13th July | 2020 | Monday | 1:59:24 AM

बार्सिलोनाको उपाधि यात्रामा धक्का

एजेन्सी   POSTED ON : असार १५, २०७७ (१०:२२ AM)

बार्सिलोनाको उपाधि यात्रामा धक्का

बार्सिलोना । स्पेनिस ला–लिगा फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा बराबरीमा रोकिएसँगै बार्सिलोनाको उपाधि यात्रामा धक्का लागेको छ । सेल्टा भिगोसँग २–२ को बराबरीमा रोकिएसँगै बार्सिलोनाले शीर्ष स्थानमा ३ अंकको अग्रता बनाउने मौका गुमाएको छ ।

१–१ अंक बाँड्नुपरेपछि रियल मड्रिडलाई पछि छाड्दै पुनः शीर्षमा उक्लिए पनि बार्सिलोनाको एक अंकको मात्र अग्रता भएको छ । रियलले बार्सिलोनाभन्दा एक खेल कम खेलेको छ ।

खेलको ८८ मिनेटसम्म २–१ को अग्रता बनाए पनि अन्तिम २ मिनेट बाँकी रहँदा सेल्टा भिगोका इगो आस्पासले बराबरी गोल फर्काएपछि बार्सिलोना निराश बनेको थियो ।

त्यसअघि २० औं मिनेटमा बार्सिलोनालाई सुआरेजले अग्रता दिलाउनुभएको थियो । मेस्सीले झण्डै २२ यार्ड टाढाबाट प्रहार गरेको फ्री–किकमा सुआरेजले हेडरमार्फत गोल गर्नुभएको थियो ।

दोस्रो हाफको सुरुवाती समयमा नै घरेलु टोली सेल्टाले बराबरी गोल फर्कायो । ५० औं मिनेटमा फेडोर स्मोलोभले सेल्टाबाट बराबरी गोल फर्काउनुभएको थियो । योकुस्लुले बार्सिलोनाका जेरार्ड पिकेलाई छलाउँदै दिएको पासमा स्मोलोभले सहजै गोल गर्नुभएको हो ।

६७ औं मिनेटमा बार्सिलोनाले पुनः अग्रता बनायो । यसपटक पनि सुआरेजले मेस्सीको पासमा नै गोल गर्नुभएको थियो । मेस्सीले पेनाल्टी क्षेत्रभित्र दिएको पासलाई सुआरेजले विपक्षी रक्षकहरूलाई छलाउँदै गरेको प्रहार गोलमा परिणत भएको थियो ।

अन्तिम तीन मिनेटसम्म पनि खेल जित्ने बार्सिलोनाको आशालाई सेल्टाका कप्तान इयागो आस्पासले निराशामा परिणत गरिदिनुभयो । उहाँले पेनाल्टी क्षेत्रको ठिक बाहिर प्राप्त फ्रिकिकलाई सिधै गोलमा परिणत गरेपछि खेल २–२ को बराबरीमा टुंग्गिएको थियो ।

तर, थपिएको समयमा सेल्टाका नोलिटोले ६ यार्ड नजिकैबाट गरेको प्रहारलाई बार्सिलोनाका किपरले रोकिदिँदा बार्सिलोना हारबाट जोगियो । त्यसअघि खेलको सुरुवातमै सेल्टाका ब्राइस मेन्डेजको पासमा इआगो आस्पासको प्रहार गोलरक्षक मार्क आन्दर टेर स्टेगनलाई लाग्दै पोस्टमा लागेर फर्केको थियो ।

यस बराबरीसँगै बार्सिलोनाको ३२ खेलबाट ६९ अंक हासिल भएको छ । दोस्रो स्थानको रियल म्याड्रिडको ३१ खेलमा ६८ अंक छ । रियल म्याड्रिडले आइतबार हुने खेलमा एस्पान्योलको सामना गर्नेछ । एस्पान्योललाई पराजित गरेमा रियल म्याड्रिडले २ अंकको अग्रता लिनेछ । सेल्टा भने ३२ खेलमा ३४ अंक जोड्दै १६ औं स्थानमा यथावत छ ।

बार्सिलोनाका कप्तान मेस्सीले लगातार तीन खेलमा गोल गर्न सक्नुभएको छैन । मेस्सीले यस खेलमा एक गोल गरे त्यो उहाँको करिअरको सात सयौं गोल हुन्थ्यो । तर, ३३ वर्षीय मेस्सी तीन खेलयता गोलविहीन हुँदा ६ सय ९९ गोलमा अड्किनु भएको छ ।

गत जनवरीमा घुँडाका इन्जुरीका कारण मैदानबाहिर रहेपछि अघिल्लो हप्ता मात्रै मैदान फर्किएका सुआरेजले यस खेलमा उत्कृष्ट प्रदर्शन गर्नुभयो । दुई गोल गर्नुभएका सुआरेजले उपाधि जित्नका लागि बाँकी खेलहरूमा बार्सिलोनाले जित हात पार्नेपर्ने बताउनुभयो ।

‘यो खेल सोचेजति राम्रो भएन । यदि हामी उपाधिका लागि खेलिरहेका छौं र उपाधि चाहन्छौं भने बाँकी सबै खेल हामीले जित्नुपर्ने हुन्छ,’ सुआरेजले खेलपछि भन्नुभयो, ‘हाम्रो भाग्य हाम्रो हातमा छ तर साथसाथै मड्रिडले पनि अंक गुमाउने आशा हाम्रो रहनेछ । दुई अंक गुमाउँदा हामी निराश छौं ।’


Views: 53

सम्बन्धित सामग्री:

घुँडा टेकेर विरोध

एजेन्सी : असार २५, २०७७ (९:४६ AM)