15th August | 2020 | Saturday | 8:30:12 AM

सन्दीप आज वेष्टइण्डिज जाँदै

हिमालय टाइम्स   POSTED ON : श्रावण १५, २०७७ (९:४८ AM)

सन्दीप आज वेष्टइण्डिज जाँदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने बिहीबार बिहान क्यारेबियन प्रिमियर लिग (सिपिएल)का ट्रिनिडाड एण्ड टोबागो जान लाग्नुभएको छ । उहाँ बिहान १० बजे कोरियन एयरमार्फत कोरियाको सोल हुँदै अमेरिका पुग्ने र त्यहाँबाट वेष्टइण्डिज जाने उहाँका व्यवस्थापन रमन शिवाकोटीले जानकारी दिनुभयो ।

जाने नजाने अनिश्चितताबीच कोरियन एयरलाइन्सको चार्टर्ड फ्लाइटमार्फत सन्दीप गन्तव्यतर्फ प्रस्थान गर्ने पक्का भएको उहाँले बताउनुभयो । यात्राका लागि मंगलबार कोरोना परीक्षण गराउनुभएका सन्दीपको रिपोर्ट पनि नेगेटिभ आएको छ । सन्दीपले बुधबार प्रस्थान गर्नुअघि पत्रकार सम्मेलनको आयोजना गर्दै आफू प्रतियोगिता खेल्न जान पाउँदा उत्साहित रहेको बताउनुभयो ।

‘कोरोनाका कारण लामो ब्रेक भयो । अब पुनः क्रिकेट फर्कियो म उत्साहित छु,’ उहाँले भन्नुभयो, ‘जतिसक्दो राम्रो गरेर पुनः सम्पूर्ण नेपालीहरूलाई उत्साहित बनाउने प्रयास गर्नेछु ।’ सन्दीपले लकडाउनका बेला पनि आफू लगातार अभ्यासमा रहेकाले प्रतियोगितामा राम्रै प्रदर्शन हुने आशा व्यक्त गर्नुभयो । उहाँले आफ्नो टोलीमा अनुभवी र राम्रो खेलाडी भएकाले प्रतियोगितामा राम्रो प्रदर्शन हुने बताउनुभयो ।

सिपिएलमा सन्दीप यस सिजनमा जमैका तहल्लाबाजबाट खेल्दै हुनुहुन्छ । उहाँ आयोजनास्थल पुगेपछि १४ दिन क्वारेन्टिनमा बस्नुहुनेछ । सिपिएलमा लिग चरणमा हरेक दिन दुई खेल हुनेछ । जमैकाले अगष्ट १९ मा सेन्ट लुसिया जुक्सविरुद्ध खेल्दै लिगको सुरुवात गर्नेछ ।

सिपिएल आगामी भदौ २ गतेदेखि भदौ २५ गतेसम्म चल्नेछ । सिपिएलमा जमैकासँगै बार्बेडोस् ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्नेछन् । सिपिएलमा कुल ३३ खेल हुनेछन् । कारोना भाइरसका कारण ती सबै खेल बिना दर्शक खेलाइनेछन् ।

सन्दीप तेस्रो पटक सिपिएल खेल्ने तयारीमा हुनुहुन्छ । उहाँले यसअघि सन् २०१८ मा पहिलोपटक सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट खल्नुभएको थियो । त्यसका लागि उहाँलाई पाँच हजार अमेरिकी डलर पारिश्रमिक दिइएको थियो । उहाँले सो प्रतियोगितामा पाँच खेलमा सात विकेट लिनुभएको थियो । यस्तै, दोस्रो पटक सिपिएल सन्दीपले सन् २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट खेल्नुभएको थियो । उहाँले ६ खेलमा आठ विकेट लिनुभएको थियो । सन्दीपले गत वर्ष ७० हजार अमेरिकी डलर पारिश्रमिक प्राप्त गर्नुभएको थियो । 


Views: 55