13th August | 2020 | Thursday | 2:47:50 AM

फुटबल खेलाडीको पिसिआर परीक्षण हुने

हिमालय टाइम्स   POSTED ON : श्रावण १२, २०७७ (१:०४ PM)

फुटबल खेलाडीको पिसिआर परीक्षण हुने

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका खेलाडीहरूको पाटन अस्पतालमा कोरोना परीक्षण गरिने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को पहलमा फिफा विश्वकप २०२२ तथा एएफ्सी एसिया कप २०२३ अन्तर्गत संयुक्त छनोट खेल्ने टोलीका खेलाडी, अफिसियलसहित ७० जनाको कोरोना परीक्षण गरिने भएको छ ।

एन्फा प्रवक्ता किरण राईले खेलाडीको पिसिआर विधिबाट कोरोना परीक्षण गर्नेबारे पाटन शिक्षण अस्पतालमा छलफल भएको जानकारी दिनुभयो । फिफाको मापदण्डअनुरूप खेलाडीलाई अभ्यासमा फर्काउनुअघि कोरोना परीक्षण गर्नुपर्ने हुन्छ । परीक्षणका लागि फिफाले यसअघि नै युवा तथा खेलकुद मन्त्रालयमा अनुमति लिइसकेको छ ।

एन्फाले साउन १७ गतेसम्म राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका लागि खेलाडीलाई काठमाडौं आइपुग्न पत्रचार गरिसकेको छ । सोहीअनुरूप खेलाडीहरू राजधानी भित्रने क्रम जारी छ । काठमाडौं फर्किएका खेलाडीलाई १४ दिन क्वारेन्टिनमा राखेर कोरोना परीक्षणपछि अभ्यासमा फर्काउने तयारी एन्फाले गरेको हो ।

फुटबल टोलीले भदौ १ गतेदेखि अभ्यास सुरु गर्ने तयारी गरेको छ । विश्वकप र एसियन कप छनोट खेलका लागि फागुनमा बन्द प्रशिक्षण शुरु गरिएको थियो । तर, कोरोनाको जोखिम बढेपछि प्रशिक्षण स्थगित भएको थियो । विश्वकप छनोटको खेल खेलिसकेको नेपालले अब बाँकी तीन खेल दशरथ रंगशालामा खेल्दैछ ।

नेपालले बाँकी खेल आगामी अक्टोबरमा चाइनिज ताइपेई र अस्ट्रेलिया तथा नोभेम्बरमा जोर्डनसँग खेल्नेछ । छनोट खेल अक्टोबर आठदेखि शुरू हुने तय भएको छ । छनोटको समूह ‘बी’मा रहेको नेपालले सुरुवाती पाँच खेलमा एक जीत र चार हारसहित तीन अंक जोडेको छ । 


Views: 52