बडादशैँको समापन र यसले छोडेका पदचापहरू

हिमालय टाइम्स   POSTED ON : कार्तिक ३, २०७८ (७:०४ AM)

बडादशैँको समापन र यसले छोडेका पदचापहरू

यस वर्षको बडादशैँको समापन आजबाट हुँँदैछ । दशैँ सम्पूर्ण हिन्दू धर्मावलम्बीका लागि महान् चाड हो । नेपालमा अधिकांश मानिस हिन्दू धर्मवलम्बी छन् र यसबाहेक अन्य धर्म मान्नेले पनि हिन्दूधर्मको प्रभावमा छन् । यसको महत्वका बारेमा भनिरहनुपर्ने छैन । यसवर्ष सधैंजसरी दशैँ पर्व मान्न देशविदेशमा रहेका नेपाली नागरिकहरू आआफ्नो परिवारसँग भेटघाट गर्ने क्रममा स्वदेश फर्किए भने देशभित्र आफ्नो घरभन्दा पर बसेका पनि घर फर्किए । काठमाडौं उपत्यकाबाट विभिन्न जिल्लामा जानेको संख्या उल्लेख्य रहृयो । हवाईजहाज र सार्वजनिक बस, माइक्रो, सुमो, हाइसजस्ता गाडीबाट बाहिरिनेको संख्या बाक्लै थियो । 

यस्ता सवारीसाधनको टिकट नपाएर बढी पैसा तिर्न बाध्य हुनेहरू धरै थिए भने बढी पैसा तिरेर जान नपाएकाहरूको संख्या पनि उलेख्य थियो । साथै निजी सवारीसाधनबाट धेरै मानिस गाउँघरसम्म पुगे । पारिवारिक मिलनको यस्तो संयोग अधिकांश मासिनका लागि सुखद् क्षणका रूपमा रहृयो भने केहीका लागि दुःखद् पनि बन्यो । सानातिन दुर्घटना सयौंको संख्यामा भए भने केही ठूला दुर्घटनाहरू हुनपुगे । दशैँको रमाइलोमा त्यसरी ज्यान गुमाउनेहरूको परिवारका लागि शोकमा परिणत भयो । अत्यधिक यात्रुको भार, उछिनाउछिन, चालकहरूको लापरबाही, थन्क्याएर राखेका पुराना र थोत्रा गाडीलाई प्रयोग गरेर यात्री ओसार्ने काम गर्नाले यस दशैँमा सधैं जसरी दुर्घटना भएका हुन् भन्न सकिन्छ । 

अहिले दुर्घटना मौसमी कारणले हुन पुग्यो । आज कात्तिक महिनाको ३ गते छ तर पानी अझैसम्म परिरहेको छ । जसले गर्दा यातायातका साधन दुर्घटनामा पर्नेबाहेक दशैँमा माइत-मावल, ससुराली जानेहरूसमेत खोलोपाहिरोमा परेका समाचार सुन्नुपर्‍यो । यातायातलाई प्रशासनले नियमन गर्न सकेन सधैंझैँ दशैँ सबैको कमाउने मौका हो भन्ने भावनाले प्रहरी प्रशासनले आँखा चिम्लिदियो जसले गर्दा दुर्घटनाको संख्या बढ्न गयो । केही नेपालीका लागि दशैँ दशा बन्नपुग्यो भने अरूका लागि महँगी बढ्नाले खल्लो बन्यो । गरिबहरूका लागि त दशैँ सधैं महादशा नै बन्ने गरेको छ त्यो नियति यसपटक पनि नदोहोरिइ रहन सकेन । 

राजनीतिको सारगर्मीसमेत त्यस्तै रहृयो, गठबन्धनको सरकार बनेको तीन महिनासम्म मन्त्रिमण्डल विस्तार हुन सकेको थिएन, दशैँकै मुखमा सरकारले पूर्णता पायो । यसबारे अनेकौं टीकाटिप्पणी भए । न्यायपालिका प्रमुखलेसमेत सरकारमा जान भाग खोजे भन्ने चर्चा भयो । सांसद नभएका स्वतन्त्र व्यक्तिलाई मन्त्री बनाइयो तर उहाँ मन्त्री भएको पर्सिपल्टै विवादका कारण राजीनामा गर्न बाध्य हुनुभयो । नेपाल साफ गेममा फाइनलमा पुग्यो । दशैँकै बीच माल्दिप्समा नेपाल–भारतबीच फाइनल भयो । नेपाल विजेता बन्न सकेन तर उपविजेता बन्यो । अहिलेसम्म फाइनलमै पुग्न नसकेको नेपालका लागि एउटा खुशीकै क्षणका रूपमा यस दशैँमा प्राप्त भएको अवसरका रूपमा लिनुपर्ने हुन्छ । 

समयको चक्र घुमिरहन्छ । यो मुख्य चाडको बेला हो एउटा मुख्य चाड सकिए पनि दीपावलीलगायत अन्य आउनै लागेका छन् । यसबीच दुईहप्ता पुनःजनजीवन सामन्य अवस्थाबाट गुज्रिनेछ । जनजीवन आफ्नो लयमा फर्किएको छ । उपत्यका छोडेरबाहिर गएका मानिस फर्किने क्रममा छन् । मानिसहरू आ-आफ्नो पेशा, व्यवसाय, बन्दव्यापार, जागिरलगायत पेशामा फर्किैँदै छन् । एउटा चाडमा गरेको खर्चको उपार्जन गर्न लामो समय लाग्छ । तिहार त तुरुन्तै आइहाल्छ । त्यसैले आर्थिक उपार्जनका लागि कमाउनुपर्छ तर यसरी कमाउँदा गलत बाटो अपनाउनु हुँदैन । यसतर्फ प्रहरी प्रशासनले सहयोग गर्नुपर्ने हुन्छ । नागरिकको इमानदारी देशको इमानदारी हो । यसलाई सबैले मनन् गरौँ ।

Top