आआफ्नो सुरक्षा सबैको दायित्व

हिमालय टाइम्स   POSTED ON : मंसिर १९, २०७८ (७:५७ AM)

आआफ्नो सुरक्षा सबैको दायित्व

मानिसको जीवन पलपलमा असुरक्षित छ । आन्तरिक र बाहृय दुवै दृष्टिले जीवन जहिल्यै संकटमै छ । त्यसैले भन्ने गरिएको होला मानव जीवन पानीको फोका जस्तै हो भनेर । अर्को अर्थमा मानिसको जीवन बलिरहेको बत्ती जस्तै हो, जो हावाको एउटा सानो झोक्कामा मात्रै पनि निभ्न सक्छ । मानव जीवन त्यस्तै हो, उसले पाइला-पाइलामा सतर्कतापूर्वक अगाडि बढ्नुपर्ने हुन्छ । पुराना जमानाका मानिसहरूलाई यस्ता अनेकौं व्याधिले सताएकै थिए । मृत्यु मानिसको नियन्त्रणभन्दा बाहिरको कुरा हो । नियन्त्रण गर्न सम्भव भएका जतिमात्र नियन्त्रण भए होलान्, नत्र सम्भवपूर्ण मानिसको नियन्त्रण प्रयासमात्र हो भन्न सकिन्छ । प्लेग, हैजा, बिफर अनेकौ महामारी मानिसले सामना गर्दै आएको छ । 

एकताका दुई तिहाइ मानिस महामारीको चपेटामा परेर बाँकी एक तिहाइको फैलावट हो, हालको विश्वको जनसंख्या । बडर््फ्यु स्वाइनफ्युहरू विश्वव्यापी बनेनन् र यति त्रासदीका पर्याय बनेनन् । आतंकको सन्त्रास सन्त्रासमै समाप्त भए तर कोरोना भने यस समयको सबैभन्दा बढी त्रास फैलाउन सफल भएको र झम्टा मारीमारी फैलिरहेको छ । पहिले प्रहर आयो र मत्थर भयो अनि दोस्रो लहर आयो पहिलाभन्दा बढी उपद्रो मच्चायो । अहिले हावापछिको शान्त वातावारण जस्तो अवस्थाका हामी छौं तर रोकिएको हुन्डरीको अर्को लहर केही बेरपछि फेरि आइहाल्छ । त्यस्तै अवस्था छ, अहिले कोरोनाको तेस्रो लहर आइसकेको बताइएको छ । 

पहिलो लहरभन्दा दोस्रो लहरले बढी बिगार गरेको देखेपछि दोस्रोभन्दा तेस्रोले अझै बढी बिगार गर्छ भन्ने अनुमान गर्न गाह्रो छैन । ‘आगलागीपछि कुवा खन्न थाल्ने’ भन्ने उखानलाई चरितार्थ हुन हामीले दिनु हुँदैन कोरोनाको तेस्रो भेरियन्ट आउँछ भनेर अहिलेदेखि सावधानी अपनाउनुपर्ने हुन्छ । कोरोनाको प्रभाव हाल शून्य भइसकेको छैन । प्रत्येक दिन दुई सयभन्दा बढी कोरोनाका संक्रमित फेला परिरहेकै छन् । 

मर्नेहरूको संख्या एक-दुईजना प्रतिदिन रहेकै छ तर मानिसहरूले यसलाई सामान्य मानिरहेका छन् र अझै भन्ने नै हो भने त हामीले बजार घुम्दा वा आफ्ना दैनिक काममा जाँदा कत्ति सावधानी नअपनाएका कारण कोरोनाको प्रभाव शून्य भएको जस्तो ठानिरहेका छौं कि जस्तो देखिन्छ । हाम्रो यस्तै असावधानी रहिरहने हो भने तेस्रो भेरियन्ट नेपाल प्रवेश गरेको छोटो समयमै संक्रमण डढेलाको ज्वाला फैलिए सरी फैलिन्छ, धेरै मानिसको जीवन क्षति हुनसक्छ । त्यसका लागि सरकार सँगसँगै नागरिकहरूले पनि सावधानी अपनाउँनै पर्छ । 

अर्कातिर हाल जाडो महिनाको सुरुवात भइसकेको छ । लाग्दो जाडो पनि पुसको अन्त्य र माघ महिनाको बीचसम्मभन्दा बढी घातक हुन्छ । मध्यजोडोसम्म मानिसको शरीर जाडोसँग अभ्यस्त भइसको हुन्छ तर सुरुमा शरीरले चिसाको सामना गर्न सक्दैन । बाहिरी वातावरण चिसिँदै गएसँगै मानिसलाई दम, ब्रोंकाइटिष्ट, निमोनिया, बाथ, कोल्ड डाइरिया जस्ता रोगले सताउनेगर्छ । दीर्घरोगीहरूले त अझै बढी सावधानी अपनाउनुपर्छ, साथै दीर्घरोग नभएका मानिसलाई पनि सिजनल बिरामले चाप्ने भएकाले सबैले सावधान हुनैपर्छ । बालबालिका र बुढाबुढीहरूका लागि चिसो समय कष्टकर बन्ने गर्छ । त्यसैले उनीहरूको रेखरेख गर्नेहरूले निकै सचेत भएर रोगका प्रकार र अवस्थानुसार सेवा गर्नुपर्ने हुन्छ । 

यस वर्षको बालाचतुर्दशीका दिन सिमसिम पानी पर्‍यो । धार्मिक आस्थाका आधारमा हेर्दा यस्ता पर्वहरूका दिन पानी पर्छ भनिन्छ तर पानी पर्ने जे कारण भए पनि उक्त दिन पानी पर्‍यो । यसले गर्दा चिसो हृवात्तै बढेको छ । चिसो बढ्नु भनेको रोगी बिरामीका लागि कष्ट बढ्नु हो । त्यसैले सावधानीका साथ न्याना लुगाहरू लगाएर, ताता खानेकुरा खाएर र न्यानो कोठामा बसेर यसको सामना गर्न सकिन्छ । तर, यसो भन्दैमा आगो बालेर कोठा गुम्स्याएर सुत्नाले आगलागी हुने र निसासिएर मानिसको ज्यान जाने गरेका जस्ता अनगिन्ति घटना भएको पाइरहेको छ, यसतर्फ सचेत बन्नु आवश्यक छ । 

Top