3rd August | 2020 | Monday | 6:34:42 PM

पुनरागमन गर्ने विश्वास

हिमालय टाइम्स   POSTED ON : मंसिर ३, २०७६ (१०:०७ AM)

पुनरागमन गर्ने विश्वास

काठमाडौं । फिफा विश्वकप–२०२२ र एसियन च्याम्पियनसिप २०२३ अन्तर्गतको पहिलो होम खेल नेपालले तटस्थ स्थानरूपमा भुटानको चाम्लिमिथाङ रगंशालामा मंगलबार खेल्दैछ । अवे खेलको पहिलो प्रतिद्वन्द्वी कुवेतविरुद्ध नै नेपालले पहिलो होम खेल्न खेल्न लागेको हो । खेल थिम्पुस्थित चाम्लिमिथाङ रगंशालामा दिउँसो सवा ३ बजे सुरु हुनेछ ।

पहिलो अवे खेलमा नेपाल कुवेतसँग ७–० ले स्तब्ध भएको थियो । यस खेलमा भने नेपालले पुनरागमन गर्ने विश्वास लिएको छ । भुटानको कन्डिसन नेपाल सुहाउँदो र कुवेत नसुहाउँदो भएकाले पनि नेपाललाई त्यसको फाइदा पुग्नेछ । 

चाम्लिमिथाङ रगंशाला समुद्र सतहबाट २५ सय मिटरमाथि छ । त्यो उचाइमा नेपाली खेलाडीहरूले नियमित खेलिरहेका छन् तर कुवेतको उचाइ समुद्र सतहबाट १ सय ८ मिटर मात्रै छ । एक्कासि समुद्र सतह २५ सय मिटर मात्रै हो । त्यसैले उचाइमा खेल्नु कुवेती खेलाडीहरूलाई चुनौती हुने र नेपालले त्यसको फाइदा लिनसक्ने प्रशिक्षक योहान कालिनको रणनीति छ । 

उनी भन्छन्, ‘हामी घरमै(दशरथ रंगशाला)मा खेल्न चाहान्थ्यौं । तर, त्यो सम्भव भएन । भुटानको वातावरण पनि हामीसँग मिल्दो छ । त्यसले अवश्य फाइदा पुग्नेछ । तर, कुवेत बलियो टोली हो । प्रतियोगितामा हामीले राम्रो खेल्ने लक्ष्य लिएका छौं । राम्रो खेल पस्कदा नतिजा पनि राम्रै निस्कने आशा छ ।’

नेपाली टिम शनिबार साँझ नै कुवेत पुगिसकेको छ । टोलीले आइतबार र सोमबार अभ्यासपश्चात मंगलबार कुवेतविरुद्ध खेल्न लागेको हो । कप्तान किरण चेञ्जोङ आफूहरू तयार रहेको र कुवेतलाई कडा चुनौती दिने बताउँछन् । ‘भुटानमा यसअघि पनि हामीले थुप्रैपटक खेलिसक्यौं । यहाँको कन्डिसनमा हामी राम्रो घुलमिल छौं,’ उनले खेलअघि भने, ‘मौसमको साथ र खेलाडीको मनोबलले हामी बलियो कुवेतलाई राम्रो चुनौती दिनेछौं ।’

फिफा वरीयतामा कुवेत(१५६) नेपाल(१६७)भन्दा ११ स्थानमाथि छ । कुवेतले १९८२ मै विश्वकप खेलिसकेको हो । त्यसबाहेक १९७६ मा एसियन कपको फाइनलमा पुगेको कुवेतले १९८० मा उपाधि नै उचालेको थियो । अंकतालिकाको दोस्रो स्थानमा रहेको कुवेतले विश्वकप र एसियन कपमा छनोट हुने सपना देखिरहेको छ । 

कुवेतका प्रशिक्षक थोमेर इनदले पनि नेपालविरुद्ध ३ अंक जोड्ने लक्ष्य रहेको बताए । ‘हामी राम्रो फुटबल खेलेर नेपालसँग ३ अंक खोस्नेमा आशावादी छौं,’ उनले भने, ‘तर, हामी नेपाललाई हल्का रुपमा लिने छैनौं । नेपाल कमजोर टोली पनि हैन र कन्डिसनले पनि नेपालको साथ दिएको छ ।’

नेपाललाई छनोटको सम्भावना जीवित राख्न कुवेतविरुद्ध जित्नैपर्ने दबाब छ । समूह बीमा ३ अंक रहेको नेपाल ३ अंकसहित चौथो स्थानमा छ । एक टोलीमात्रै अर्को चरणमा प्रवेश गर्ने भएकाले कुवेतविरुद्ध जित हात पारेमात्रै नेपालको तेस्रो चरणको सम्भावना रहन्छ ।

नेपालले कुवेतलाई सिनियर लेभलमा कहिल्यै हराउन सकेको छैन । नेपाल र कुवेत अहिलेसम्म ७ पटक आमनेसामने हुँदा ६ पटक कुवेतले जितेको छ भने १ खेल बराबरीमा सकिएको छ ।

१९८२ को एसियन गेम्समा नेपाल र कुवेत पहिलोपटक भिडेका थिए । नयाँ दिल्लीमा भएको उक्त खेलमा नेपाल ३–१ ले पराजित भएको थियो । त्यसबेला वाइबी घलेले नेपालका तर्फबाट गरेको उक्त गोल नै कुवेती पोस्टमा नेपालले गर्न सकेको हालसम्मै एक मात्रै गोल हो । त्यसबाहेक ७ खेलमा नेपालले २९ गोल खाएको छ ।

शनिबार बिदाइ अघि एन्फाले मुख्य चारजना खेलाडीहरूलाई अनुशासनहीन काम गरेको भन्दै टोलीबाट हटाएको थियो । त्यसको प्रभाव पनि टोलीलाई पर्ने देखिन्छ । कारबाहीमा परेका अन्जले यस प्रतियोगितामा चाइनिज ताइपेईविरुद्ध नेपालले एक मात्रै जित निकाल्दै दुवै गोल गरेका थिए । यस्तै अर्का कारबाहीमा परेका विमल नेपालको पहिलो रोजाईका फरवार्ड हुन् । उनीहरूबिनै नेपाली टोली भुटान पुगेको छ ।


Views: 123