अपेक्षा उज्यालो देशको

हिमालय टाइम्स   POSTED ON : मंसिर २०, २०७८ (७:१९ AM)

अपेक्षा उज्यालो देशको

देशको विकास सरकारको दायित्व हो । यो निरन्तरको प्रक्रिया हो । सरकार जहिलेको होस् वा जुनसुकै पार्टीको होस् त्यसको प्राथमिकता देशको विकास हो र हुनुपर्छ । सरकार भनेको एक वा दुईजना मानिस होइनन् सरकार भनेको त सरकारमा रहेका विभिन्न मानिस वा यसका सदस्यहरूको समूह हो । समूहका सबै सदस्यमा इमानदारीता हुनु आवश्यक छ । नैतिकवान व्यक्तिमात्र सरकारमा रहने हो भने देशको विकास असम्भव छैन । यही क्रममा विकासका विभिन्न अवयवमध्ये यातायात, शिक्षा, खानेपानी सिँचाइ, विद्युत् आदि पर्दछन् । यहीमध्येकै हो विद्युत् पनि । देशको समान विकास सकेसम्म आवश्यक हो तर स्थानीय आवश्यकता र मागबमोजिम त्यस ठाउँको विकास आवश्यक छ । 

यही क्रममा विद्युतीकरण उत्तिकै आवश्यकता छ । देशको कतियप ठाउँ अझै अँध्यारै छन्, यस आशयका समाचार प्रकाशित भइरहेका छन् । देशको विकास भनेको उज्यालो देश हो, यसको सबैभन्दा बढी आवश्यकता छ । जहाँ बिजुली छैन त्यहाँ एक प्रकारले केही पनि छैन । विद्युत् शक्ति नै यस्तो शक्ति हो जसले अन्य शक्तिलाई सञ्चालन गर्नेगर्छ । बिजुली पानी, पेट्रोलियम पदार्थ तथा अन्य केही शक्तिबाट उत्पादन हुन्छ । तर, मूलरूपमा जलविद्युत्को उत्पादन तथा उपयोग बढी हुने गरेको छ । अरू देशहरूको कुरा जे भए पनि नेपालको हकमा यस्तो भइरहेको पाइन्छ । नेपाल जलस्रोतको देश भनेर मानिए अनुसार त्यस अनुपातमा देशमा विद्युतीकरण हुनसकेको छैन र कतिपय ठाउँ अझै अँध्यारै छन् । 

भन्ने बित्तिकै एकैपटक सबै कुरा हुने होइनन् तर क्रमिक रूपमा देशैभरि विद्युतीकरण हुँदै जानुपर्छ । उज्यालाका नायक कुलमान घिसिङले यसका लागि गरेको प्रयास प्रशंसनीय छ । उहाँको पहिलो कार्यकालको सफलता देखेरै आमनागरिकले उहाँको पुनर्नियुक्तिका लागि चाहना गरेका थिए, उहाँको माग पनि गरेका थिए तर पूर्ववर्ती ओली सरकारले उहाँलाई पुनर्नियुक्ति गर्न चाहेन । राम्रो मानिसभन्दा हाम्रो मानिसको खोजी हुने गरेका कारण यस्तो अवस्था आएको हो भन्ने सबैलाई थाहा भएकै कुरा हो । दिनमा १८ घण्टासम्म लोडसेडिङको मारमा परेका नेपाली जनताले एकाएक मुक्ति पाए । यो जादुको शैलीमै भएको थियो र यसअघिको अँध्यारो अवस्था चलखेकै कारणले सिर्जना भएको रहेछ भन्ने थाहा भयो । 

कुलमानको पहिलो कार्यकाल सकिनासाथ उहाँको पुनर्नियुक्ति हुन्छ भन्ने सबैलाई लागिरहेकै बेला बाहिरिनुपरेको थियो । तर, त्यसको केही समयपछि सरकार आफैं बाहिरियो र वर्तमान सरकारले जनताको आवाजको कदर गर्दै उहाँलाई पुनर्नियुक्ति गरेको छ । यो सबैको चाहनानुसारको कार्य भएका कारण यसमा कसैले कुनै प्रकारको सिकाइत गर्नु परेन । पूर्वसरकारका केही सीमित समर्थकले मात्र यसको विरोध गरेका थिए तर उनीहरूको क्षीण आवाज हावामै हराएर गएको छ । यसका लागि वर्तमान सरकारको प्रशंसा गर्नैपर्छ तर यसो भन्दैमा सरकारको र सरकारका विभिन्न निकायको जिम्ेवारी पूरा भएको छ भन्ने होइन । जिम्मेवारी त अझै बढेको छ । 

देशको कुनाकन्दराका नागरिकहरू अझै अन्धकारमै छन् । उनीहरूलाई सधैं अन्धकारमा राखिराख्नु हुँदैन भन्ने भावना सरकारले लिनुपर्छ । उनीहरू पनि देशका नागरिक हुन् । उनीहरूको पनि अरू सरह राज्यले उपलब्ध गराएको सेवासुविधाको प्रयोग गर्ने अधिकार छ । त्यसैले सबैतिर एकै पटक नहोला, एकसमान किसिमले गर्न सकिँदैन होला तर क्रमिक रूपमा सबैतिर सेवासुविधाको विस्तार गर्दै जानु आवश्यक छ । उनीहरूका लागि केन्द्रीय प्रशारणसँग सम्बन्ध गराएर सेवा प्रदान गर्न सकिँदैन भने स्थानीय रूपमै जे-जस्तो प्रयासबाट सोही प्रकारको सेवा दिनुपर्ने हुन्छ । त्यसो गर्न सके भोलिका दिनमा कुनै निश्चित स्थानको नाम उल्लेख गरेर यस ठाउँका मानिसहरू यस्तो प्रकारको सेवा र सुविधाको उपभोग गर्नबाट वञ्चित हुनुपरेको छ भन्नुपर्ने अवस्था आउने थिएन । 

Top