10th August | 2020 | Monday | 4:29:17 PM

राखेपमा नयाँ सदस्यसचिव ल्याउने तयारी

हिमालय टाइम्स   POSTED ON : असार २०, २०७७ (१०:१७ AM)

राखेपमा नयाँ सदस्यसचिव ल्याउने तयारी

काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार(विश्वकर्मा)ले नयाँ खेलकुद विकास ऐन लागू भएसँगै नेपाली खेलकुदको सर्वोच्च कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् 

(राखेप)को सदस्यसचिव पनि परिवर्तन हुने बताउनु भएको छ ।

राष्ट्रपतिबाट प्रमाणित भएपछि यसै साताबाट खेलकुद विकास ऐन २०७५ लागु भएको हो । ऐनले वर्तमान पदाधिकारीहरू रहने कि हट्नेस्पष्ट नबोलेपनि नयाँ ऐनअनुसार नै सदस्यसचिवको प्रक्रिया थालिने बताउनु भएको हो ।

‘नयाँ ऐन लागु भएसँगै पुरानो नियुक्तीको कोही पनि नरहेन भन्ने प्रष्ट भएको छ,’ मन्त्री विश्वकर्माले भन्नुभयो, ‘अब सबै नियुक्ति नयाँ ऐनअनुसार नै हुनेछ । अर्को व्यवस्था नभएसम्म ऐनले व्यवस्था गरे अनुसार कार्यवहाक केही दिनभित्र तोक्नेछौं । त्यसपछि सचिव सचिवलगायतको नियुक्तीका लागि पनि आवश्यक प्रक्रिया थालिनेछ ।’

ऐनको दफा ५८(१) खेलकुद विकास ऐन २०४८ खारेज गरिएको उल्लेख छ । अहिलेका सदस्यसचिव रमेशकुमार सिलवाल तथा अन्य पदाधिकारी सोही खारेज गरिएको ऐनअनुसार नियुक्त भएका कारण पूराना पदाधिकारीको पद खाली हुने र नयाँ नियुक्तिको प्रक्रिया थालनी मन्त्री विश्वकर्माले बताउनुभएको हो ।

सदस्यसचिव सिलवालले पनि नयाँ कानून लागू भएपछि आफ्नो जिम्मेवारीबारे अन्योलता भएपछि कार्यालय जान छाड्नुभएको छ । उहाँले आफूहरूको जिम्मेवारीबारे चाँडो मन्त्रालयले छिनोफानो गर्नुपर्ने बताउनु भएको छ ।

‘नयाँ ऐनमा सदस्यसचिवसहित पदाधिकारीहरूका बारेमा केही कुरा उल्लेख छैन,’ उहाँले भन्नुभयो, ‘ कानूनमा व्यवस्था भएअनुसारको कार्यान्वयन मन्त्रालयले गराउँछ । मन्त्रालयले मलाई निरन्तरता दिने या अर्को सदस्यसचिव नियक्त गर्ने निर्णय गर्ला ।’

सिलवाल २०७३ असारमा राखेपको सदस्यसचिव नियुक्त हुनुभएको थियो । उहाँकै पालामा नेपालमा १३औं दक्षिण एसियाली खेलकुद

(साग) आयोजना भएको हो ।

मन्त्री विश्वकर्माका अनुसार ऐनअनुसार अब कार्यवहाक सदस्यसचिव नियुक्त गरी राखेपका क्रियाकलाप सञ्चालन गरिनेछ ।

ऐनको दफा १७ को उपदफा १२ मा कुनै कारणले सदस्यसचिवको पद रिक्त भएमा वा कुनै कारणले निलम्बन भएमा अर्को सदस्यसचिव नियुक्ती वा निजको निलम्बन फुकुवा नभएसम्मको लागि मन्त्रालयले संघिय निजामती सेवाको राजपत्रांकित प्रथम श्रेणीको कर्मचारी वा परिषद्को वरिष्ठतम कर्मचारीलाई कार्यवहाक सदस्यसचिवको रुपमा कामकाज गर्नेगरी तोक्न सक्ने व्यवस्था गरिएको छ ।

सो अनुसार खेलकुद मन्त्रालयका प्रसास न शाखाका सह–सचिव एवं प्रवक्ता डा. मान बहादुर विके र खेलकुद महाशाखा सहसचिव भक्तबहादुर ढकाल तथा वरिष्ठतमका आधारमा राखेपमा कार्यरत कमल खनालको नाम चर्चामा छ । 

ऐनले नयाँ सदस्यसचिव नियुक्तिका लागि योग्यतासमेत तोकेको छ । ऐनको दफा १७(१)मा सदस्यसचिवको योग्यता तोकिएको छ । राखेपको सदस्य सचिवका लागि नेपाली नागरिक हुनुका साथै कम्तीमा स्नातक उत्तीर्ण, खेलकुद क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव, प्रचलित कानुनले अयोग्य नभएको र ३० वर्ष उमेर पूरा भएको हुनुपर्नेछ ।

उक्त योग्यता पुगेकामध्येबाट सदस्यसचिवको पदमा नियुक्तिको लागि सिफारिस गर्न मन्त्रालयको सचिवको संयोजकत्वमा मन्त्रालयले तोकेको सम्वन्धित क्षेत्रका एक जना महिलासहित २ जना विज्ञ रहेको ३ सदस्यीय सिफारिस समिति गठन गर्ने व्यवस्था गरिएको छ ।

सिफारिस समितिले योग्यता पूरा भएका व्यक्तिबाट सदस्यसचिव नियुक्तिको लागि १ जना महिलासहित ३ जना उपयुक्त व्यक्तिको नाम मन्त्रालयमा सिफरिस गर्नेछ । ती व्यक्तिमध्ये नेपाल सरकार, मन्त्रीपरिषद्ले उपयुक्त ठानेको व्यक्तीलाइ सदस्यसचिवमा नियुक्त गर्ने प्रावधान ऐनमा समेटिएको छ । 


Views: 101

सम्बन्धित सामग्री: