13th August | 2020 | Thursday | 8:38:01 AM

राखेपका ५६ कर्मचारीद्वारा राजीनामा

हिमालय टाइम्स   POSTED ON : असार ३१, २०७७ (९:१७ AM)

राखेपका ५६ कर्मचारीद्वारा राजीनामा

काठमाडौं । विभिन्न खेल संघमा समेत आबद्ध राष्ट्रिय खेलकुद परिषद्(राखेप)का ५६ जना कर्मचारीले आफू बसेको खेल संघबाट राजीनामा दिनुभएको छ । खेलकुद विकास ऐन २०७७ लागू भएसँगै खेलसंघमा समेत आबद्ध राष्ट्रिय खेलकुद परिषद्(राखेप)का कर्मचारी तथा प्रशिक्षकहरूले दोहोरो पदमध्ये एक पदबाट राजीनामा दिन थाल्नुभएको हो ।

अघिल्लो हप्ताबाट लागू ऐनको दफा २५ मा राखेपमा बहालवाला सदस्यसचिव, कर्मचारी तथा प्रशिक्षक खेल संघको कुनै पदमा रहनु नहुने उल्लेख छ । उक्त व्यवस्थाबमोजिम मंगलबारसम्म ५६ जना कर्मचारी तथा प्रशिक्षकले संघका विभिन्न पदबाट राजीनामा दिनुभएको राखेपले जनाएको छ ।

राखेपअन्तर्गत संघहरूबाट राजीनामा दिनेमा संघ संस्था समन्वय शाखा प्रमुख ज्ञानेन्द्र श्रेष्ठले चार संघबाट राजीनामा दिएका छन् । उनले आफू आवद्ध टेबल टेनिस संघ, नेपाल तड ईलमादो संघ, नेपाल इकवेष्ट्रीन संघ र नेपाल हात्ती खेल संघबाट राजीनामा दिएका हुन् ।

यस्तै विभिन्न चार संघसँग आवद्ध प्रशासकीय अधिकृत ओमनाथ न्यौपानेले पनि राजीनामा बुझाउनुभएको छ । न्यौपानले नेपाल केम्पो खुकुरी मार्शल आर्ट संघ, नेपाल फुटसल संघ, नेपाल जितकुण्डो संघ, जापान गोजुरियो डो मिशन संघ छोड्नुभएको हो ।

खेलकुद विकास विभाग प्रमुख डेमबहादुर बस्नेतले नेपाल सिन्दोकाई कान कराते संघ र नेपाल आर्चरी संघबाट राजीनामा बुझाउनुभएको छ ।

यस्तै, परिषद्का प्रचारप्रसार शाखाका नायब शुब्बा दामोदर अर्यालले नेपाल ट्रायथलन संघ, नेपाल फुटभ्याली संघ र नेपाल क्योकुशियन कराते संघ र प्रशिक्षक हरिबहादुर राउतले शारिरीक सुगठन तथा फिटनेश संघ, प्रशासन विभागका प्रशासकीय अधिकृत भोजानन्द राईले नेपाल आइकिडो संघ, संघ संस्था समन्वय शाखाका टेककुमार राजभण्डारीले नेपाल भलिबल संघ, भलिबलका प्रशिक्षक जगदीश प्रसाद भट्टले नेपाल भलिबल संघ, प्रचार शाखाका बासुदेव निरौलाले नेपाल पौडी संघ तथा प्रशिक्षक शंकर गौतमले अखिल नेपाल टेबल टेनिस संघबाट राजीनामा दिएको राखेपले जनाएको छ ।

यस्तै, जिल्ला खेलकुद विकास समिति ललितपुरमा आबद्ध शंकर गौतमले अखिल नेपाल टेबुल टेनिस संघ, संघसंस्था समन्वयन शाखाका राजेशबहादुर श्रेष्ठले पारा भारत्तोलन संघ, नेपाल आइकिडो संघ, जापान गोजुरियो कराते डो संघ, नेपाल जितकुण्डो मार्शल आर्ट संघबाट राजीनामा दिनुभएको छ ।

राखेपका प्रशासकीय अधिकृत धन शाहीले नेपाल सिन्दोकाई कान कराते संघ, राष्ट्रिय गोब्ररियो कराते डो संघ, नेपाल क्योकुशिन बुदो कराते साकाई, नेपाल थ्रोबल संघबाट, भणर शाखाका रामचन्द्र कार्कीले नेपाल पेनकेक सिलात मार्सल आर्ट संघबाट, प्रशासकीय अधिकृत इन्द्रबहादुर कार्कीले पनि सोही संघबाट, संघसंस्था समन्वयन शाखाका सुजन खतिवडा, राखेपका कराँते प्रशिक्षक दोर्जे लामा, प्रविण राना लगायतले पनि राजीनामा बुझाउनुभएको छ ।

खेलकुद विकास ऐन २०४९ लाई प्रतिस्थापन गर्दै नयाँ ऐन आएपछि राखेपमा आवद्ध सदस्यसचिव तथा पदाधिकारीहरू पनि पदमुक्त भइसकेका छन । सोहीबमोजिम एक वर्षअघि मात्रै नियुक्त हुनुभएका सदस्यसचिव रमेशकुमार सिलवाल तथा उपाध्यक्ष पिताम्बर तिम्सिना पनि पदमुक्त भइसक्नुभएको छ ।

खेलकुद मन्त्रालयले हाल कार्यवहाक सदस्यसचिव नियुक्त गर्दै राखेपका दैनिक क्रियाकलाप सञ्चालन गर्दै आएको छ । मन्त्रालयले ऐनको व्यवस्थाबमोजिम नयाँ सदस्यसचिवको नियुक्तिका लागि आवेदन समेत आहृवान गरिसकेको छ ।

ऐनको दफा १७ उल्लेखित सदस्यसचिव नियुक्तिका लागि आवश्यक प्रक्रिया बमोजिम मन्त्रालयले तीन सदस्यिय सिफारिस समिति गठन गरेको छ । सोही अनुरूपमा मन्त्रालयले सचिव रामप्रसाद थपलीयाको संयोजकत्वमा रिम रानाभाट र इन्दिरा निरौलालाई समावेश गर्दै सदस्यसचिव सिफारिस समित पनि गठन भएको छ ।

उक्त सिफारिस समितिले योग्यता पुरा भएका व्यक्तिबाट सदस्यसचिव नियुक्तिको लागि १ जना महिलासहित ३ जना उपयुक्त व्यक्तिको नाम मन्त्रालयमा सिफरिस गर्नेछ । ती व्यक्तिमध्ये नेपाल सरकार, मन्त्रीपरिषद्ले उपयुक्त ठानेको व्यक्तिलाई सदस्यसचिवमा नियुक्त गर्ने प्रावधान ऐनमा समेटिएको छ । 

ऐनले नयाँ सदस्यसचिव नियुक्तिका लागि योग्यता समेत तोकेको छ । ऐनको दफा १७(१)मा सदस्यसचिवको योग्यता तोकिएको छ । राखेपको सदस्य सचिवका लागि नेपाली नागरिक हुनुका साथै कम्तीमा स्नातक उत्तीर्ण, खेलकुद क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव, प्रचलित कानुनले अयोग्य नभएको र ३० वर्ष उमेर पूरा भएको हुनुपर्नेछ ।


Views: 63