प्रदूषण कम गर्न विद्युतीय ऊर्जा

हिमालय टाइम्स   POSTED ON : मंसिर ६, २०७८ (७:४० AM)

प्रदूषण कम गर्न विद्युतीय ऊर्जा

हाल संसार प्रदूषणबाट दिनप्रतिदिन प्रभावित बन्दै गइरहेको छ । बाक्लो मानव बस्तीहरूको प्रदूषण समस्या दिनप्रतिदिन भयावह बन्दै गएका कारण मानिसहरूमा एक प्रकारको भय पैदा भएको छ । भारतको राजधानी दिल्लीमा प्रदूषणकै कारण मानिसहरूका दैनिकी ठप्प हुने अवस्था सिर्जना भएको छ । स्कुल कलेजहरू ठप्प भएका छन् । प्रदूषणले अनेक प्रकारका समस्याहरू सिर्जना हुन्छन् । अनेक प्रकार ग्यास, रसायन, हावा र पानी तथा माटोमा मिसिने भएका कारण मानिसले यिनै कुरासँगको सहाचार्यबाट जीवन गति अघि बढाउनु पर्नाले तिनले मानिसलाई प्रत्यक्ष असर पार्ने गरेको छ । अनेक प्रकारका एसिडहरू हावामा मिसिदा मानिसलाई श्वासप्रश्वासका माध्यमबाट दम, मुटुरोग र फोक्सोका रोगहरू लाग्ने गरेका छन् । 

हावा प्रदूषित हुनाले वर्षामा अमिलो पानी मिसिएर अम्ल वर्ष हुनेगर्छ जसले जमिनको ऊर्वरा शक्ति क्षीण बनाइदिने गरेको छ । विभिन्न प्रकारका कलकारखाना, उद्योग यातायातका साधन, अनेकौं काममा प्रयोग हुने औजारबाट पैदा हुने कार्बन, विभिन्न प्रकारका उद्योगहरूबाट निसृत हुने रासायनिक पदार्थ आदिका कारण हावा पानी र माटो प्रदूषित हुने गर्नाले त्यसको सोझो असर मानिस, मानवेत्तर प्राणीहरू तथा वनस्पतिलाई पर्ने गरेको छ । अन्य निर्जीव पदार्थमा यसको प्रभाव परेकै हुन्छ । मानवीय व्यवहारबाटै यस्तो परिणाम आएको हो । हाम्रा यस्ता क्रियाकलापबाटै ओजोन तह पातिलिएर प्वाल परेको वैज्ञानिकहरू बताउने गर्छन् । 

त्यसैले जलवायु परिवर्तनको मारमा पृथ्वीमा रहेका सबै प्रकारका प्राणीहरू पर्दै आइरहेका छन् । भोलिका दिनहरूमा पृथ्वी तात्तै गएर यहाँबाट अधिक तापका कारण सबै प्रकारका प्राणीहरू बस्न नसक्ने अवस्थाको सिर्जना हुने हो कि भन्ने चिन्तामा वैज्ञानिहरू रहेका छन् । नेपाल पनि संसारका वैज्ञानिकहरूसँग यस्ता कुराको छलफलमा संलग्न हुने गरको छ तर आपूmसँग साधन र स्रोतका कमी भएका कारण यस्ता समस्याको निराकरणमा ठूला र खर्चिला काम गर्न सक्दैन । खोलानाला धेरै भएकाले नेपाललाई जलस्रोतको धनी देश भन्ने गरिएको छ । यहाँका नदीनालाबाट प्रसस्त मात्रामा बिजुली निकाल्न सकिन्छ । बिजुलीले अन्य प्रकारका ऊर्जालाई विस्थापित गर्ने भएकाले प्रदूषण घट्ने कुरा सर्वस्वीकार्य छ । 

राष्ट्रपति विदादेवी भण्डारीले यस्तै समस्याको कारण प्रदूषणले भयावह रूप लिँदै गएको देखेर विद्युत् ऊर्जाको उत्पादन र प्रयोग बढाउनुपर्ने धारणा राख्नु भएको छ । उहाँले विद्युतीय ऊर्जाको प्रयोगमा जोड दिनुपर्ने बताउनुभएको छ । विशेषगरी खाना बनाउने ग्यास विदेशबाट ल्याउनुपर्छ र उत्पादन तथा ढुवानीलगायत अन्तर्राष्ट्रिय कारणले समेत त्यसको मूल्य बढेको बढ्यै छ । नेपाल प्राधिकरणमा प्रबन्ध निर्देशक कुलमान घिसिङले त उहाँ आपूm नियुक्त भएर आउनुभएलगत्तै विद्युत् ऊजाको प्रयोग बढाउन आग्रह गर्दै आउनुभएको थियो । तिहारमा अत्यधिक बिजुली खपत हुने भएकाले जहिले पनि लाइन जान्थ्यो । तर, यस पटकको तिहारमा बेस्सरी बिजुली बाल्नुस् भनेर उहाँले उपभोक्तालाई उत्प्रेरित गर्नु भएको थियो र अत्यधिक खपत हुँदा कतै पनि लाइन गएन । यसरी विद्युत् ऊर्जाको प्रयोग बढाउँदा एकातिर अन्य ऊर्जाभन्दा मूल्यमा अब सस्तो पर्छ भन्ने सरकारको धारणा छ भने अर्कातिर प्रदूषणले व्याप्त बनाएको मानव समुदायलगायत सम्पूर्ण प्राणी तथा वनस्पतिहरूमा यसबाट राहत मिल्न सक्छ । परम्परागत ऊर्जाहरू हाल नयाँ-नयाँ प्रविधिबाट विस्थापित बन्दै गएको अवस्था छ तर यो मात्र पर्याप्त छैन । 

कार्बन उत्सर्जन गर्ने कार्यमा परम्परागत ऊर्जाभन्दा आधुनिक ऊर्जा अझै अगाडि छ । कार्बन उत्सर्जनमा कलकारखाना र गाडीहरू धेरै अगाडि छन् । तर, आधुकिक ऊर्जामा विद्युत् ऊर्जा निकै कम प्रदूषण फैलाउने ऊर्जा हो । त्यसैले यसको खपतमा जोड दिनु स्वाभावाभिक हो तर यसको पर्याप्त उपलब्धता र सुलभ मूल्य भने कायम गरिनुपर्ने हुन्छ जसले गर्दा सबैले यसको उपभाग गर्न सकून् । 

Top