कोरोना संक्रमणदरको वृद्धि र सावधानी

हिमालय टाइम्स   POSTED ON : पुष २८, २०७८ (८:२२ AM)

कोरोना संक्रमणदरको वृद्धि र सावधानी

आजका दिनसम्म आइपुग्दा कोरोनाको संक्रमण वृद्धिदर १२ प्रतिशतभन्दा बढी भइसकेको छ । प्रतिदिन सयभन्दा तल पुगेको कोरोनाको वृद्धिदर अचानक बढेकाले अब फेरि जनमानस आत्तिन पुगेको छ । मृत्युदर शून्यमा झरिसकेको अवस्थामा अहिले कोरोनाकै कारण केही मानिसको मृत्यु हुनथालेको छ । केही महिना मत्थर हुँदै फेरि बल्झिँदै गर्ने कोरोनाबाट संसार नै दिक्क छ तर केही मुलुकले यसलाई नियन्त्रण गर्न सकेका छन् र ती देशहरूमा यसको संक्रमण कम पाइएको छ । विशेषगरी युरोपका विभिन्न मुलुक, अमेरिका, दक्षिण अमेरिकाका केही देशमा संक्रमण तीव्र रूपमा फैलिँदै गएको छ । 

एशियामा पनि कोरोना फैलिरहेकै छ, त्यसको सबैभन्दा बढी संक्रमण गति भारतमा छ । भारत एशियाकै चीनपछिको बढी जनसंख्या र क्षेत्रफल भएको देश हो । नेपालको भारतसँग भौगोलिक निकटता छ तथा आर्थिक सामाजिक राजनीतिक, सांस्कृतिक सम्बन्धका आधारमा निकटको सम्बन्ध छ । नेपाल-भारतका बीच खुला सिमाना छ । नेपाललाई भारतले तीनतिरबाट घेरेको छ । दर्जनौं ठाउँमा सिमानाका छन् । ती नाकाबाट मानिसको दोहोरीलत्त आवागमन भइरहन्छ । आउजाउ हुने नागरिकबाट कोरोना संक्रमण फैलिन सघाउ पुग्ने गरेकको तथ्य विगतबाट पुष्टि भइसकेको छ । 

सरकारले यो कुरा थाहा नपाएको होइन तर त्यसमा रोक लगाउन सकेको छैन । जहिल्यै यस्ता कुरामा ढिलो गरेर सरकारले निर्णय गर्ने गरेको छ, त्यसो हुनाले नकारात्मक परिणाम फैलिइसकेको हुन्छ । नेपाल फर्किन चाहने नेपालीले सिमानाकामा अलपत्र पर्नुपरेको विगत हेर्दा मानवीय संवेदनाले सबै मानिस आद्र बन्न पुग्नु परेको थियो । अब यस्ता घटना नहुन् भन्ने सबैको चाहना छ, त्यस्ता अलपत्र पर्नेमा आफ्नै मानिस रहेछन् भने तिनको हृदय द्रवीभूत बन्नु स्वाभाविक हुन्छ । भारतमा ओमिक्रोन फैलिनुभन्दा पहिलेदेखि नेपालमा सतर्कता अपनाउनु पथ्र्यो तर त्यसो नगर्नाले दोस्रो भेरियन्टको फैलावट तीव्र भइरहेको छ । तेस्रो वा नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमितको संख्या दुई दर्जनभन्दा बढी पाइएकाले अबको अवस्था के हुने भन्न नसकिनेछ । 

धेरै मानिसले खोप लगाए अब पहिलेको जस्तो अवस्था नहोला कि भन्ने पनि छ तर खोप सबैले पाएका छैनन् । पहिले १८ वर्षभन्दा मुनिका लागि सरकारले खोपको व्यवस्था गरेको थिएन, हाल १२ वर्षदेखि १८ वर्षसम्मका किशोर–किशोरीलाई खोप लगाइरहेको छ । कोरोनाले १८ वर्षभन्दा मुनिका बालबालिलिका र किशोर–किशोरीमा मानवीय क्षति पुर्‍याएको पनि थिएन । अबको भेरियन्टले ककसलाई कस्तो-कस्तो प्रकारको हानी गर्ने हो भन्ने देखिइसकेको छैन तर अब तिनीहरूका लागि खोप आयो भनिएको हुनाले तिनलाई छिट्टै खोप लगाएर सुरक्षित गर्न सके भयग्रस्त अवस्था हट्ने थियो । पहिले खोप लगाएकाहरूका लागि पुनः बुष्टर खोपको व्यवस्था छ भनिएको छ त्यो सर्वसुलभ हुनु आवश्यक छ । 

अब माघ १५ गतेसम्म शिक्षण संस्था बन्द गर्ने भनेर सिसिएमसीले निर्णय गरेको छ । सिसिएमसीको निर्णयलाई केहीले एकाग्रही र विद्यालयलाई मात्र लक्षित गरेर गरिएको निर्णय ठानेका छन् । तर, विद्यालयमा खोप नलगाएका १८ वर्षभन्दा मुनिका व्यक्ति जम्मा हुने ठाउँ भएकाले यस्तो निर्णय गरिएको हुनसक्छ । अन्यत्र २५ जनाभन्दा बढीको संख्यामा भीडभाड हुनेगरी जम्मा नहुन सिसिएमसीले सिफारिश गरेको छ । ओमिक्रोन एकदमै चाँडो फैलिइरहेको यससम्बन्धी विज्ञले बताइरहेका छन् । संक्रमण फैलिनुमा दलहरू दोषी छन् भनेर आरोप लगाउने छन् र तिनको आरोपमा सत्यता नभएको होइन । 

बेलामा निर्णय नगर्ने, कोरोनाको संक्रमणकै बेला धेरै मानिसको भेला गराएर महाधिवेशन गर्ने गरेकाले कोरोना फैलिएको तर्क उनीहरूको छ । अब आरोप र प्रत्यारोपभन्दा सतर्कता तथा समाधान चाहिएको छ । सरकारले राम्रो तयारी र व्यवस्थापन सकेसम्म छिटो मिलाउनुपर्छ भने नागरिक सचेत हुनुपर्छ । विभिन्न स्वास्थ्यकेन्द्र र अस्पतालले समयमै आवश्यक तयारी गर्नु त्यत्तिकै आवश्यक छ । 

Top