30th September | 2020 | Wednesday | 5:22:10 AM

मच्छिन्द्र क्लब शीर्ष स्थानमा, सरस्वती रेलिगेसनमा

हिमालय टाइम्स   POSTED ON : माघ २८, २०७६ (१०:३९ AM)

मच्छिन्द्र क्लब शीर्ष स्थानमा, सरस्वती रेलिगेसनमा

काठमाडौं । मच्छिन्द्र क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । सोमबार भएको खेमला संकटा क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र क्लब अंक तालिकाको शीर्ष स्थानमा उक्लेको हो ।

एन्फा कम्प्लेक्समा भएको खेलमा मच्छिन्द्र क्लबलाई जिताउन देवेन्द्र तामाङ, विशाल राई ‘बी’ र दीपक राईले एक–एक गोल गरे । मच्छिन्द्र उपाधिको दाबेदारसमेत मानिएको छ ।

खेलको ४४औं मिनेटमा देवेन्द्र तामाङको गोलबाट मच्छिन्द्रले अग्रता लिएको थियो । ६४औं मिनेटमा विशाल राई ‘बी’ ले गोल गर्दै मच्छिन्द्रको अग्रता दोब्बर पारे । ८२औं मिनेटमा दीपकले गोल गर्दै मच्छिन्द्रको जित सुनिश्चित गरेका थिए । संकटाका लागि ८९औं मिनेटमा इटिजिनी ओलोउमोले सान्त्वना गोल गरे ।

जितसँगै मच्छिन्द्र १२ खेलमा २८ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको छ भने ११ खेल खेलेको आर्मी २६ अंकसहित दोस्रो स्थानमा छ । पराजित संकटा १५ अंकसहित तालिकाको सातौं स्थानमा छ ।

यसैबीच, सरस्वती युथ क्लब भने रेलिगेसनमा परेको छ । लिगअन्तर्गत १२औं चरणको खेलमा सोमबार च्यासलसँग पराजित भएपछि सरस्वती ‘बी’ डिभिजनमा घटुवा भएको हो । ‘ए’ डिभिजन रहनका लागि च्यासलसँग जित्नैपर्ने बाध्यता रहेको अवस्थामा सरस्वती पराजित भयो ।

च्यासलको जितमा जापानी खेलाडी ताइगा नाकामुरा र हायातो वाकिनोले एक–एक गोल गरे । सरस्वतीका काजिम बुसारीले एक गोल फर्काएका थिए ।

नकामुराले १८औं मिनेटमा गोल गर्दै च्यासललाई अग्रता दिलाए । ६६औं मिनेटमा वाकिनोले गोल गर्दै च्यासलको अग्रता दोब्बर बनाए । सरस्वतीले दोस्रो हाफको इञ्जुरी समयमा सान्त्वना गोल फर्काएको थियो ।

हारसँगै सरस्वती एक खेलअगावै रेलिगेसनमा परेको छ । अन्तिममा रहेको सरस्वतीले १२ खेलबाट चार अंकमात्र बनाएको छ । १५ अंक बनाएको च्यासल नवौं स्थानमा छ ।


Views: 113