राप्रपाको महाधिवेशन र कम्युनिष्टहरूको धारणा

हिमालय टाइम्स   POSTED ON : मंसिर १७, २०७८ (७:४२ AM)

राप्रपाको महाधिवेशन र कम्युनिष्टहरूको धारणा

हाल केही ठूला राजनीतिक पार्टीहरूको महाधिवेशन भइरहेका छन् । कसैका सकिए कसैका भइरहेका छन् र कसैका हुने क्रममा छन् । नेकपा एमालेको भर्खरै सकियो । राष्ट्रिय प्रजातन्त्र पार्टीको भइरहेको छ र नेपाली कांग्रेसको केही समयअघिदेखि वडा, क्षेत्र, जिल्ला हुँदै प्रदेशको हुनेक्रम जारी छ । केन्द्रीय महाअधिवेशन अब निकट भविष्यमै हुन लागिरहेको छ । माओवादी शान्ति प्रक्रियामा आएपछि सबै पार्टीका अधिवेशन भएका थिए । त्यसपछि संविधान बनाउन र आमनिर्वाचन गर्न सबैको ध्यान केन्द्रित भयो । त्यो कामलाई तिनले पूर्णता दिए तर आफ्नै पार्टीको अधिवेशनतिर ध्यान दिएनन् । अहिले कानुनी संकटको अवस्था सिर्जना हुन लागेपछि सबै पार्टी महाधिवेशनतर्फ लागेका हुन् । जारी रहेको राप्रपाको अधिवेशनमा अन्य पार्टीका धेरै नेताहरूले आआफ्नो धारणा राख्नुभएको छ । 

उहाँहरूले राखेको धारणाबाट राजतन्त्रको आवश्यकता छ भन्ने सन्देश प्रवाह गर्न चाहेको जस्तो देखिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी त आफैंमा राजतन्त्रको पक्षकै पार्टी हो । नेपाली कांग्रेस पनि सिद्धान्ततः राजतन्त्रवादी पार्टी नै हो । माओवादीहरूको सशस्त्र विद्रोहले चरम रूप लिएपछि जसरी भए पनि त्यसलाई शान्ति प्रक्रियामा ल्याउनुपर्ने आवश्यकता थियो भने अर्कातिर तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र राजा ज्ञानेन्द्रका बीच केही वादविवाद र असहमति पैदा भएपछि सभापति कोइरालाले राजतन्त्रको बाटो परिवर्तन गरी गणतन्त्रको पक्षमा पार्टीलाई लैजानुभएको हो भनिन्छ । 

अहिले पनि पार्टीका कतिपय नेताहरूले अनौपचारिक रूपमा राजतन्त्रका पक्षमा आफ्ना विचार राख्दै आउनुभएको पाइन्छ । तर मूल रूपमा राजतन्त्र फाले र गणतन्त्र स्थापना गर्नुपर्छ भन्ने माग नेकपा माओवादीको हो । अरू कम्युनिष्टहरूको पनि साध्य त्यही हो । उहाँहरू जनगणतन्त्रसम्म पुग्ने साध्यका लागि प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रहरू साधनमात्र हुन् भन्दै आइरहनु भएको थियो । तर, हालका दिनहरूमा उहाँहरू सबैको बोली फेरिँदै गएको छ । राजा ज्ञानेन्द्रको मौनता, भद्रताले र दलहरूका कारण बढेको भ्रष्टाचार तथा बेथितिले जनता आजित छन् । हाल एमाले राजतन्त्रको आवश्यकताको छनक दिन थालेको छ । यसैगरी अरू कम्युनिष्ट पार्टीका नेताहरूले पनि यस्तै भाषा र संकेत देखाउन थालेका छन् । 

राप्रपाका नेता कमल थापाले सडकबाटै राजा फर्काउछौं भनिरहेका बेला नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रियताका सवालमा राप्रपा र माओवादीको धारणा समान छ भन्नुभएको छ । उहाँले केही पहिलेदेखि नै राजतन्त्रको पक्षमा बोल्ने गर्नुभएको थियो । त्यसो हो भने उहाँहरूका पूर्वकार्यहरूमा उहाँको उक्त विचार पश्चातापका रूपमा आइरहेको हो कि ? नेकपा मालेका अध्यक्ष सिपी मैनालीले पनि राजा महेन्द्रको खुलेरै प्रशंसा गर्नुभएको छ । बरु माधव नेपालले परिवर्तनको गतिलाई नरोक्न राप्रपालाई सल्लाह दिनुभएको छ । नेताहरूका यस्ता जे–जस्ता धारणा बाहिर आएका भए पनि राप्रपाको यो अधिवेशन निकै रोचक किसिमले अगाडि बढिरहेको छ । 

पुरानो पुस्ताका नेताहरू अब वरिष्ठ नेता भएरै बस्न चाहनु भएको जस्तो देखिएको छ । दोस्रो पुस्ताका कमल थापा र तेस्रो पुस्ताका राजेन्द्र लेङ्देनका बीच पार्टीमा प्रतिस्पर्धा हुने देखिएको छ । लिङ्देनका केही धारणाहरू एकदम स्पष्ट देखिएका छन् । भोलि विजय–पराजय कसको पक्षमा होला त्यो फरक कुरा हो तर लिङ्देनले थापासँग प्रतिस्पर्धा गर्न चाहनुमात्र पनि पार्टीभित्रको आन्तरिक प्रजातन्त्र पुष्टि हुनजान्छ । आरक्षणलगायत केही एजेण्डा उहाँका एकदम स्पष्ट छन् । त्यस्ता एजेण्डाका कारणले मात्र पनि लिङ्देनलाई अघि बढाइरहेको छ । यो सकारात्मक कुरा हो तर परिणाम हेर्न चाहिँ पर्खिनै पर्नेहुन्छ । 

Top