अब बन्द भयो आलोचनाको अध्याय

हिमालय टाइम्स   POSTED ON : आश्विन २५, २०७८ (७:४३ AM)

अब बन्द भयो आलोचनाको अध्याय

सरकार आज बन्छ कि भोलि बन्छ भन्दै जनताले लामो समय प्रतीक्षा गरेर बसेका थिए । कि पहिलेको सरकारप्रति भरोसा नभएको हुनाले यो सरकारप्रति जनताको ध्यान केन्द्रित भएको थियो । सुरुमा बनेको सानो आकारको सरकारको विस्तार तुरुन्तै हुन्छ भन्ने अपेक्षा थियो तर गठबन्धनले भागबण्डा मिलाउन नसकेको हुँदा सरकार विस्तार हुन तीन महिना लाग्यो । यसमा गठबन्धनका सबैको सन्तुलन मिलेको बाहिरबाट हेर्दा पनि देखिएको छ । संख्यामा मागेजति परे–परेनन् त्यो फरक कुरा हो । पार्टीभित्र भने आन्तरिक रूपमा असन्तुष्टिहरू रहेका छैनन् भन्ने होइन । पार्टीभित्र मात्र होइन गठबन्धनका पार्टीहरूमा पनि आफ्नो पार्टीले मागेको मन्त्रालय नपाएको र मागेजति संख्या नपाएको भनेर तुस रहेकै होला । 

काम गर्नेहरूका लागि साँच्चै भन्ने हो भने पद नै चाहिन्छ भन्ने होइन तर यो एक प्रकारले भन्ने हो भने आदर्शकै मात्र कुरा होला । राजनीति गर्नु भनेको जोगी हुन होइन भन्ने भनाइ एकजना राजनीतिज्ञको थियो । अहिले राजनीति गर्नेहरू सबैले यसै भन्ने गरेका छन् । यस अर्थमा कमाउन, जमाउन र रमाउनै राजनीति गर्ने हो रहेछ भन्ने बुझ्नुपर्ने हुन्छ । अहिलेको मन्त्रिमण्डल बन्न यस्तै विचारको प्रभावले गर्दा ढिलो भएको देखियो । यस्ता विविध कारणले ढिलो भएको मन्त्रिमण्डलको विस्तार आमआलोचनाको केन्द्रमा रहन पुग्यो । अब भने त्यस अध्यायको समाप्ति भएको छ । पहिले सरकारले आफ्नो मन्त्रिमण्डल विस्तार गर्न सकेन भनेर आलोचना भएको थियो । 

अहिले पनि सरकारको आलोचना भइरहेकै छ तर अहिले आलोचनाको कारण फरक छ । सरकारको विस्तार सही ढंगले भएन भनेर आलोचना भएको छ भने त्यसमा मुख्य सन्दर्भ संसद सदस्य नभएका गजेन्द्र हमाललाई मन्त्री बनाइएकोमा आलोचनाको तारो बनिरहेको हो । हमाल स्वतन्त्र व्यक्ति हुनुहुन्छ तर उहाँको पृष्ठभूमि कांग्रेस रहेको छ । त्यसैले कांग्रेस कोटाबाट उहाँलाई मन्त्री बनाइएको हो भनेर तर्क गरिएको छ । हमालको मन्त्री नियुक्तिको विरोध सबैभन्दा बढी कानुन क्षेत्रका व्यक्तिहरूबाट भयो । नेपाली कांग्रेस संबद्ध वकिलहरूले नै हमाललाई प्रधानन्यायाधीशको मागबमोजिम मन्त्री पदमा नियुक्ति गरिएको हो भनेर विरोध जनाए । उनीहरूले यदि त्यसो हो भने अदालतले राजनीतिमा सिधा भागबण्डा खोजेका कारणले प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनुपर्छ भन्ने मागसमेत गरे ।

यस प्रकारको चर्चा पहिलेदेखि नै थियो र चर्चानुसारै मन्त्रिमण्डल विस्तार गर्दा स्वतन्त्र व्यक्ति पर्नाले र हमाल प्रधानन्यायाधीशको नाताका मानिस हुनाले यसले सही प्रमाणित हुने मौका पायो । रमाइलो कुरा त के भइरहेको छ भने नेपाली कांग्रेस बोल्नुभन्दा पहिले माओवादी केन्द्रका अध्यक्षले हमाल नेपाली कांग्रेसको कोटाबाट मन्त्री भएका हुन् भनेर सरकारको बचाउ गर्नुभएको छ । यसले सरकारमा एकता देखिएको छ तर सरकारको अवधि अब धेरै बाँकी छैन । त्यसैले यो एकता बाँकी पूरै अवधिसम्म रहनु आवश्यक छ । यो सर्वमान्य सत्यता हो कि हाल सरकारमा भएका पार्टीहरू सरकारमा रहुन्जेलमात्र एक हुने र चुनावमा एक्लाएक्लै नै जाने हुन् । 

त्यसैले त्यसबेला ती पार्टीहरू एकअर्काका बीच गालीगलौजमा उत्रने नै छन् । त्यसैले हाल एकले अर्कालाई बचाउ गरेरै भए पनि एक वर्षको कार्यकाल सदभावपूर्ण शैलीमा बितोस् । सरकार नबन्दा बनेन भनेर आलोचना हुनु जसरी अस्वाभाविक थिएन त्यसरी नै सरकार बनेपछिको यो आलोचना भने जसरी सरकार बनेन भनेर भएको हो त्यसमा पनि अस्वाभाविकता छैनभन्दा अन्यथा नहोला । यो स्वाभाविक प्रक्रिया हो । अब विवादमा तानिएका नवनियुक्त मन्त्री हमालले राजीनामा गरिसकेका कारण विवादको यस अध्यायको समाप्ति पनि भइसकोको छ । 

सम्बन्धित सामग्री:

कस्तो नियति हो यो ?

हिमालय टाइम्स : कार्तिक ४, २०७८ (६:५६ AM)
Top