4th August | 2020 | Tuesday | 8:18:41 AM

भारत सातौं पटक च्याम्पियन

एजेन्सी   POSTED ON : आश्विन १, २०७६ (९:५८ AM)

भारत सातौं पटक च्याम्पियन

कोलोम्बो । बंगलादेशलाई ५ रनले पराजित गर्दै भारतले सातौं पटक यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ । श्रीलंकाको कोलम्बोमा शनिबार सम्पन्न रोमाञ्चक फाइनलमा बंगलादेशलाई पराजित गर्दै २०१९ को संस्करणको उपाधि पनि भारतले जितेको हो । बिहीबारका लागि तय भएका सेमिफाइन वर्षाले अवरुद्ध भएपछि भारत र बंगलादेश समूह विजेताको रुपमा फाइनलमा पुगेका हुन् । वर्षाले खेल नभएपछि समूहका उपविजेता रहेका श्रीलंका र अफगानिस्तानले भने सेमिफाइनल नै खेल्न पाएनन् ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतका तीन खेलाडीले मात्रै दोहोरो अंक बनाउन सके । सोही कारण भारत ३२ ओभर ४ बलमा अलआउट हुँदै १०६ रनमा समेटिएको थियो । भारतका लागि करण लालले सर्वाधिक ३७ तथा कप्तान कप्तान ध्रुव जुरेलले ३३ तथा साश्वत रावतले १३ रन जोडे । बंगलादेशका मृतुनजोय चौधरी र सामिम होसेनले ३र३ विकेट लिए ।

भारतले दिएको १ सय ७ रनको सामान्य लक्ष्य पछ्याएको बंगलादेश ३३ ओभरमा अलआउट हुँदै १ सय १ रनमै समेटियो । बंगलादेशका लागि कप्तान अकबर अलीले २३ रन जोडे । यस्तै मृतुनजोय चौधरीले २१ तथा तान्जिम हसन सकिबले १२ रन बनाए ।

भारतका अथर्भा अन्कोलेकारले ५ विकेट लिएपछि बंगलादेशले सुरुवाति ६ खेलाडी ५१ रनमै गुमाएको थियो । अथर्भाले ८ ओभर बलिङ गर्दै २ ओभर मेडन राखे । यस्तै आकाश सिंहले ३ विकेट लिए । नेपाल भने यस एसिया कपको समूह चरणबाटै बाहिरिएको थियो । समूह बीमा रहेको नेपाल श्रीलंका र बंगलादेशसँग लगातार पराजित हुँदै बाहिरिएको हो । नेपालले समूहको अन्तिम खेलमा युएईमाथि सान्त्वना जित हात पारेको थियो । 


Views: 145