो भने सरकारले काम गर्न पाउने समयावधि अब एक वर्ष पनि बाँकी छैन । आफ्नो कार्यावधि छोटो छ भन्ने ठानेर यो सरकाले काम गर्नुपर्ने हुन्छ । विभिन्न दलको गठबन्धनबाट बनेको सरकार भएका कारण यो ज्यादै नै सन्तुलित भएर काम गर्नु आवश्यक छ । 

सन्तुलन बिग्रियो भने गठबन्धन ट्टुछ र फेरि अर्को सरकार बन्ने अवस्था रहँदैन भने अन्तरदल समन्वयको त्यत्तिकै खाँचो छ । एकातिर जसजसले आआफ्नो दलबाट प्रतिनिधित्व गर्ने अवसर पाउनुभएको छ उहाँहरूले आफ्नो दलले दिएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्नु आवश्यक छ र सरकारमा रहेका दलहरूबीच अर्को दल होइन एउटै दल ठानेर सरकारका सदस्यले व्यवहार गर्नुपर्छ । दलहरूले निकै ठूलो कसरतबाट सरकारमा जाने सदस्यहरूको छनौट गरेका छन् । यसैगरी कुन-कुन पार्टीले कुन-कुन मन्त्रालय पाउने भन्ने विषयमा दलहरूबीच लामो समयसम्म छलफल भएपछि हालको मन्त्रिमण्डलको स्वरूप तयार भएको हो । त्यसैले अब बाँकी एक वर्षको समयमात्र छ र यसबीच कुनै प्रकारको झैझगडा र कलहविनै सरकार सञ्चालन होस् भन्ने चाहना जनताले गरेका छन् । 

यसका साथै सरकारको दृष्टिकोण आगामी आमनिर्वाचनतर्फ मात्र नलागोस् राष्ट्रका अन्य चौतर्फी समस्या के कस्ता छन् तीतर्फ जाओस् र विकास निर्माणका कार्यले निरन्तरता पाइरहून्, अवरुद्ध नबनून् भन्ने सबैकोे चाहना हो । पार्टीका काममा पार्टीप्रति प्रतिबद्ध नै बनून् तर सरकारको काम गर्दा त्यहाँ फरक पार्टीको मतमतान्तर देखिनु हुँदैन । यो मिलीजिुली सरकारको स्वरूप हो, यो निर्देशन दिने पार्टी र पार्टीको निर्देशन पालना गरेर सरकारमा जाने व्यक्तिहरूले ख्याल राख्नुपर्ने विषय हो । नेपाली कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी र एमालेबाट विभाजित भएर नयाँ पार्टी बनेको माधव नेपालको नेतृत्वको नेकपा एमाले (समाजवादी) पार्टी अहिले सरकारमा सहभागी छन् । यसबाट सबै भूगोलको र सबै प्रकारका सैद्धान्तिक पार्टीहरू सरकारमा सामेल भएका छन् । 

मन्त्रिमण्डल विस्तार हुनुभन्दा पहिलेदेखि नै चर्चामा रहेको प्रधानन्यायाधीशले पनि सरकारमा भागबण्डा खोज्नुभएको छ भन्ने चर्चा अहिले सरकार विस्तारपछि अझै बढेको छ एकजना स्वतन्त्र व्यक्तिलाई मन्त्री बनाइएको छ । त्यसले गर्दा हल्लाले पुठ पाएको हो तर, त्यस कुरालाई यथार्थको धरातलमा टेकेरमात्र आधिकारिकताका आधारमा उचाल्नु आवश्यक छ । नत्र संविधानले नै संसद सदस्य नभएको व्यक्तिलाई पनि ६ महिनासम्मका लागि मन्त्री बनाउन पाइने प्रावधान राखेको हुँदा यसलाई त्यति धेरै उराल्नु आवश्यक छैन । देशको प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेका व्यक्तिले नबुझी यो मन्त्रिमण्डल बनाउनु भएको छैन होला भन्ने अनुमानका आधारमा यसो भनिएको हो । जे होस् सरकारले पूर्णता पाएको छ । यसमा सबैको सहमति छ र सहगागिता छ, अब सरकारका खुट्टा लकपकाउनु हुँदैन जनताका र देशका काम भटाभट हुनुपर्छ, यो नेपाली जनताको अपेक्षा हो ।

सम्बन्धित सामग्री:

कस्तो नियति हो यो ?

हिमालय टाइम्स : कार्तिक ४, २०७८ (६:५६ AM)
Top