15th August | 2020 | Saturday | 7:16:16 AM

क्रिकेट प्रशिक्षण सुरु गर्ने तयारी

हिमालय टाइम्स   POSTED ON : श्रावण १७, २०७७ (७:१३ AM)

क्रिकेट प्रशिक्षण सुरु गर्ने तयारी

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान)ले भदौ पहिलो साताबाट राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण सुरु गर्ने योजना बनाएको छ । प्रशिक्षणका तयारीका लागि क्यानले आन्तरिक छलफल सुरु गरेको छ । गत चैत्र दोस्रो साताबाट सरकारले लकडाउन घोषणा गरेपछि खेलाडीहरू घरमै थुनिएर बसेका थिए ।

केही खेलाडीले व्यक्तिगत रूपमा शारीरिक अभ्यास गरे पनि समूहमा अभ्यास हुन सकेको थिएन । क्यानले पनि कोरोना महामारीका लागि तत्काल प्रशिक्षण सुरु हुने अवस्था नरहेको बताएको थियो । तर, फुटबललगायत अन्य खेलले पनि प्रशिक्षण सुरु गर्न थालेपछि क्यान पनि तातिएको हो ।

नेपाल सरकारले लकडाउन अन्त्य गर्दै भदौ १ बाट अन्तर्राष्ट्रिय खेललाई प्रशिक्षणको अनुमति दिने निर्णय गरेसँगै राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गर्ने तयारी गरेको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिनुभयो । उहाँले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसीसी) र सरकारले बनाएको स्वास्थ्य मापदण्डलाई पालना गर्दै खेलाडीहरूलाई मैदान फर्काउने बताउँनुभयो । प्रशिक्षणअघि क्यानले खेलाडी, अफिसियल तथा त्रिवि क्रिकेट मैदानका स्टाफहरूको कोरोना परीक्षणसमेत गर्ने भएको छ ।

‘क्यानको पहलमा स्वास्थ्य मन्त्रालयले खेलाडीको पीसीआर परिक्षणका लागि सहमत जनाएको छ,’ क्यानका सचिव प्याकुरेलले भन्नुभयो, ‘यही साउनको अन्तिम साता खेलाडीको कोरोना परीक्षण गर्दै उहाँहरूलाई मैदान फर्काउने तयारी भइरहेको छ ।’

यस्तै क्यान पदाधिकारीहरूले त्रिवि मैदानको अवस्थाबारे पनि स्थलगत अवलोकन गरेका छन । क्यानका कोषाध्यक्ष रोशन सिंह, सदस्य छुम्बी लामालगायत बुधबार मैदानको अवलोकन गरेका थिए । बन्द प्रशिक्षणका लागि के के कुराको आवश्यक छ त्यसबारे अवलोकन गरिएको सचिव प्याकुरेलले जानकारी दिनुभयो । पदाधिकारीले मैदानको तयारी तथा पीचको अवस्थाबारेमा जानकारी लिएका थिए ।

यसका साथै क्यानले खेलाडीलाई राख्नका लागि त्रिवि मैदान परिसरमै अस्थायी क्वारेन्टिनको ब्यवस्था गर्नेबारे समेत छलफल गरेको छ । क्यानले आफ्नो कार्यालयसमेत त्रिवि मैदान परिसरमा सार्ने विषयमा समेत छलफल अघि बढाएको छ । मुलपानीमा रहेको मैदान टाढा भएकाले खेलाडी तथा पदाधिकारीका लागि असहज हुने गरेको ठम्याई क्यानको छ ।

त्रिवि मैदानमा रहेको विद्युतको समस्याबारे पनि क्यान पदाधिकारीहरूले नेपाल विद्युत् प्राधिकरणसँग छलफल गरेको छ । कोषाध्यक्ष सिंहसहितको टोलीले बुधबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेट्दै समस्या राखेका थिए । भेटपछि घिसिङ द्रुतमार्गबाट विद्युतको समस्या समाधान गर्न आफ्ना कर्मचारीलाई निर्देशन दिएको क्यान कोषाध्यक्ष सिंहले बताउनुभयो । 

‘हामीले बुधबार घिसिङलाई भेटेर समस्याबारे जानकारी गरायौं । उहाँले तुरुन्त कार्यालय प्रमुखलाई फोन गरेर त्यसबारे बुझ्न भन्नुभयो । त्यसको एक घण्टामा विद्युतका कर्मचारी टियु मैदानमा पुगेका थिए । कर्मचारीले ट्रान्समिटर नै बिग्रिएको जवाफ दिएका थिए’, सिंहले भन्नुभयो ।

यस्तै लकडाउन भएयता अधिकांश खेलाडीहरू अहिले गृह जिल्लामा छन् । उनीहरूलाई काठमाडौं ल्याउन सरकारसँग पहल गर्नेसमेत क्यानले जनाएको छ । तर उनीहरूलाई काठमाडौं आइसकेपछिको रेखदेख तथा स्वास्थ्यको जिम्मा क्यानले टोलीका फिजियो विक्रम न्यौपानेलाई दिएको छ । ‘अहिले अधिकांश खेलाडी काठमाडौं बाहिर छन, उनीहरूलाई बोलाउनेबारे हामी छलफलमा छौँ’, प्याकुरेलले भन्नुभयो, ‘उनीहरूलाई बोलाउने पीसीआर परिक्षण गराउने र भदौको पहिलो साताबाट अभ्यासमा फर्काउनेबारे निरन्तर छलफलमा जुटेका छौँ ।

आइसीसीले विश्वकप लिग दुईका लागि नेपाल, नामिबिया र स्कटल्याण्डबीच हुने हुने त्रिकोणात्मक शृंखलाका लागि नयाँ मिति प्रस्ताव गरेपनि क्यानले तयारी थाल्ने योजना बनाएको हो । आइसीसीले क्यानसहित नामिविया क्रिकेट बोर्ड र स्कटल्याण्ड क्रिकेट बोर्डसँग पत्राचार गरेर नयाँ मिति तोक्ने तयारी गरेको छ ।

यसअघि अप्रिल २० देखि २७ सम्म यो शृंखला नामिबियामा हुने तय थियो । तर, कोरोनाभाइरसको महामारीका कारण शृंखला स्थगित भएको थियो । विश्वकप क्रिकेट लिग २ मा ७ देशबीच प्रतिस्पर्धा भइरहेको छ । लिगमा नेपालले अहिलेसम्म चार खेल खेलेको छ ।

चारमध्ये दुई खेलमा जित हात पारेको नेपाल छैटौं स्थानमा छ । शीर्ष स्थानको ओमानले १० खेलबाट १६ अंक, दोस्रो स्थानको अमेरिकाले १२ खेलबाट १२ अंक, तेस्रो स्थानको स्कटल्यान्डले आठ खेलबाट नौ अंक, चौथो स्थानको नामिबियाले सात खेलबाट आठ अंक र पाँचौ स्थानको युएईले सात खेलबाट सात अंक जोडेका छन् ।


Views: 51