12th July | 2020 | Sunday | 11:47:57 PM

रोनाल्डोको गोलसँगै युभेन्ट्सको जित

एजेन्सी   POSTED ON : असार १०, २०७७ (१२:१८ PM)

रोनाल्डोको गोलसँगै युभेन्ट्सको जित

टुरिन । क्रिस्टियानो रोनाल्डोले गोलसँगै इटालियन सिरि ए फुटबलमा शीर्ष स्थानको युभेन्ट्सले अंक तालिकाको मध्यमा रहेको बोलोग्नालाई पराजित गरेको छ । साविक विजेता युभेन्टसले सोमबार रातिको खेलमा बोलोग्नालाई २–० गोलअन्तरले पराजित गरेको हो । युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो र पाउलो डिबालाले गोल गरेका थिए ।

जितसँगै आठ पटक सिरि एको उपाधि जितेको युभेन्ट्सले दोस्रो स्थानको लाजियो भन्दा चार अंकको दूरी कायम राखेको छ । हाल युभेन्ट्सको २७ खेलमा ६६ अंक छ भने लाजियो एक खेल कम खेल्दै ६२ अंकसहित पछ्याइरहेको छ । बोलोग्ना २६ खेलमा ३४ अंकसहित १० औं स्थानमा छ । लाजियोले भने बुधबार एटलान्टासँग खेल्दैछ । उक्त खेलमा जित हात पार्नसके एटलान्टाले युभेन्ट्ससँगको दूरी १ अंकमा झार्नेछ ।

बोलोग्नाको घरेलु मैदानमा युभेन्टसका लागि रोनाल्डोले २२ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाए । स्टेफानो देन्स्विलले पेनाल्टी क्षेत्रभित्र म्याथिस डी लिग्टमाथि फउल गरेका थिए । रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहयोगमा युभेन्ट्सलाई पेनाल्टी दिए ।

रोनाल्डोले पोस्टको मध्यभागमा गरेको प्रहारलाई विपक्षी गोलरक्षकले ठम्याउन सकेनन् । यस सिजनमा स्टार फरवार्ड रोनाल्डोको २२ गोल गरिसकेका छन । जुन अघिल्लो सिजनभन्दा एक बढी हो । लिगमा अझै ११ खेल खेल्ने बाँकी छ । रोनाल्डोको यो लगातार सातौं अवे खेलमा गरेको गोल पनि हो ।

खेलको ३६ औं मिनेटमा पाउलो डिबालाले उत्कृष्ट गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाएका थिए । उनले फेडेरिको बर्नाडेस्कीको पासमा पेनाल्टी क्षेत्र बाहिरबाट सुन्दर गोल गरे । लगत्तै रोनाल्डोको क्रसममा डिबालाले गरेको प्रहार आकासिएको थियो ।

खेलको अन्तिम मिनेटमा रोनाल्डोले गोल गरेपनि रेफ्रीले त्यसलाई अफसाइड दिए । डग्लस कोस्टाले दिएको क्रसमा रोनाल्डोको प्रहार गोलमा परिणत भए पनि कोस्टा त्यसअघि नै अफसाइड रहेका थिए । खेलको इन्ज्युरी समयमा युभेन्टसका डिफेन्डर ड्यानीलो दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिएका थिए ।

त्यसअघि दोस्रो हाफको सुरुवातमै रोनाल्डोले वन भर्सेस वनको स्थितिमा चुके । उनले गरेको प्रहार बाहिरियो । ५३ औं मिनेटमा फेडेरिको बर्नाडेस्कीको प्रहार पोस्टमा लागेर फर्कंदा युभेन्टसले अग्रता बढाउन सकेन । ७१ औं मिनेटमा फेडेरिकोले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहार आकासियो ।

७३ औं मिनेटमा रोनाल्डोले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोस्टभन्दा थोरै टाढाबाट बाहिरियो । ८१ औं मिनेटमा बोलोग्नाका रिकार्डो ओर्सोलिनीको प्रहारले पोस्टको दिशा लिन नसक्दा खेलमा फर्कने अवसर गुमाएको थियो । खेलमा यूभेन्ट्सका अलेक्स सान्ड्रो घाइते भएका थिए । उनको स्वास्थ्यको बारेमा थप रिपोर्ट आउन सकेको छैन ।

कोरोना भाइरसको महामारीका कारण रोकिएको खेल पुनः सुरु हुँदा युभेन्ट्सले दुई खेलमा गोल गर्न सकेको थिएन । यसअघि कोप्पा इटालियाको सेमिफाइनलमा एसि मिलान र फाइनलमा नेपोलीसँग गोलरहित बराबरी खेलेको थियो ।

मिलानको जित

यस्तै, लिगअन्तर्गत सोमबार राति नै भएको अर्को खेलमा एसी मिलानले लेच्चेलाई ४–१ ले पराजित गरेको छ । २६ औं मिनेटमा सामु कास्टिलेजोको गोलमा मिलानले अग्रता लिएको थियो । लेच्चेले ५४ औं मिनेटमा मारको मान्कोसुले पेनाल्टीमा गोल गर्दै खेल बराबर गरेको थियो । 

तर, त्यसपछि मिलान पूर्ण रूपमा खेलमा हावी भयो । लगत्तै मिलानले दुई मिनेटको अन्तरमा दुई गोल गर्दै खेल आफ्नो पकड बलियो बनायो । उसका चाल्हानोग्लु र जियाकोमो बोनाभेन्चुराले लगालग गोल गरेका थिए । यस्तै खेलको ७२ औं मिनेटमा राफेल लिआओ गोल गर्दै फराकिलो जित दिलाए ।

यस जितसँगै एसी मिलान अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ । मिलानले २७ खेलमा ३९ अंक जोडेको छ । लेच्चे भने २७ खेलमा २५ अंकसहित १८ औं स्थानमा छ ।


Views: 65

सम्बन्धित सामग्री:

घुँडा टेकेर विरोध

एजेन्सी : असार २५, २०७७ (९:४६ AM)