15th July | 2020 | Wednesday | 2:11:56 PM

पेश्की नरहेको विवरण अद्यावधिक भएसँगै सागको पुरस्कार

हिमालय टाइम्स   POSTED ON : चैत्र ७, २०७६ (१२:४० PM)

पेश्की नरहेको विवरण अद्यावधिक भएसँगै सागको पुरस्कार

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले गत मंसिरमा भएको दक्षिण एसियाली खेलकुद(साग)को पदकधारी तथा प्रशिक्षकहरूले पाउने पुरस्कार राशि राष्ट्रिय खेलकुद परिषद्मा सम्बन्धितले लिएको पेश्की विवरण अद्यावधिक भएसँगै बाड्ने तयारी गरेको छ ।

गत मंसिर २५ गते प्रधानमन्त्री केपीशर्मा ओलीले खेलाडीलाई सम्बोधन गर्दै पुरस्कार घोषणा गरेका थिए । यस सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कांस्य पदक जितेको थियो । साग सकिएको अर्को दिन सम्पूर्ण पदक विजेतालाई प्रधानमन्त्रीले सम्मानका लागि बालुवाटार बोलाउँदै नगद पुरस्कार घोषणा गरेका थिए ।

प्रधानमन्त्रीले व्यक्तिगत विधातर्फ स्वर्णपदक विजेतालाई जनही नौ लाख, रजत विजेतालाई जनही ६ लाख र कांस्य विजेतालाई जनही तीन लाख दिने घोषणा गरेका थिए । त्यस्तै, एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीले जनही ११ लाख पाउने घोषणा भएको थियो । 

तर, घोषणा भएको लामो समयसम्म पनि पुरस्कार नपाएपछि खेलाडीहरू निराश बनेका बेला खेलकुद मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै पेश्की फछ्र्यौट अद्यावधिक भएसँगै पुरस्कार दिइने जनाएको हो ।

‘खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि २०७२ मा पहिलो संशोधन २०७६ फागुन १२ गते मन्त्रिपरिषद्को निर्णयबाट सामयिक बनाइ सकिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कार्यविधिको दफा ५ मा रहेको प्रावधानबमोजिम सम्मान र पुरस्कार पाउने खेलाडी, प्रशिक्षक सहायक प्रशिक्षक तथा आबद्ध खेल संघले कुनै बेरुजु बाँकी नरहेको भन्ने स्वघोषणा गर्नुपर्ने बाध्यात्मक अवस्था गरेकाले सबैलाई त्यसै गर्न अनुरोध गरिएको छ ।’ 

संशोधित नियमावली अनुरूप उपलब्ध गराउन खोजिएको रकम फागुन २० गतेको निर्णयानुसार अर्थमन्त्रालयले खेलकुद मन्त्रालयलाई उपलब्ध गराइसकेको छ । सागमा सहभागी पदकधारी ४३४ खेलाडी, ११० प्रशिक्षक तथा विभिन्न २५ खेल संघलाई सम्बन्धितहरूको बैंक खातामा हाल्ने र बैंक खाताको अद्यावधिक कार्य राखेपले गरिरहेको मन्त्रालयले जनाएको छ । 

पुरस्कार तथा सम्मानका लागि मन्त्रालयसमक्ष सिफारिस गर्न गठित खेलकुद तथा पुरस्कार समितिको चैत्र ५ गते बसेको बैठकले पनि बेरुजु बाँकीको काम सक्नेबित्तिकै रकम उपलब्ध गराउने निर्णय भएको थियो । साथै, मन्त्रालयले आफ्नो विवरण अद्यावधिक गर्न र पेश्की बाँकी रहेको भए राखेपमा यथाशिघ्र सम्पर्क गरी अद्यावधिक गर्न अनुरोध गरेको छ ।

Views: 164