10th August | 2020 | Monday | 5:13:21 PM

एन्फा कास्कीलाई १५ दिनमा साधारणसभा गर्न निर्देशन

हिमालय टाइम्स   POSTED ON : असार ३०, २०७७ (९:१२ AM)

एन्फा कास्कीलाई १५ दिनमा साधारणसभा गर्न निर्देशन

पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) ले गठन गरेको छानविन समितिले कास्की जिल्ला फुटबल संघलाई १५ दिनभित्र लेखा परीक्षण गराएर साधारणसभा गर्न निर्देशन दिएको छ ।

कास्की जिल्ला संघमाथि लागेको अनियमितताको छानविन गर्न पोखरा पुगेको एन्फा उपाध्यक्ष वीरबहादुर खड्का संयोजकत्वको टोलीले छानविन सकाउँदै उक्त निर्देशन दिएको हो । सोमबार पत्रकार सम्मेलन गर्दै टोलीले ११ दिन लगाएर छानविन गरेको र सो क्रममा थुप्रै अनियमितता भएको बताएको छ ।

‘अनियमितता प्रयाप्त आधारहरू भेट्टाएका छौं । यहाँ घोटाला भएका प्रशस्त प्रमाणहरू छन्,’ खड्काले पत्रकार सम्मेलनमा भन्नुभयो, ‘हामीले संघलाई ३ वटा निर्देशन दिएका छाँै । निर्देशनको पालना भएन भने कारबाही हुन्छ । छानविनको प्रतिवेदन तयार पारेर केन्द्रमा बुझाएका छाँै, बाँकी कारबाही केन्द्र (एन्फा) ले गर्नेछ ।’

एन्फाले जिल्ला संघ कास्कीले गरेको मनकामना कप २०७५को आयव्यय विवरण, जिल्ला लिग, क्विन्स लिग, क्विन्स कप प्रदेश, ग्रास रुट र प्रदेशस्तरीय रेफ्री र कोचको विषयमा छानविन गर्न उक्त छानविन समिति गठन गरेको थियो ।

एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेसँगै प्रदेश सभासद राजीव गुरुङ (दीपक मनाङ्गे)ले पनि एन्फामा व्यापक अनियमितता भएको आरोप लगाएका थिए । छानविन समितिले तत्काल कार्यालय खोल्न, मनकानमा केबलकार पोखरा कपको आयव्यय सार्वजानिक गर्न र तिर्नुपर्ने रकम तत्काल तिर्न एन्फा कास्कीलाई निर्देशन दिएको छ ।

छानविन समितिका सदस्य तथा लेखापरीक्षक विष्णुप्रसाद पराजुलीले संस्था विधिवत रूपमा चलेको नदेखिएको बताए । संस्थाले अधिवेशन तथा दर्ता नवीकरणसमेत नगरेको बताए ।

‘संस्था विधिवत रूपमा चलेको देखिएन । केही बिल भरपाईमा प्रक्रिया पु¥याएको देखिएन’, पराजुलीले भने, ‘२० हजार माथिको बिल भ्याटमा जानपर्ने तर केही बिल त्यस्तो देखिएन । संस्थाले सुधार गर्नुपर्ने र कमीकमजोरीहरू हामीले प्रतिवेदनमा उल्लेख गरेका छौँ ।’

छानबिनको मुख्य विषय २०७५ सालमा भएको मनकामना केबलकार पोखरा कपमा भएको आयव्ययको विवरण पारदर्शी नभएको थियो । एन्फा कास्कीले भने २ वर्षसम्म पनि आयव्यय सार्वजनिक नगरेको तथा तिर्नुपर्ने रकम पनि नतिरेपछि छानविन समितिले तिर्नुपर्ने रकम तिर्न महेद्र गुरुङको संयोजकत्वमा समिति गठन गरी काम गर्न निर्देशन दिइएको खड्काले जनाए ।

छानविन समितीको प्रतिवेदनअनुसार मनकामना पोखरा कप गर्दा २९ लाख १७ हजार २ सय ९० रुपैयाँ घाटा भएको छ भने प्रतियोगिता सञ्चालन गर्दा ९२ लाख ९८ हजार १ सय ६५ रुपैयाँ खर्च भएको छ । प्रतियोगिताबाट ६३ लाख ८ सय ७४ रुपैयाँ आम्दानी भए पनि विभिन्न ३७ व्यवसायीहरूलाई २४ लाख ९ हजार ९ सय १४ रुपैयाँ तिर्न बाँकी रहेको छानविन समितिका संयोजक खड्काले जानकारी दिए ।


Views: 90

सम्बन्धित सामग्री: