15th August | 2020 | Saturday | 7:18:02 AM

सिलवाल नै सदस्यसचिव

हिमालय टाइम्स   POSTED ON : श्रावण १३, २०७७ (९:४५ AM)

सिलवाल नै सदस्यसचिव

काठमाडौं । नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिवमा निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवाल नै दोहोरिनुभएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सिलवाललाई सदस्यसचिवमा नियुक्ति गरेको हो । सिलवाल अबको चार वर्षका लागि सदस्यसचिव रहनुहुनेछ । यस्तै, राखेपको उपाध्यक्षमा शिव कोइराला नियुक्त हुनभएको छ । १३ औं सागमा प्रचारप्रसार समितिका संयोजक समेत रहनुभएका कोइराला नेकपाको खेलकुद विभागसँग आबद्ध हुनुहुन्छ ।

युवा तथा खेलकुद मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गरेको तीन जनामध्ये सिलवाललाई सदस्यसचिव चयन गरिएको हो । खेलकुद विकास ऐन २०७७ मा खुला आवेदनबाट दरखास्त दिएकामध्येबाट मन्त्रालयले गठन गरेको विज्ञ टोलीले तीन जनाको नाम छनोट गर्ने र त्यसलाई मन्त्रिपरिषद्मा पेश गर्ने उल्लेख छ ।

गत असार दोस्रो साताबाट नयाँ ऐन लागू भएसँगै निवर्तमान सदस्यसचिव सिलवाल पदमुक्त हुनुभएको थियो । लगत्तै मन्त्रालयले नयाँ सदस्यसचिवको नियुक्तिको प्रक्रिया सुरु गर्दै आवेदन आह्वान गरेको थियो । जसअनुसार २७ जनाले आवेदन दिएका थिए ।

सदस्यसचिव चयनका लागि मन्त्रालयले गठन गरेको सचिव रामप्रसाद थपलियासहित रिम रानाभाट र इन्दिरा निरौला सम्मिलित समितिले सिलवालसँगै नेकपाका केन्द्रीय सदस्य लिलबहादुर थापामगर र महिला राष्ट्रिय भलिबल टोलीकी कप्तान अञ्जु श्रेष्ठको नाम मन्त्रालयमा सिफारिस गरेको थियो । सोही तीनजनाबाट मन्त्रिपरिषद्ले सिलवाललाई निरन्तरता दिएको हो ।

प्रधानमन्त्री केपीशर्मा ओलीनिकट सिलवाल मुख्यतया शिक्षा व्यवसायी हुनुहुन्छ । उहाँ तत्कालीन एमालेको मदनभण्डारी स्पोर्टस एकेडेमीको उपाध्यक्ष पनि हुनुहुन्थ्यो । अघिल्लो पटक प्रधानमन्त्री ओलीको निर्देशनमा सदस्यसचिव नियुक्त हुनुभएका सिलवाल नयाँ ऐन लागू भएसँगै एकवर्षमै पदमुक्त हुनुभएको थियो ।

सदस्यसचिव नियुक्तिको पाँच महिनामै उनले पटक–पटक गरी ३ पटक सरिसकेको सागलाई भव्यताका साथ सम्पन्न गरिसकेकाले उहाँलाई पुनः प्रधानमन्त्रीकै इच्छामा सदस्यसचिवमा दोहो-याइएको हो ।

खेलकुद विकास ऐन आउँदा सुरुमा आफूलाई ऐनले पदमुक्त नगर्ने भन्दै सार्वजनिक रूपमा बोल्दै आउनुभएका सिलवालले पछि मन्त्रालयले पदमुक्त गर्दा भने त्यसलाई सहर्ष स्वीकार गर्नुभएको थियो ।

मन्त्रालयले सदस्यसचिवका लागि ऐनमा भएको व्यवस्थाअनुरूप कम्तीमा स्नातक उत्तीर्ण, खेलकुद क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव, प्रचलित कानुनले अयोग्य नभएको र ३० वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्ने उल्लेख गरेको थियो ।


Views: 65