महाधिवेशनका ताता तरङ्ग

हिमालय टाइम्स   POSTED ON : मंसिर १२, २०७८ (८:३९ AM)

महाधिवेशनका ताता तरङ्ग

हाल नेपाली कांग्रेस र नेकपा एमालेका महाधिवेशन भइरहेका छन् । नेपाली कांग्रेसको संघबाहेक अन्य निकायका अधिवेशनहरू भइसकेका छन् । अब केन्द्रीय महाधिवेशनमा सधैं जसरी कुम्भ मेला लाग्छ भन्ने कुराका कुनै द्विविधा छैन । त्यसका लागि अब थोरै समयको प्रतीक्षा बाँकी छ । उता नेकपा एमालेको महाधिवेशन हाल सञ्चालन भइरहेको छ । उक्त पार्टीको दशौं महाधिवेशनमा चितवनको नारायणी नदी तटले रौनक फेरिरहेको छ । नारायणी पुलमा एमालेका कार्यकर्ताहरूको जुन प्रकारको भीड देखियो त्यसको अनेक खालका टीकाटिप्पणीहरू भइरहेका छन् । केपी ओली प्रधानमन्त्री भएका बेला बनेका कतिपय पुलहरू केही समयमै बिग्रिएका, भत्किएका तर उक्त पुल धेरै वर्ष पहिले बनेको भएर पनि हालसम्म टिकाउ रकेको मात्र होइन जस्ताको तस्तै रहेको र एमालेका त्यति धेरै कार्यकर्ताको भार थेग्न सकेको भनेर टिप्पणी भयो । 

त्यसरी पुलमा त्यति धेरै भार पर्नेगरी कार्यकर्ता जम्मा हुनुहुँदैनथ्यो, त्यसबाट कुनै दुर्घटना निम्तिन सक्थ्यो भन्नेहरू पनि भए । भीडका बीचमा बिरामी बोकेका एम्बुलेन्सहरू फसेको सन्दर्भ निश्चय आलोच्य हो । राजनीतिक परम्पराको निरन्तराता अनुसार कुनै एक पार्टीको महाधिवेशनमा अन्य पार्टीका नेताहरूलाई पनि निमन्त्रणा गर्ने गरिन्छ । एमालेले पनि अन्य पार्टीका नेताहरूलाई बोलायो तर केही महिनाअघि एमाले विभाजन गरी नेकपा एमाले समाजवादी दल दर्ता गरेको नेता माधवकुमार नेपाललाई बोलाएन । यो विषय सर्वत्र चर्चामा छ । यो नेकपा एमालेको सानो चित्त नै हो । बोलाएको भए पो माधव नेपाल जानुहुन्थ्यो वा जानुहुन्नथ्यो त्यसको परीक्षण हुन्थ्यो, त्यो हुन पाएन । 

उता अर्का नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भने निम्त्याएको भए पनि उहाँ जानुभएन । एमालेले चितवनमै महाधिवेशन गर्नु र प्रचण्ड नजानुका बीच कुनै त्यस्तो मनोवैज्ञानिक कारण छ कि भनेर खोतल्नेहरूका लागि भने निश्चय कारण भेटिन सक्छ । चितवन प्रचण्डको जिल्ला हो । त्यही ठाउँमा गएर आफ्नो राजनीतिक प्रभाव देखाउने चाहना एमालेको हुनसक्छ र त्यसको रोष र पार्टीमा पहिलेदेखि आएको विग्रहका कारण प्रचण्ड नजानु भएको हुनसक्छ । यसबाहेक अन्य पार्टीका नेताहरू भने नेकपा एमालेको महाधिवेशनमा जानुभयो र केहीले सफलताको शुभकामना सन्देश पठाउनुभयो । यो राजनीतिक संस्कार र त्यसको निरन्तरता हो ।

यसक्रममा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आपूm र नेकपा एमालेका अध्यक्ष केपी ओली जेलमेट भएको र आगामी पुस्ताले अब आफ्नो पुस्ताले गरेको जस्तो दुःख गर्नु नपरोस् भनेर आपूmहरू लागिरहेको बताउनुभएको थियो । ओलीले आगामी चुनावमा एमालेले बहुमत ल्याउनुपर्छ भन्नुभएको थियो भने सरकारले आपसी छलफल गरेर भारतले अतिक्रम गरिरकहेका भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउनुपर्छ भन्नुभएको थियो । नेताहरूको संकीर्णताका कारण एकता टुटेको धारणा माओवादीका नेता लीलामणि पोखरेलको थियो भने राप्रपाका अध्यक्ष कमल थापाले सिके राउत र नेत्रविक्रम चन्दलाई शान्तिमार्गमा ल्याएको र भारतले अतिक्रमण गरेको भूमि समेटेर नेपालको नक्सा बनाएकोमा ओलीको प्रशंसा गर्नुभएको थियो । 

राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले एकअर्कालाई खुइल्याउन बन्द गरौं भन्ने भावना व्यक्त गर्नुभयो । उपेन्द्र यादव र महन्त ठाकुरले भने महाधिवेशन सफलताका लागि शुभकामना दिनुभएको थियो । एमालेले एकातिर यो महाधिवेशनका माध्यमबाट शक्ति प्रदर्शन गर्न चाहेको विश्लेषण भइरहेको छ भने देशभरिबाट आएका कार्यकर्ताको संख्या जम्मा त्यति देखिनुलाई कतिले एमालेको साख खस्केको रूपमा विवेचचना गरेका छन् । जसले जसरी विश्लेषण गरून् त्यस्ता विश्लेषण आआफ्नै प्रकारका हुन सक्छन् तर एउटा कुरो चाहिँ के सही हो भने यस महाधिवेशनका माध्यमबाट नेकपा एमालले आफ्नो खस्केको साख उकास्ने प्रयास गरेको हो भन्ने चाहिँ सत्य हो ।

मारुती सिमेन्टको कर्तुत पढ्न तलको लिंक क्लिक गर्नुहोला ।

सरकार भन्छ– ‘मारुती सिमेन्ट कमसल छ प्रयोग नगर’

विभाग भन्छ- ‘हामीले सूक्ष्म अनुसन्धान गरिरहेका छौँ, कारबाही हुन्छ ढुक्क हुनुहोस्’

ठगी धन्दामा मारुती सिमेन्ट, गुणस्तरहीन भएको खुलासा

मारुती सिमेन्ट प्रकरणमा आर्थिक चलखेलको गन्ध

Top