पार्टीहरू महाधिवेशनकोे चटारोमा

हिमालय टाइम्स   POSTED ON : मंसिर ९, २०७८ (८:२१ AM)

पार्टीहरू महाधिवेशनकोे चटारोमा

हाल पार्टीहरू महाधिवेशनको चटारोमा छन् । नेपाली कांग्रेसको महाधिवेशनको सन्दर्भ धेरै पहिलेदेखिको हो । विविध कारणले समयमा सम्पन्न हुन नसकेर धेरै पटक सारेपछि हालै पार्टीको केन्द्रीय वा संघीय महाधिवेश संघारमै कांग्रेस आइपुगेको छ । केही समय पहिले वडास्तरका अधिवेशन सम्पन्न भइसकेका थिए भने अहिले क्षेत्रीय, जिल्ला र प्रदेश स्तरीय अधिवेशन धमाधम भइरहेका छन् । त्यसका लागि निर्वाचन हुने र परिणाम आउने क्रम जारी छ । सामाजिक सञ्जालका भित्ताहरू यस्तै खालका समाचारले भरिएका छन् । अब त्यसको परिणाम हेरेर केन्द्रीय नेतृत्वमा जान चाहनेहरूले आफ्नो उम्मेदवारीको घोषाण गर्नुहुनेछ । वास्तवमा भन्ने हो भने केन्द्रीय नेतृत्वको प्रतिबिम्ब यसैले तयार गर्नेछ । 

संस्थापन र संस्थापन इतर भनेर जुन कित्ता काट गरिएको छ तीमध्ये कुन बलियो हुने र कुन कमजोर हुने भनेर वडादेखि प्रदेशसम्मको नतिजाले निर्धारण गर्नसक्छ । वास्तवमा पार्टीहरूलाई बलियो बनाउन अधिवेशनले ठूलो भूमिका खेल्नेछ । त्यसैले महाधिवेशन समयमै हुनुपर्ने आवश्यकता रहन्छ । ढिलै भए पनि नेपाली कांग्रेस पार्टीमा भइरहेको अधिवेशनले पार्टीमा एकता कायम गर्नसक्ला भन्ने अपेक्षा गर्न सकिन्छ तर कति पय ठाउँमा विग्रह पैदा भएको देखिएको छ । आपसी कलह र झडप हुनु गलत संस्कारको विकास र निरन्तरता हो । 

आफ्नै पार्टीभित्रका निर्वाचनहरूमा जसले हारे वा जिते पनि आफ्नै पार्टीको आन्तरिक प्रतिस्पर्धा हो र आफ्नै पार्टीका मानिसले हार्ने वा जित्ने हो भन्ने मनोभावना कार्यकर्ता तथा नेताहरूमा हुनुपर्ने हो, त्यसो हुन सकेको देखिएन । निर्वाचन भनेको प्रजातान्त्रिक अभ्यास हो त्यसलाई सहर्ष स्वीकार गर्नसक्नु आपूm प्रजातान्त्रिक बन्नु हो भन्ने सोचाइ राख्न सक्नु बुसिद्धमत्तापूर्ण हो । नोपाली कांग्रेसका केही अधिवेशन र निर्वाचनहरूका साथै केन्द्रीय अधिवेशन हुन बाँकी नै रहेको हुँदा अब कस्तो वातावरण सिर्जना हुन्छ त्यो भविष्यले नै देखाउला । 

यसैगरी नेकपा एमालेको महाधिवेशनको तयारी सुरु भइसकेको छ । यसैका लागि नेताहरूको दौडधुप सुरु भएको छ । आपसी सहमति, गठबन्धन र उम्मेदवारी घोषणामा उहाँहरू लागि पर्नु भएको छ । पार्टीको आन्तरिक कहलको चरम प्रदर्शनपछि एमालेमा फुट पैदा भएर नेकपा माओवादी केन्द्र फेरि आफ्नै पूर्वअवस्थामा फर्किनु परेको छ । देख्नमा अदालतले फुटाइदिएको भए तापनि त्यहाँसम्म पुग्नुपर्ने कारण भने आपसी कलह नै थियो । यही कलहले अर्को एउटा फ्याक माधवकुमार नेपालको नेतृत्वमा नेकपा एमाले समाजवादी बन्न पुगेको छ । 

मूल पार्टीमा जो-जो रहनु भएको छ उहाँहरू अब अधिवेशनको माध्यमबाट नेतृत्वमा जाने कसरत गरिरहनु भएको छ । यस अधिवेशनले कमजोर भइरहेको पार्टीलार्ई बलियो बनाउन मद्धत पुग्ने कुरा स्वाभाविक हो । नेताहरूको सक्रियता यसैका लागि हो । नेतृत्वको चाहनालाई अन्यथा भन्न मिल्दैन । यस्तो अवस्थामा केही नेताहरूको अवस्था के हुने भन्ने प्रश्न उठिरहेको छ । माओवादीबाट एमाले बनेका नेताहरू केही असजिलो अवस्थामा हुनुहुन्छ भने पार्टीमा दोधारमा रहेका केही नेताहरू आफ्नो दह्रो आधारभूमि तयार गर्न नसकेर अलमलमा रहनुहोला कि भन्ने देखिएको छ । कतिले फटाफट आफ्नो उम्मेदवारी घोषणा गरिरहनु भएको छ । 

पार्टी सभापति केपी ओली स्वयं चाहिँ अध्यक्षमा उठ्ने कि नउठ्ने भन्ने निर्णय गरिसकेको छैन भनिरहनु भएको छ । सकेसम्म पार्टीमा एकता भएको देखाउनु उहाँहरूको कर्तव्य हो र त्यसै गरिरहनु भएको छ । तर, एमालेले एउटा कुरा के विचार गर्नुपर्छ भने पार्टीमा आपराधिक मनोवृत्तिका मानिसहरूको वर्चस्व र भूमिका भने रहनु हुँदैन । केही घोषित उम्मेदवारीबाट यस्तो देखिएको छ त्यस्तो वातावरण नहोस् भनेर सचेत हुनु पार्टीको शुद्धीकरणका लागि आवश्यक छ । 

Top