15th August | 2020 | Saturday | 7:51:10 AM

राखेपमा ६ सदस्य मनोनीत

  POSTED ON : श्रावण १६, २०७७ (१०:०३ AM)

राखेपमा ६ सदस्य मनोनीत

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा ६ जना सदस्य मनोनीत हुनुभएको छ । युवा तथा खेलकुद मन्त्रालयले विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने व्यक्तिहरूलाई बिहीबार सदस्यका लागि सिफारिस गरेको हो ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ३ बमोजिम राखेपका अध्यक्षसमेत रहेका खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले इन्दिरा निरौला र रिम रानाभाटलाई सदस्यमा मनोनीत गर्नुभएको छ । दुवैजना यसअघि मन्त्रालयले गठन गरेको सदस्यसचिव सिफारिस समितिका सदस्यसमेत थिए ।

उनीहरूले नै यसपटक खुला आवेदनमार्फत दरखास्त बुझाएका २७ जनामध्ये ३ जनालाई छानेर मन्त्रालयमा नाम बुझाएका थिए । तिनै तीनजनामध्येबाट बुधबार मात्रै रमेशकुमार सिलवाल राखेपको सदस्यसचिवमा दोहोरिनुभएको थियो । सदस्यसचिव नियुक्त भएको दोस्रो दिनमा दफा ३(ठ) बमोजिम राखेप अध्यक्ष खेलकुद मन्त्री विश्वकर्माले खेलकुद विज्ञ, खेलकुद प्रशिक्षक, खेलकुद प्राविधिक वा एन्टी डोपिङ विज्ञमध्येबाट एक महिलासहित दुई सदस्य नियुक्त गर्न पाउने प्रावधानमा टेक्दै निरौला र रानाभाटलाई सदस्यमा मनोनित गर्नुभएको हो ।

यस्तै ३७ सदस्यीय राखेप बोर्डका लागि अध्यक्षले थप चार सदस्य मनोनित गर्न पाउने व्यवस्था बमोजिम सुनारले राष्ट्रिय खेल संघको सिफारिसमा काठमाडौं चपलीका अर्जुनबहादुर केसी, बाग्लुङ बिहु–४ का सम्पन्न श्रेष्ठ र चितवन भरतपुर–१ का सुवास श्रेष्ठ तथा परम्परागत साहसिक तथा पर्यटकीय खेलक्षेत्रको प्रतिनिधित्व हुने गरी गोवन्दप्रसाद भट्टराईलाई सदस्यमा मनोनीत गरेका छन् ।

यसबाहेक राखेप बोर्डमा खेलकुदको विकासमा महŒवपूर्ण योगदान पु¥याउने प्रतिष्ठित व्यक्ति, पूर्व–खेलाडी, सबै प्रदेशबाट प्रतिनिधित्व हुने गरी महिला, दलित, आदिवासी, पिछडिएको क्षेत्रबाट कम्तीमा तीन महिलासहित नौं जना, प्रत्येक प्रदेशको खेलकुद विकाससँग सम्बन्धित प्रदेशस्तरका संस्थागत संरचनाका कार्यकारी प्रमुख, मन्त्रालयको खेलकुद महाशाखा प्रमुख सदस्य हुने प्रावधान छ ।

त्यसबाहेक यसपटक ऐनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको खेलकुद क्षेत्र हेर्ने प्रमुख, विश्वविद्यालय खेलकुद विभाग प्रमुखमध्ये अध्यक्षले मनोनयन गरेका एक जना, शिक्षा मन्त्रालयको सहसचिव, खेलकुद मन्त्रालयको सचिव, उद्योग वाणिज्य महासंघको सिफारिसमा अध्यक्षले मनोनयन गरेका एकजना पनि राखेपको सदस्य हुने व्यवस्था गरेको छ ।

सोमबार मन्त्रिपरिषद्को बैठक शिव कोइरालालाई उपाध्यक्ष र रमेशकुमार सिलवाललाई सदस्य सचिव नियुक्त गरेको थियो । कोइराला र सिलवालले बुधबार पदभार ग्रहण गर्नुभएको थियो । 


Views: 55