15th July | 2020 | Wednesday | 3:10:04 PM

सचेतना अभियानमा खेलाडीहरू

हिमालय टाइम्स   POSTED ON : चैत्र १०, २०७६ (१०:३९ AM)

सचेतना अभियानमा खेलाडीहरू

काठमाडौं । विश्वभर फैलिएको कोराना भाइरस (कोभिड १९) को सचेतनामा नेपालीहरू समेत अघि सरेका छन् । खेलाडीहरूले आफ्नो सामाजिक सञ्जालमार्फत यस संक्रमणविरुद्ध सचेतना फैलाएका हुन् । कोरोका भाइरसका कारण नेपालसहित विश्वमा खेलकुदका गतिविधि बन्द भएका बेला खेलाडीहरूले सामाजिक सञ्जालबाट भिडियो सन्देश जारी गर्दै सुरक्षित रहन आग्रह गरेका छन् । आइतबार सामाजिक सञ्जालमा राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का भिडियो सन्देश राख्दै भनेका छन् ,‘अहिले सहज समय होइन । यो परिस्थितिमा सबै जना घरमा बसेर, अत्यावश्यक बाहेक घरबाहिर नगइकन, सरकार र सम्बन्धित निकायलाई सहयोग गर्न हार्दिक अनुरोध गर्दछु ।’

सबैले आ आफ्नो ठाउँबाट जिम्मेवारी लिने हो भने आगामी दिनमा यो परिस्थितिबाट अगाडि बढ्न सजिलो हुने उनले उल्लेख गरेका छन् । यस्तै राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले समेत भिडियो सन्देश जारी गर्दै यो समय कोरोना भाइरसविरुद्ध गोल गर्ने समय भएकाले सबै मिलेर अघि बढ्न आग्रह गर्नु भएको छ ।

उहाँले भन्नु भयो, ‘कोराना भाइरसको महामारीले विश्वमा आइपरेको समस्याले एकपटक सबैलाई सोच्न बाध्य बनाएको छ । यसले विश्वमा सयौं मानिसहरूको मृत्यु भइसकेको छ । नेपाल पनि उच्च जोखिममा रहेको विषयलाई मध्यनजर गर्दै सावधानी अपनाउनका लागि सरकारले आग्रह गरेको छ । हामी सबैले सरकारको निर्णयको पालना गरौं । आधिकारिक निकायको सुचनामा मात्र विश्वास गरौं । अनावश्यक हल्लाको पछाडि लागेर आतंकित नबनौं । सबैले आफ्नो र परिवारको ख्याल गरौं । पटकपटक हात धोऔं ।’ ओलम्पियन दीपक विष्ट, राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङले पनि सामाजिक सञ्जालमार्फत सबैलाई सुरक्षित रहन आग्रह गरेका छन् ।


Views: 183