महान् चाडपर्वको शुभकामना

हिमालय टाइम्स   POSTED ON : आश्विन २६, २०७८ (८:२४ AM)

महान् चाडपर्वको शुभकामना

अब चाडपर्वहरू सुरु भएका छन् । नेपालीहरूको महान् चाड बडादशैँ सुरु भइसकेको छ । वर्ष दिनमा आउने यस्ता पर्वहरू साउने संक्रान्तिबाट सुरु हुन्छन् र छ महिनासम्म लगातार आइरहन्छन् । माघे संक्रान्ति मनाएपछि नेपालका ठूला पर्वहरू बिदा हुन्छन् । यो नित्य निरन्तर चलिरहने प्रक्रिया हो । यस वर्ष अर्थात् २०७८ सालका चाडपर्वहरू सुरु भएको केही महिना बितिसिपछि अहिले हामी मध्य दशैँमा छौं । दशैँ नेपालको राष्ट्रिय पर्व हो । घरबाट टाढा गएर बसेकाहरू घर सम्झेर आउने पर्व दशैँ हो । जहान परिवारलाई केही वर्ष वा धेरै वर्षको बिछोडपछि भेटघाट गराउने चाड भएकाले यसको विशेष महत्व छ । 

ठूलाबडा र आदरणीय व्यक्तित्व वा मान्यजनबाट टीका र जमरा लगाइमागेर आशिरवाद थाप्ने दशैँ पर्वको ख्याति छ । पञ्चायत कालमा यस राष्ट्रिय पर्वमा सरकारले १५ दिनसम्म बिदा दिने गरेको थियो भने पछि प्रजातान्त्रिक सरकारहरूले अन्य धर्मावलम्बीका अन्यान्य पर्वलाई समेत विभेदको व्यवहार नहोस् भनेर दशैँ बिदामा कटौती गरी अन्य पर्वमा बिदा दिने गरेको छ । दशैँलगत्तै अर्को महान् पर्व तिहार आउँछ । दशैँभन्दा फरक शैलीमा तिहार मनाउने गरिन्छ । दशैँ तामसी पर्व हो भने तिहार सात्विक पर्वका रूपमा रहेको छ । तिहार काटमार हिंसा र मांसहारबाट पर रहन्छ । दीप र पूmलको पर्व भएका कारण नै तिहारलाई दीपावली भन्ने गरिएको हो । 

यही बेला इस्लामहरूको इदुल फित्र नेवारी परम्परानुसार म्हपूजा वा नयाँ वर्ष नेपाल सम्वत् समेत सँगसँगै आउने गर्दछन् । यसपछि विभिन्न जातजातिका ल्होसारहरू सुरु हुन्छन् र माघ महिनाको पहिलो दिन अन्य धर्मावलम्बीहरूको माघे संक्रान्ति र त्यही दिन थारू जातिहरूको माघी पर्व पर्दछ । दशैँ रमझमपूर्ण चाड हो । परदेशीहरू आफ्नो गाउँघर फर्किन्छन्, लाहुरबाट लाहुरे आउँछन्, रोटे र लिंगे पिङको रमाइलो हुन्छ । टीका र जमराको सर्वव्यापकतामात्र होइन माइत र मावल जानेहरूको लर्को गाउँघरका बाटाभरि देख्न पाइन्छ । यसका थालनिका अनेक कथाहरू जोडिने गर्छ । रामले रावणलाई विजय गरेपछि मनाउन थालेको भनियोस् वा देवीले दानवलाई मारेपछि त्यही खुशीयालीमा मनाउन थालिएको भनियोस् दशैँ धार्मिक, सामाजिक तथा सांस्कृतिक दृष्टिले महान् चाड हो । 

तर, चाड मनाउन जान्दा त्यो चाड बन्छ भने मनाउन नजान्दा यस सँगसँगै अनेक खालका विकृति बढ्ने गर्छन् । खासमा देखासिकी गर्ने प्रवृत्तिले मानिसलाई ओरालो बाटोतिर धकेलिरहेको हुन्छ । हुनेले खर्च गरेको देखेर नहुनेले पनि त्यसको नक्कल गर्नाले एक पटक दशैँ मनाएको ऋण तिर्न एक वर्षसम्म मिहिनेत गर्नुपर्ने हुन्छ । यतिमात्र होइन कपितपयले त यस्तो ऋण तिर्न नसकेकेर अनेकौं नराम्रा व्यवहार अपनाएको र आत्महत्या जस्ता गलत बाटो लिएका उदाहरण पाइन्छन् । त्यसैले बुढापाकाले भन्ने गरेको घाँटी हेरेर हाड निल्नुपर्छ भन्ने उपाख्यानको पालना गर्ने हो भने दशैँ दशा बन्दैन । पर्वमा रमाउने हो । रमाउँन धेरै पैसाको आवश्यकता पर्छ भन्ने होइन । आपूmसँग भएको थोरै पैसाले पनि रमाउँन सकिन्छ । 

त्यसैले दशैँलाई दशा बनाउनु हुँदैन । चाड भन्नासाथ मांस र मदिराको भेलबाडी लगाउनुपर्छ भन्ने होइन । स्वास्थ्यको ख्याल नराखी चाड मनाउनाले चाडमा पनि खर्चको मात्रा बढ्नजान्छ र स्वास्थ्य बिग्रियो भने उपचारमा पनि पैसा खर्च हुन्छ । अर्कोतिर खेलबाड गरेर पैसा उडाउने प्रवृत्ति धेरैमा रहेको छ । यस्ता व्यवहार पर्वका नकारात्मक विशेषता हुन् र यी विकृतिले पर्वमा रौनक थप्दैन । पर्व रमाइलो बनाउन त परिवारसँगै बसेर हाँसी खुशी आपूmसँग जे छ त्यसैमा रमाउनुपर्छ । अनावश्यक आडम्बरी व्यवहार त्याग्नाले जीवन उच्च बन्नजान्छ । जो जो जहाँ-जहाँ छौं त्यहीँ त्यहीँ रहेर खुशी आदानप्रदान गरौं, सुखी रहौं खुुशी रहौं । हाम्रा समस्त पाठक, विज्ञापनदाता, प्राविधिकहरू, प्रशासनिक कर्मचारीहरू, पत्रकार तथा हाम्रा सम्पूर्ण शुभचिन्तकहरूमा महान् पर्व बडादशैँको हार्दिक मंगलमय शुभकामना । 

सम्बन्धित सामग्री:

कस्तो नियति हो यो ?

हिमालय टाइम्स : कार्तिक ४, २०७८ (६:५६ AM)
Top