हारजितको लेखाजोखामा पार्टी

हिमालय टाइम्स   POSTED ON : मंसिर १४, २०७८ (८:११ AM)

हारजितको लेखाजोखामा पार्टी

राजनीतिशास्त्रले राज्यप्रणालीहरूको गुण र दोषहरूको विश्लेषण गर्ने गर्छ । आममानिसले भने जसरी राजनीतिशास्त्रको दलिल संसारमा प्रजातन्त्र नै सर्वोत्कृष्ट राज्यप्रणाली हो भन्ने रहँदैन । यस अर्थमा राजनीतिशास्त्र चाहिँ सुपरिवेक्षक जस्तोमात्र देखियो । यसले प्रजातन्त्र बिग्रियो भने भीडतन्त्रमा परिणत हुन्छ भनेको छ । हाम्रो देशमा प्रजातन्त्रको सुरुदेखि त्यस्तै भएको हो कि भन्ने देखिँदै आएको हो । अभ्यास र अनुभवको कमी भएकाले प्रारम्भिक चरणमा यो स्वाभाविक जस्तो लागेको हो तर अब यसको अभ्यासको तीन दशक पार भइसकेको अवस्थामा यसलाई स्वाभाविक मान्न सकिँदैन । हाम्रो देशमा पार्टी प्रणाली छ तर पार्टीहरूको ध्यान देशतर्फ कम र पार्टीप्रति बढी गइरहेको जस्तो सबैले ठानिरहेका छन् । निजी स्वार्थ त सबै पार्टीका सबै नेतामा हावी छँदै छ ।

यिनै दुर्गुणहरूले गर्दा राजनीतिशास्त्रको भनाइको सन्दर्भ यहाँ उद्धृत गर्नुपरेको हो । पार्टीहरू अर्कोभन्दा आफू ठूलो हुन चाहने, बलियो बन्न खोज्ने र सकेसम्म अर्को पार्टीलाई आफ्नोभन्दा कमजोर बनाउन चाहने संस्कार पार्टी र नेताहरूले सुरुदेखि विकसित गर्दै आएका हुन् । अहिले पनि यही संस्कारको विकासकै लागि तिनको सामथ्र्य खर्च हुनेगरेको छ । चाहे एमालेको नारायणी किनारको कुम्भमेलाको माध्यम होस् चाहे नेपाली कांग्रेसको जिल्ला अधिवेशन र प्रदेश अधिवेशनहरूको समाप्तिसम्म आइपुग्दाको अवस्थासम्ममा कति स्वाभाविक र कति अस्वाभाविकम तथा अस्वस्थ प्रतिस्पर्धा भए र परिणमा कसको पक्षमा आयो भनेर गरिएको लेखाजोखा नै किन नहोस् तीबाट त्यही कुरा देखिएको छ । 

नेपाली कांग्रेसमा चरम गुट हावी छ यो यथार्थ हो यसलाई सबैले स्वीकार्नै पर्ने हुन्छ । नत्र गुटको राजनीति नभएको भए कुन पक्षको कति संख्या आयो भनेर तौलिनुपर्ने आवश्यकता पर्ने थिएन । केन्द्रीय महाधिवेशनको मैदानमा यसको चरम प्रतिस्पर्धा देखिने बेला भएको छ, अब त्यो समय टाढा छैन । निकट भविष्यमा त्यसको परिणाम पाइने नै छ । शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्ण सिटौला, डा.शेखर कोइराला, डा.शशांक कोइराला, गगन थापाहरू नै हुनुहुन्छ केन्द्रीय तहमा र भोलिका लागि दाबी उहाँहरूकै हुने हो । त्यो दाबी अहिले देखिएकै छ । त्यसका लागि अस्वस्थ प्रतिस्पर्धा नहोस् भन्ने चाहनामात्र पार्टीका तल्लो तहका नेता कार्यकर्ताको हो । 

एमालेले हाल जसरी कुम्भ मेला लगाएर करोडौं खर्च गरिरहेको छ नेपाली कांग्रेसले कम्तीमा त्यसो नगरोस् । व्यानर, पम्प्लेटहरूको खर्च अनावश्यक नै हो । खाएको खर्चलाई भने बरु जायज मान्न सकिन्छ तर खानामा अनावश्यक मद्यपान जस्ता खर्च गरिनु जायज होइन । सामान्य तरिकाले जसरी प्रतिबन्धित कालमा पार्टीका अधिवेशनहरू हुनेगरेका थिए त्यही रूपमा अहिले पनि गर्न सकिन्छ । राजसी ठाँटका साथ आकाशबाट हेलिकप्टरबाट पुष्पवृष्टि गर्नेजस्ता कार्य वा शैली आवश्यक छैनन् कि त्यतातिर पार्टीले सोच्नु आवश्यक छ । अर्को कुरा पार्टीहरू यसरी जुन रूपमा आन्तरिक विभाजनको रेखा कोरी विभिन्न खेमामा वर्गीकृत हुने प्रयास गरिरहेका छन् त्यसले गर्दा आफ्नै पार्टीभित्र भन्दा बरू अर्को पार्टीसँग हातेमालो गर्ने क्रममा रहेको पुष्टि हुन्छ । 

यही व्यवहारले गर्दा नै हो पार्टीहरू विभाजन हुने कार्य । यो सबै पार्टीको रोग हो रोग सामान्य होइन यो निकै ठूलो महामारी नै भन्ने देखिँदै आएको छ । आफ्ना पार्टीका अन्य नेताहरूको प्रशंसा गर्न कोही चाहँदैनन् अर्को पार्टीका नेताहरूलाई उहाँ त यस्तो ठूलो नेता भनेर प्रशंसाले फुलाइरहेका हुन्छन् । त्यसैले अहिलेको अधिवेशनको हार र जितमा जसले हारे पनि वा जिते पनि त्यो आफ्नै पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाका रूपमा त्यसलाई स्वीकार गर्न सकिरहेको छैनन् र मेरो पक्षमा यति र उसको पक्षमा यति भनेर तौलिने काम भइरहेको छ जसले गर्दा पार्टी सबल बन्नमा बाधा पुगिरहेको कि जस्तो देखिएको छ । 


Top