15th August | 2020 | Saturday | 6:56:19 AM

युभेन्ट्स लगातार नवौंपल्ट च्याम्पियन

एजेन्सी   POSTED ON : श्रावण १३, २०७७ (९:४७ AM)

युभेन्ट्स लगातार नवौंपल्ट च्याम्पियन

लण्डन । यूभेन्ट्सले लगातार नवौंपल्ट इटालियन सिरि ए फुटबलको उपाधि उचालेको छ । आइतबार राति साम्पोडियालाई २–० गोल अन्तरले हराउँदै युभेन्ट्सले कीर्तिमानी नवौं पटक लिग उपाधि जितेको हो । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र फेडेरिको बर्नार्डेस्कीले एक एक गोल गर्नुभयो । पहिलो हाफको अन्तिम मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अघि बढाउनुभएको थियो । यो यस सिजनमा रोनाल्डोको ३१ औं गोल हो ।

६७ औं मिनेटमा बर्नार्डेस्कीले घरेलु क्लबका लागि दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गर्नुभएको थियो । खेल सकिन एक मिनेटअघि युभेन्ट्सले पेनाल्टीको अवसर पाएको थियो । तर रोनाल्डो पेनाल्टीमा गोल गर्न असफल हुनुभयो ।

युरोपका शीर्ष पाँच प्रतियोगिताहरुमध्ये युभेन्ट्समात्रै लगातार नवौंपल्ट उपाधि जित्ने टिम बनेको छ । युभेन्ट्सलाई लिग उपाधि जित्न तीन अंक आवश्यक थियो । यो जितसँगै उसले त्यो अंक बटुल्यो । कारोना भाइरसको महामारीका कारण रोकिएका लिग पुनः सुरु भएका खेलमा रोनाल्डोले दश गोल गरिसक्नुभएको छ । उहाँले उपाधि उचालेपछि खुशी व्यक्त गर्नुभयोे ।

‘लगातार दुईपल्ट उपाधि जित्न पाउँदा अन्यन्तै खुशी छु । यो उपाधि सबै यूभेन्ट्सका समर्थकहरुलाई समर्पित गर्न चाहान्छु,’ रोनाल्डोले उपाधि उचालेपछि भन्नुभयो, ‘यो यात्रा सहज थिएन । सबै खेलाडीको साहस र समर्पणले सफल भएको हो ।’

 मौरिजियो सर्री नेतृत्वको युभेन्ट्सले दुई खेलअगावै लिग उपाधि आफ्नो पक्षमा पारेको हो । उसले दोस्रो स्थानको ईन्टर मिलानसंग ७ अंकको अग्रता समेत बनाएको छ । च्याम्पियन युभेन्ट्सको ८३ अंक छ । दोस्रो स्थानको ईन्टरको ७६ अंक छ । साम्पोडिया ४१ अंकसहित १५ औं स्थानमा छ ।


Views: 52