लोकतन्त्रको सबलीकरण नेपाली कांग्रेसबाट मात्रै

हिमालय टाइम्स   POSTED ON : मंसिर १३, २०७८ (८:३१ AM)

लोकतन्त्रको सबलीकरण नेपाली कांग्रेसबाट मात्रै

हालको नेपालको राज्य प्रणाली संघीय लोकतान्त्रिक राज्य व्यवस्था हो । यो प्रणाली स्थापनाका लागि धेरै नेपालीले बलिदानी गरेका छन् । राणा शासन समाप्त भएपछि छोटो समय नेपाली कांग्रेसको नेतृत्वमा प्रजातान्त्रिक पद्धति सञ्चालन त भयो तर त्यसले लामो समय काम गर्न पाएन । त्यसपछि लागू भएको पञ्चायती व्यवस्थाले आपूmलाई देशको हावा, पानी र माटो सुहाउँदो प्रणाली भनेर दाबी गरेको थियो तर पञ्चायत अन्ततः असफल नै भयो । त्यसपछिको तीन दशकभन्दा बढी समयको प्रजातान्त्रिक अभ्यासको क्रममा सबैभन्दा बढी समय नेपाली कांग्रेस सत्तामै रहेको छ । समयले सत्ताबाहिर वा प्रमुख प्रतिपक्षमा पुर्‍याएको बेलामा पनि नेपाली कांग्रेसलाई सत्ता सम्हाल्नुपर्ने अवस्था सिर्जना भएको हुन्छ र हाल त्यही परिस्थिति खडा भएकाले कांग्रेसले सत्ताको नेतृत्व गर्न पाएको छ । 

नेपालमा अरूबाट सत्ता सञ्चालन हुन सक्दैन भन्ने कुरा केही वर्ष पहिलेदेखिको राज्य सञ्चालन शैलीले पुष्टि गरेको छ । हालै नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँडले बताउनुभएको सन्दर्भ पनि त्यही हो । नेपाली कांग्रेसको स्थापना भएको साढे सात दशक भइसको छ । यस अवधिमा नेपालमा धेरै पार्टी स्थापना भएर ती इतिहासबाट मेटिँदै पनि गएका छन् । इतिहास रच्न सकेको नेपाल प्रजापरिषद् जस्तो पार्टीको इतिहास धेरै लामो समयसम्म अघि बढ्न सकेन । उक्त पार्टीका नेता टंकप्रसाद आचार्य २०१३ सालमा प्रधानमन्त्री नबनेका भए त्यस पार्टीको इतिहास अझै कम चर्चामा रहने थियो । 

नेपाली कांग्रेस नै नेपालका सन्दर्भमा प्रजातन्त्रको संवाहक र सञ्चालन हो भन्दा अत्युक्ति हुने छैन । अरू पार्टीले जनतालाई आकर्षित गर्ने अनेक खालका नाराहरू बेला-बेलामा उरालेर उनीहरूले सिद्धान्त र व्यवहारमा एक रूपता कायम गर्न नसकेको देखिँदै आएकै छ । अझै कम्युनिष्टको नारा लगाएर नेपाली कांग्रेसपछिका ठूला पार्टीका रूपमा स्थापित हुनपुगेका पार्टीहरूको रवैया त न जनताका लागि हितकर देखिन्छ न त्यसले राष्ट्र सञ्चालन गर्ने सामथ्र्य राख्दछ । सबै एक बनी नेपाली कांग्रेसलाई एकातिर उभ्याएर हाम्रो पार्टी सबैभन्दा ठूलो भन्नेहरू हाल सूक्ष्मताउन्मुख बनिरहेका छन् । त्यो हालैको राजनीतिक परिदृश्यले प्रमाणित गरिरहेको छ । 

हाल नेकपा एमालेको केन्द्रीय महाधिवेशन चलिरहेको छ । एमाले सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने पार्टी हो तर त्यही पार्टीको महाधिवेशनमा करोडौं खर्च भइरहेको छ । त्यही पार्टीका नेताहरू अर्बपति छन् । कम्युनिष्ट पार्टीहरूका बीचमा टकराव आउँदा जनताको बलिदानीबाट आएको लोकतन्त्र कमजोर बन्न पुगेको छ । लोकतान्त्रिक गणतन्त्र नेपाली कांग्रेसको एजेण्डा थिएन तर माआवादी पार्टीले यसैको माग गर्दै गरेको विद्रोहबाट देशले निकै ठूलो क्षति व्यहोर्नुपरेको थियो । धन र जनको ठूला क्षति भएकाले यसलाई रोक्न नेपाली कांग्रेसले आफ्नो नीति नै परिवर्तन गरी गणतन्त्रलाई स्वीकार गरेर नेपाली कांग्रेस पार्टीकै पहलमा गणतन्त्र आएको थियो र लोकतन्त्रको स्थापनापछि लोकतान्त्रिक गणतन्त्र सुहाउँदो संविधान ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गरेको थियो । 

विदेशी शक्तिहरूले रोक्न खोज्दाखोज्दै नेपाली कांग्रेकै पहलमा यो संविधान आएको थियो तर त्यसको ६ वर्ष बित्न पाउँदा नपाउँदै यसको असफलताका संकेतहरू देखिन थालेका छन् । तिनका कारक कम्युनिष्ट पार्टीहरूकै व्यवहार हुन् । नाममा र काममा फरक व्यवहार भएकाले यस्तो भएको हो र कम्युनिष्ट पार्टी भने पनि गैरकम्युनिष्ट चरित्र देखाउने र भोगी विलासी जीवन व्यतीत गर्ने उनीहरूको शैली जसको चिनियाँ राष्ट्रपति सिबाट घुमाउरो गरी सम्पत्ति जम्मा गर्नेहरू कम्युनिष्ट हुनसक्दैनन् भनेर विरोध भएको थियो तिनै नेपाली कम्युनिष्टहरूका कारण लोकतन्त्र आलोचनाको अचानोमा पर्नुपरेको छ । त्यस कारण गृहमन्त्री खाँणले भन्नु भएझैं नेपालमा लोकतन्त्र बलियो बनाउने हो भने नेपाली कांग्रेस बलियो हुनैपर्छ । यो निर्विवाद तथ्य हो । 

Top