13th August | 2020 | Thursday | 2:10:10 AM

सुशासन र पारदर्शिताको प्रतिबद्धता

हिमालय टाइम्स   POSTED ON : श्रावण १५, २०७७ (९:४४ AM)

सुशासन र पारदर्शिताको प्रतिबद्धता

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्(राखेप)का नवनियुक्त सदस्यसचिव रमेशकुमार सिलवालले सुशासन र पारदर्शितालाई आफ्नो चारवर्षे कार्यकालमा प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभएको छ । बुधबार पद तथा गोपनीयताको शपथग्रहण गर्दै उहाँले इमानदारीसाथ काम गर्ने बताउनुभएको हो । 

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राखेप सदस्यसचिवमा सिलवाल र उपाध्यक्षमा शिव कोइरालालाई नियुक्त गरेको थियो । दुवैलाई युवा तथा खेलकुदमन्त्री जगत सुनार विश्वकर्माले सिंहदरबारस्थित मन्त्रालयलमा पद तथा गोपनीयताको शपथग्रहण गराउनुभयो । 

निवर्तमान सदस्यसचिव सिलवाल हालै लागू भएको खेलकुद विकास ऐन–२०७७ लागू भएसँगै एक वर्षमै पदमुक्त हुनुभएको थियो । नयाँ ऐनअनुसार पुनः खुल्ला आह्वानबाट गरिएको सदस्यसचिव पदपूर्तिमा पुनः सिलवाल नै दोहोरिनुभएको हो । ‘मलाई यस भूमिका दिने सरकार तथा मन्त्रिपरिषद्लाई धन्यवाद दिन चाहन्छु,’ सिलवालले शपथग्रहणपछि भन्नुभयो, ‘मलाई दिइएको यस जिम्मेवारीलाई चारवर्षे कार्यकाललाई इमानदारीपूर्वक कर्तव्यनिष्ठ भएर पालना गर्नेछु ।’

सिलवालले यसअघिको एकवर्षे कार्यकालमा धेरै कुरा बुझ्ने मौका पाएको र बाँकी अधुरा काम यस कार्यकालमा पूरा गर्ने बताउनुभयो । ‘एकवर्ष ठूलो समय हैन तर धेरै कुरा बुझ्ने मौका पाएँ,’ उहाँले भन्नुभयो, ‘अब यो चारवर्षमा बाँकी अधुरा कामहरू गर्नेछु । खेलकुदलाई विश्वजगतलाई आकर्षित गर्ने थलोका रूपमा अगाडि बढाउनेछु ।’

उहाँले खेलकुदलाई खेलकुदका रूपमा मात्रै सीमित नगरीकन यसलाई जीवनको अंग बनाउनेतर्फ कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले देशभर खेलकुदको माहोल बनाउनका लागि सरकारी तथा गैरसरकारी संस्थालाई सँगसँगै लैजाने बताउनुभयो । यस्तै, नवनियुक्त उपाध्यक्ष कोइरालाले खेलकुदको भविष्य सुन्दर बनाउन वर्तमानमा परिवर्तन गर्न आफूहरू क्रियाशील हुने बताउनुभयो । उहाँले खेलकुद विकासका लागि सामूहिक रूपमा अघि बढ्ने जनाउनुभयो ।

‘खेलकुद क्षेत्रको भविष्यलाई सुधार गर्न वर्तमानमा राम्रो गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘हामी सामूहिक रूपमा अघि बढ्ने प्रतिबद्धता जनाउँदैछौं । यसका लागि सबैको सहयोग रहने अपेक्षा गरेका छौं ।’ उहाँले देशमा अभिभावकले आफ्नो छोरा खेलाडी बनोस् भन्ने वातावरण बनाउनेमा जोड दिनुभयो । यस्तै, खेलकुद मन्त्री तथा राखेपका अध्यक्ष विश्वकर्माले एकवर्षको अनुभव सम्हालेर पुनः सदस्यसचिवमा फर्कनुभएकोमा सिलवाललाई बधाई दिँदै आफ्नो कार्याकालमा उदारणीय बन्न शुभकामना दिनुभयो ।

उहाँले देशप्रति निष्ठावान भएर लाग्छौं भनेर नवनियुक्त पदाधिकारीहरूले शपथग्रहण गरेकाले सोहीअनुरूप सुशासन, विकास र समृद्धिमा उहाँहरू प्रतिबद्ध हुनेमा विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले नयाँ ऐन कार्यान्वयनमा प्रभावकारी ढंगबाट लाग्नसमेत सुझाव दिनुभयो ।

‘सबैको प्रतिक्षाको विषयमा ऐन जारी भइसकेको र कार्यान्वयनका क्रममा उपाध्यक्ष र सदस्यसचिव नियुक्त भएका हुन् । यसले खेल क्षेत्रमा उत्साह र जागरण ल्याएको छ,’ उहाँले भन्नुभयो, ‘ऐन कार्यान्वयनमा सुरुमा केही असहजता देखिन्छन् । यसलाई प्रभावकारी कार्यान्वयनमा सबैको सकरात्मक भूमिका हुने अपेक्षा गरेका छौं ।’

कारण देखाऊ आदेश

यसैबीच सर्वोच्च अदालतले सिलवाललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिव नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय बदर गर्न माग गरी दायर रिटमा सरकारविरुद्ध कारण देखाऊ आदेश जारी गरेको छ ।

पूर्व–खेलाडी तथा प्रशिक्षक सिन्धुलीका टीकादत्त दाहालले राखेपसमेतलाई विपक्षी बनाउँदै रिट दायर गर्नुभएको थियो । गत साउन ८ गते परेको रिटमा सदस्यसचिव नियुक्तिको एकदिनपछि न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले मंगलबार कारण देखाऊ आदेश जारी गरेको हो । सोमबार मन्त्रिपरिषद्को बैठकले सिलवाललाई सदस्यसचिवमा दो¥याउने निर्णय गरेको थियो ।

सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले निवेदक दाहालले आफू पनि सो पदको लागि योग्य रहेको तर सूचना नपाउँदा आवेदन दिन नपाएको तथा देशभरका मानिसले थाहा नपाउने गरी मन्त्रालयको वेबसाइटमा सात दिने सूचना जारी गरेको भन्दै रिट दायर गरेको जानकारी दिनुभयो ।


Views: 52