10th August | 2020 | Monday | 4:52:55 PM

रोनाल्डोको गोलसँगै युभेन्ट्सको जित

एजेन्सी   POSTED ON : असार १८, २०७७ (९:३६ AM)

रोनाल्डोको गोलसँगै युभेन्ट्सको जित

टुरिन । क्रिस्टियानो रोनाल्डोले गोल गरेको खेलमा युभेन्ट्सले जित हात पारेको छ । इटालियन सिरी ‘ए’अन्तर्गत शीर्षस्थानको युभेन्टसले मंगलबार रातिको खेलमा जेनोआलाई ३–१ को अन्तरले पराजित गरेको हो । जितसँगै युभेन्ट्सले शीर्ष स्थानमा चार अंकको अग्रता कायम राखेको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको सुरुवातमै पाउलो डिबालाले युभेन्ट्सलाई अग्रता दिलाउनुभएको थियो । ५० औं मिनेटमा जुआन क्वाडराडोको पासलाई पेनाल्टी क्षेत्रभित्र लग्दै डिबालाले राम्रो फिनिस गर्नुभएको थियो ।

त्यसको ६ मिनेटमै रोनाल्डोले युभेन्ट्सका लागि गोल थप्नुभयो । २५ यार्ड टाढाबाट मिरालेम प्यानिचको पास रोनाल्डोले गर्नुभएको प्रहार गोलमा परिणत भएको थियो । यो सिजनमा रोनाल्डोको यो २४ औं गोलसमेत हो । युभेन्ट्सको एउटै सिजनमा सर्वाधिक २५ गोलको कीर्तिमान भंग गर्न अब रोनाल्डो १ गोलले मात्रै पछि हुनुहुन्छ ।

खेलको ७३ औं मिनेटमा डग्लस कोस्टाले युभेन्ट्सका लागि तेस्रो गोल गर्नुभयो । उहाँले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको प्रहार टप कर्नरमा गोल भएको थियो । त्यसको दुई मिनेटमै जेनोआले गोल गर्दै खेलमा फर्कने संकेत देखायो । आन्द्रिए पिनामोन्टीले एन्टोनियो बार्रेकाको पासमा गोल गर्नुभएको थियो ।

यस जितसँगै युभेन्ट्सले लिगको शीर्षस्थानमा ४ अंकको अग्रता कायम राख्न सफल भयो । युभेन्टसको २९ खेलमा ७२ अंक छ । दोस्रो स्थानको लाजियोको २९ खेलमा ६८ अंक छ ।

लाजियोको जित

यता, दोस्रो स्थानमा रहेको लाजियोले टोरिनोलाई उसैको मैदानमा २–१ ले पराजित गर्दै युभेन्टसमाथि दबाब कायम राखेको थियो । लाजियोले पहिलो हाफमा पछाडि परे पनि दोस्रो हाफमा २ गोल फर्काउँदै पुनरागमन गरेको थियो । आन्द्रिए बेलोट्टीले पाँचौँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोरिनोलाई अग्रता दिलाउनुभयो ।

तर, दोस्रो हाफको तेस्रो मिनेटमा नै चिरो इम्मोबिलेले लुइस अल्बर्टोको पासमा र ७२ औं मिनेटमा इम्मोबिलेकै पासमा मार्को पारोलोले गोल गर्दै लाजियोको जित सुनिश्चित गर्नुभयो । जितसँगै लाजियोको २९ खेलबाट ६८ अंक भएको छ ।


Views: 68

सम्बन्धित सामग्री: