10th August | 2020 | Monday | 4:57:18 PM

एक वर्ष सर्यो साफ

हिमालय टाइम्स   POSTED ON : असार १७, २०७७ (११:२८ AM)

एक वर्ष सर्यो साफ

काठमाडौं । कोभिड–१९ का कारण विभिन्न क्षेत्र प्रभावित हुने क्रममा नेपाली राष्ट्रिय फुटबल टोलीले खेल्ने क्षेत्रीयस्तरको ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियसिप पनि सरेको छ । कोरोना महामारीका कारण यसै वर्ष सेप्टेम्बरमा बंगलादेशमा हुने तय भएको साफ च्याम्पियन्ससिप अब सन् २०२१ मा हुने भएको हो ।

दक्षिण एसियाली फुटबल संघ(साफ)को सोमबार सम्पन्न भर्चुअल मिटिङमार्फत उक्त निर्णय लिइएको हो । उक्त बैठकमा साफका सात सदस्य राष्ट्र नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटानका फुटबल संघका महासचिवहरू सहभागी थिए ।

बैठकपछि साफमा महासचिव अनउरुल हक हेलालले अहिलेको अवस्थालाई मध्यनजर राख्दै साफ च्याम्पियनसिप अर्कोवर्ष सार्ने निर्णय भएको जानकारी दिनुभयो । ‘कोरोना भाइरसको महामारीका कारण साफ च्याम्पियनसिप एक वर्ष सारिने निर्णय भएको हो । स्थान र मिति पछि टुंग्गाइनेछ,’ मिटिङपछि हेलालले भन्नुभयो ।

मिटिङमा आयोजक बंगलादेश फुटबल फेडेरेसनका महासचिव अबु नयम सोहगले कोरोनाभाइरसको महामारीका कारण आगामी सेप्टेम्बरमा च्याम्पियनसिप आयोजना गर्न नसक्ने जनाउनुभएको थियो । उहाँले बैठकमा अन्य सदस्य राष्ट्रको विचार माग्नुभएको थियो । उहाँको प्रस्तावमा सबै देश सहमत भएका हुन् । केही सदस्य राष्ट्रले अक्टोबर र नोभेम्बरमा फिफा विश्वकप छनोटका खेल खेल्ने भएकाले पनि सेप्टेम्बरमा साफ आयोजना गर्न सम्भव नभएको हेलालले बताउनुभयो ।

‘नयाँ मिति तय गर्नुअघि सदस्य राष्ट्र र प्रायोजकहरूसँग छलफल गरिनेछ । हरेक सदस्यले अर्को मिति तय हुनुअघि छलफल होस् भन्ने चाहेका छन्,’ साफ महासचिव हेलालले थप्नुभयो ।

उहाँले भारतले अर्को अप्रिलदेखि सेप्टेम्बरबीच प्रतियोगिता आयोजना गर्न सक्नेबारे पनि प्रारम्भिक छलफल भएको बताए । त्यसपछि भारतको घरेलु लिग नोभेम्बरबाट सुरु गर्ने तयारी छ ।

यस्तै, बैठकले उमेर समूहका प्रतियोगिताहरू अर्को बैठक नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ । साफ महिला र पुरुष यू १५ र साफ यू १८ महिला च्याम्पियनसिपका बारेमा अर्को बैठकमा निर्णय गर्ने सहमति भएको बैठकमा सहभागी अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव इन्द्रमान तुलाधरले जानकारी दिनुभयो । ‘अहिले उमेर समूहका प्रतियोगिताहरू पनि स्थगित गर्ने निर्णय भएको छ । अर्को बैठक सेप्टेम्बरमा हुनेछ । त्यसपछि अवस्था हेरेर निर्णय लिइनेछ । यदि अवस्थाले साथ दिएमा डिसेम्बरमा उमेर समूहका प्रतियोगिता हुनसक्ने छ,’ उहाँले भन्नुभयो ।

नेपाली राष्ट्रिय फुटबल टोलीले खेल्ने महत्वपूर्ण ठूलो प्रतियोगितामध्येको साफ च्याम्पियनसिप एक हो । हालसम्म नेपालले भने प्रतियोगिताको उपाधि उचाल्न सकेको छैन । हरेक दुई दुई वर्षमा हुने प्रतियोगिता २०१८ मा बंगलादेशमै भएको थियो । उक्त संस्करणमा नेपाललाई उपाधि दाबेदार पनि मानिएको थियो । सेमिफाइनलमा माल्दिभ्ससँग पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरियो । उक्त संस्करणको उपाधि माल्दिभ्सले नै जितेको थियो ।

दक्षिण एसिया क्षेत्रमा फुटबल विकासको लक्ष्यका साथ सन् १९९३ मा सार्क गोल्डकपमा यो प्रतियोगिता सुरु भएको थियो । यसबीच २००१ मा बंगलादेश फुटबल संघलाई फिफाले निलम्बन गरेपछि पहिलोपटक सरेको थियो । २००५ मा अफगानिस्तानले पनि साफको सदस्यता लिएको भए पनि २०१५ मा सदस्यता त्याग्दै ऊ मध्य एसियाली संघमा आबद्ध भएको थियो ।


Views: 120

सम्बन्धित सामग्री: