राष्ट्रपति र पूर्वराजाका कदम प्रशंसनीय

हिमालय टाइम्स   POSTED ON : पुष २९, २०७८ (९:२२ AM)

राष्ट्रपति र पूर्वराजाका कदम प्रशंसनीय

अस्ति पुस २७ गते नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइयो । यसरी मानाउनेहरू विभिन्न संघसंस्था र केही राजनीतिक पार्टी रहेका थिए । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र जस्ता राजनीतिक पार्टीहरूले राष्ट्र निर्माताको जन्मजयन्ती मनाउने चाहना गरेनन् । पृथ्वीनारायण शाह पूर्वराजा ज्ञानेन्द्रका पूर्वज त हुन् तर उनी राजामात्र थिएनन्, उनी गोरखाका राजा थिए, नेपाल राष्ट्रको एकीकरण उनैले गरेका थिए । त्यसकारण उनलाई नेपाल राष्ट्रका निर्माताका रूपमा सम्झनु हामी नेपालीको कर्तव्य हुन आउँछ । उनले एकीकरण नगरेको भए अहिले नेपाल राष्ट्र हुन्थ्यो वा हुँदैनथ्यो त्यो किटान गरेर भन्न सकिँदैन । नेपाल भनेर चिनिने काठमाडौं उपत्यका राज्यको हालसम्म निरन्तरता भइरहेको भए नेपाल भनेर त्यत्तिमात्रै चिनिन्थ्यो ।

त्यसबाहिरको परिधिमा भएका हामी अरू नेपाली बन्न सक्ने थिएनौं र कुनै सानो भुरे टाकुरे राज्यका रैतीका रूपमा हाम्रो चिनारी सीमित हुने थियो । यही कुरालाई हामीले बुझ्न नसकेका हौं । नेपालबाट राजतन्त्र हटेर गणतन्त्र नेपाल भएको छ । यसो भन्नुको तात्पर्य अब नेपालमा राजतन्त्र छैन र यहाँ राजा छैनन् । अन्त्यमा राजदरबार हत्याकाण्डपछि वंशानुगत रूपका राजा वीरेन्द्रसहित उनका परिवार सबैको हत्या भएको थियो । त्यसपछि वीरेन्द्रका माहिला भाइ ज्ञानेन्द्र राजा हुनुभयो । उहाँ राजा भएपछि निरंकुशतातर्फ उन्मुख बन्दै जानुभयो । राज्य प्रणाली र राजनीतिक दलहरूसँग मिलेर शासन गर्न चाहनुभएन । त्यसकारण राजनीतिक पार्टीहरूको साथ सहयोग उहाँलाई प्राप्त भएन, उहाँको निरंकुशताविरुद्ध आन्दोलन भयो अनि उहाँलाई मात्र होइन, राजतन्त्रसमेत हटाइयो । 

उहाँलाई गर्ने कारबाही यति भए पुग्थ्यो तर राजनीतिक पार्टीहरू पनि उहाँका विरुद्ध यति आक्रामक भए कि राजा, रानी र राजपरिवारका अन्य सदस्यको नाम तथा ‘राजकीय’, ‘शाही’जस्ता शब्दको प्रयोग सबै ठाउँबाट मेटाउँदै गए । हटाइएका राजा ज्ञानेन्द्रले उहाँलाई हटाएको यति लामो समय बितिसक्दासम्म कुनै राजनीतिक गतिविधि देखाउनुभएको छैन । कतै-कतै प्राकृतिक प्रकोपमा परेकालाई राहत वितरण र कतै कुनै धार्मिक कार्यमा संलग्नता देखाउँदैमात्र आउनु भएको छ । यस पटक उहाँले आफ्ना पूर्वज पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको छ । 

यसलाई भने अस्वाभाविक मान्न सकिँदैन । एमालेका तत्कालीन नेता मोदनाथ प्रश्रितले आफ्नो पार्टीको आधिकारिक निर्णय नहुँदा-नहुँँदै पृथ्वीनारायणको पक्षमा आफ्नो विचार राख्दै आउनुभयो र एक्लै गएर प्रत्येक वर्ष पुस २७ गते उनको सालिकमा माल्यार्पण गर्नुभयो । पछि उहाँले राजनीतिबाटै सन्यास लिनुभयो । पृथ्वीनारायण शाह र उनका उत्तराधिकारीहरूको विरोध गर्नुलाई मात्र राष्ट्रवादी भावना भन्नु कत्तिको उपयुक्त हो भन्ने सोच्नुपर्ने बेला हो । यसपटक पूर्वराजाले पृथ्वीनारायणको शालिकमा माल्यार्पण गर्नुभयो भन्ने समाचार त्यत्ति आश्चर्यको होइन । माथि नै भनियो उहाँ नृथ्वीनारायणकै सन्तति हुनुहुन्छ तर यसका साथै नेपालको राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले पनि पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नु भएको छ । 

त्यसलाई भने महत्वका साथ हेरिनुपर्छ । उहाँ कुनै क्रियाकलापमा संलग्न हुनुभनेको सरकारको संलग्नता मानिन्छ । सरकार आपूm भने त्यसमा संलग्न छैन, यस अर्थमा यो राष्ट्रपतिको व्यक्तिगत संलग्नता हो कि भन्ने देखिएको छ तर उहाँको संलग्नता व्यक्तिगत हुनै सक्दैन । उहाँले पृथ्वीनारायण शाहका नीति आज उत्तिकै मननीय छन् भन्नुभएको छ । यसरी पृथ्वीनारायण शाहलाई असल देख्दादेख्दै उनको सम्मान गर्नबाट पछि हट्नुको रहस्य चाहिँ के हो बुझ्न सकिएको छैन । 

सरकारले पुस २७ गते सार्वजनिक बिदा देला भन्ने धेरैको अपेक्षा थियो । यो सरकार लोकप्रिय हुने एउटा अवसर गुमायो भन्ने प्रतिक्रिया आइरहेका छन् । यो अवसर सरकारले अर्को सरकारका लागि छोडेको छ भन्ने देखियो । केही पार्टीहरूले र धेरै संघसंस्थाले त्यसको माग गरेका थिए तर सरकारले आँट गरेन । जे होस् राष्ट्रकै सर्वोच्च निकाय वा राष्ट्र प्रमुखको भनाइसहितको उहाँको कार्यात्मक संलग्ताले पृथ्वीनारायणप्रति सम्मान भएको छ । यो प्रशंसनीय छ । 

Top